
राज बहादुर सानेको निर्देशित फिल्म ‘सिटामोल’को छायांकन सकिएको छ । काठमाडौंका केही दृश्य र गीतको छायांकन बाँकी राख्दै अरु छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले जानकारी दिए ।
फिल्मको छायांकन २५ दिनसम्म सिन्धुलीमा गरिएको हो । सहज वातावरणमा रमाइलोसँग फिल्मको छायांकन भएको निर्देशक सानेले बताए । अहिलेको अवस्थामा नै काम भएको खण्डमा तीजमा फिल्म रिलिज लक्ष्य राखिएको निर्माण टिमले जानकारी दिएको छ ।

फिल्मको छायांकन सकिएपछि निर्माण टिमले मुख्य कलाकार अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालका रोमान्टिक तस्वीरसमेत सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरले दर्शकमाझ फिल्मप्रति उत्साह पैदा गर्ने देखिन्छ । फिल्ममा सौगात र बेनिशा श्रीमान–श्रीमतीको रुपमा प्रस्तुत भएको बुझ्न सकिन्छ ।
माओवादी जनयुद्धको कथा फिल्मले उठान गरेको बुझिएको छ । तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भूमिका निर्वाह गरेका छन् ।

सौगात र बेनिशाका अलवा फिल्ममा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेन्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ ।
फिल्मको कथा निर्देशक साने स्वंयमले लेखेका हुन् । बाबुल गिरीको संगीत रहेको फिल्मलाई दिव्य सुवेदीले खिचेका हुन् ।
फिल्ममा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन् ।
