२८ असार २०८३, आइतबार
हल्लैहल्लाको राजनीति

कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेकाे दाबी कति सत्य ?

चैत २, २०८०
काठमाडौं
कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेकाे दाबी कति सत्य ?

पछिल्लो सत्ता समीकरण बन्दा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेलाई प्रधानमन्त्री अफर आएको हल्ला चल्यो। तत्कालीन सत्ता गठबन्धन फेरबदल हुँदा रविलाई रोक्न नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको हल्ला राजनीति वृत्तमा निकै चलेको थियो । 

फागुन २१ गते तत्कालीन गठबन्धनबाट कांग्रेसलाई बाहिर राखेर एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनेको थियो । नयाँ गठबन्धनमा मन्त्रालय बाँडफाँट चलिरहँदा कांग्रेसले रविलाई प्रधानमन्त्री अफर गरेको हल्ला चलाइएको थियो । कांग्रेसले भने त्यतिखेरै हल्लाको प्रतिवाद गरेको थियो । 

कांग्रेस अहिले पनि उक्त कुरा मान्न तयार छैन । नयाँ समीकरणमा दबाब बढाउन रवि आफैंले प्रधानमन्त्रीको चर्चा गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । ‘सत्ता समीकरणमा रविले गृहमन्त्री पनि नपाउने स्थिति थियो,’ विश्वकर्माले लोकान्तरसँग भने, ‘ गृहमा दाबी बढाउन रविले कांग्रेसबाट प्रधानमन्त्रीको असर आएको भनेर रणनीतिक दबाब बढाए । जसले गृहमन्त्री उनको हात लागेको हो ।’

प्रचण्डले धोका दिएपछि कांग्रेसले सबै दलसँग संवाद भने गरेको उनले स्वीकारे । ‘प्रचण्डले धोका दिएपछि कांग्रेसले दलहरूसँग संवाद गरेको हो । ठूलो दलको रूपमा सकेसम्म आफ्नै नेतृत्वमा सरकार बनाउने नभए अरु कसैको नेतृत्वमा हुन्छ भने पनि छलफल गर्नसम्म खोजिएको हो,’ विश्वकर्माले भने, ‘तर रविलाई नै प्रधानमन्त्री बनाएर जाने अफर गरिएको थिएन ।’ तत्कालीन गठबन्धनबाट बाहिरिएपछि कांग्रेसले नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग छलफल गरेको थियो । 

कांग्रेस कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको तर्क भने अलि फरक छ । कांग्रेसलाई बदनाम बनाउन रविलाई प्रधानमन्त्री बनेर अफर प्रचार गरिएको उनको तर्क छ । ‘यो देशमा गणेशमान सिंहबाहेक प्रधानमन्त्रीको अफर नस्वीकार्ने को छ ? अफर आयो भने १० दिनको लागि भए पनि नेपालमा कसैले प्रधानमन्त्री छोड्दैनन् । गृहको लागि पटकपटक लालसा देखाउने रविले कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफर लत्याए भन्ने कुन मुर्खले पत्याउँछ ?,’ यादवले भने, ‘विना विचारको मान्छेलाई कांग्रेसले प्रधानमन्त्री बनाउनु भनेको गणतन्त्रको अपमान हो । कांग्रेसलाई बदनाम गराउनेको भ्रममा लाग्नु हुन्न । बरु केपी ओलीलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्छ ।’

तर, रास्वपा नेताहरूले भने अहिले पनि कांग्रेसबाट प्रस्ताव आएको दाबी गरिरहेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिँदा पार्टीको तर्फबाट बोलेका रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बनाइदेलान् कि भनेर भाग्दै हिँड्नुपरेको बताएका थिए । ‘गृहमन्त्री बन्दा खोजिने नैतिकता प्रधानमन्त्री अफर गर्दा पनि खोजिनुपर्ने हो नि ! यहाँ डर छ, च्याप्प समाएर प्रधानमन्त्री, उपप्रधानमन्त्री बनाइदेलान् भनेर भागीभागी हिँड्नुपर्‍या छ,’ वाग्लेले भनेका थिए, ‘कांग्रेसका पुराना मित्रहरूलाई थाहा छ म प्रमाणबेगर नबोल्ने मान्छे हुँ । हेक्का रहोस् । सक्कली कांग्रेस र नक्कली कांग्रेस खोज्दै हिँड्ने कुरा पनि भएन ।’ 

वाग्लेले मात्रै होइन प्रधानमन्त्री प्रचण्डले समेत कांग्रेसले रविलाई प्रधानमन्त्रीको अफर गरेको जिकिर गरेका थिए ।  ‘यहाँ प्रश्न उठ्यो– प्रश्न उठेकालाई मन्त्री बनाउने भनेर । प्रधानमन्त्री बनाउन हिँडिराखेको कुरा पनि देखिराखिएकै छ । यति धेरै डबल स्ट्यान्डर्डको कुरा गर्ने ?’ प्रधानमन्त्रीले संसद्मा कांग्रेसलाई भनेका थिए, ‘कोही आफूतिर आए प्रधानमन्त्री बनाउने भन्ने, आउँदैन भने भ्रष्टाचारीको आरोप लगाउने ?  मुद्दामा परेकोलाई कारबाही गर्नुपर्छ भनेर डबल स्ट्यान्टर्ड देखाउने यस्तो राजनीतिमा चल्छ ?’

यस्तै श्रम तथा रोजगारमन्त्रीसमेत रहेका रास्वपा उपसभापति डोलप्रसाद अर्यालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर आएको दाबी गर्दै आवश्यक पर्दा सार्वजनिक गर्न सकिने बताएका छन् । 

‘‘प्रधानमन्त्रीको प्रस्ताव आयो भनेर सञ्चारमाध्यमले उल्लेख गरेकै हुन् । स्रोत तपाईंहरूले खुलाएको भए हुन्थ्यो’, सञ्चारकर्मीसँग शुक्रवार संसद् भवन परिसरमा अर्यालले भने,  ‘यस्ता विषयमा गोपनीयता महत्त्वपूर्ण हुन्छ । टेलिफोन कन्भरसेसन रेकर्ड नै छ । आवश्यक परेर कुनै दिन निकाल्नुपरे हामी निकाल्छौं ।’

नयाँ समीकरण बनेको दुई साता पुग्नै लाग्दासमेत चर्चा सेलाएको छैन । बरु नयाँ समीकरणको आयुबारे चर्चा हुन थालेको छ । गठबन्धन तरल अवस्थामा रहेको संकेत स्वयं एमाले अध्यक्ष केपी ओलीले पनि गरेका छन् । ‘शेरबहादुरजीलाई भन्न चाहन्छु– बसौं, कुरा गरौं न । प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन,’ बुधबार संसद् बैठकमै ओलीले भने । त्यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले धोका पाएकाहरू एक ठाउँमा उभिए भने तपाईं (प्रचण्डक)को राजनेताको हबिगत के होला ? कुरा नचल्नेहरूको कुरा चल्यो भने यहाँको यात्रा कता होला ?’ भन्दै प्रश्न गरेका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जसपा र एकीकृत समाजवादीले पनि संशय व्यक्त गरेका छन् । संसद्मा कुनै एक दलको प्रष्ट बहुमत नभएकोले संख्यामा निकै तल रहेको तेस्रो दल ३२ सिट भएको माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । ८९ सिट भएको कांग्रेस र ७९ सिट भएको एमालेलाई अघिपछि लाउँदै प्रचण्डले सत्ताको बागडोर सम्हालेका छन् । एउटै कार्यकालमा उनले तीनपटक त विश्वासको मत लिए । सुरुमा २६८ सांसदको अभूतपूर्व विश्वास पाएका उनले दोस्रोपटक १७२ र तेस्रोपटक १५७ जनाको मात्रै समर्थन पाए । प्रधानमन्त्रीलाई गठबन्धनमा सामेल नभएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएको छ । तर, सत्ताको संकट भने अझैं टरेको छैन । 

तानातानमा रास्वपा
२७५ सदस्यीय प्रतिनिधिसभामा कुनै एक दलको प्रष्ट बहुमत छैन । पहिलो दल कांग्रेस र दोस्रो एमाले मिल्नुबाहेक अरु दललाई बहुमत जुटाउन सकस र अप्ठ्यारो छ । पहिलो र दोस्रो दल मिल्न नसक्दा ३२ सिटको माओवादीले १५ महिनादेखि सरकार चलाइरहेको छ । ‘हंग पार्लियामेन्ट’को अप्ठ्यारो गणितबीच ३२ सिटको माओवादी मात्रै होइन २१ सिटको रास्वपादेखि १० सिटको नेकपा एससम्मले सरकारमा दाबेदारी गरिरहेका छन् । उनीहरूको दाबी बलियोसमेत छ । पछिल्लो पटक प्रचण्ड–ओलीले माधव नेपाललाई समेत प्रधानमन्त्री बनाउने समझदारी गरिएको दाबी छ । सरकारलाई १५७ सांसदको समर्थन भए पनि अझै अस्थिर छ । किनभने रास्वपा(२१)ले समर्थन फिर्ता लिनेवित्तिकै सरकार संकटमा पर्ने निश्चित छ । रास्वपा बाहिरिनेवित्तिकै फेरि अर्को समीकरण बन्न सक्छ । सत्ता साझेदार एकीकृत समाजवादीले सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । 

प्रधानमन्त्रीले गृहमन्त्रीलाई  विश्वासमा लिने प्रयास गरेका छन् । तर, कांग्रेसले गृहमन्त्रीमाथि नै गम्भीर प्रश्न उठाइरहेको छ ।संसद्मा पनि कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध खरोरूपमा उत्रिएको छ । प्रतिनिधिसभामा कांग्रेस सांसद बद्री पाण्डेले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा आएका रविलाई किन गृहमन्त्री बनाइयो भन्दै प्रश्न गरेका थिए । ‘उहाँले विस्तार गरेको मन्त्रिपरिषद्मा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरमा रहेका व्यक्तिलाई सुम्पिएपछि उहाँको विश्वास धुजाधुजा भएको छ ।'

आफ्नो पेट काटेर थोरै रकम बचन गरेका पौने करोड नागरिकको पसिनाको कमाइ केही ठगले कुम्ल्याइरहँदा स्वार्थ बाझिने काम गर्न नहुनेसमेत उनले बताए । ‘यस्तो बेला अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ पाण्डेले गम्भीर सवाल उठाउँदै भने, ‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी दिन हुने शीर्षकमा कर्जा सेयर सदस्य नभएका व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारवाहीको दायरामा ल्याउनुहुन्छ ?’

तर, कांग्रेस सहमहामन्त्री यादव भने रास्वपासँग मिलेर जानेबारे छलफल नभएको बताउँछन् । प्रजातन्त्रवादी शक्तिबीच भने छलफल भइरहेको उनले बताए । ‘शेरबहादुर देउवा बुझेको नेता हुनुहुन्छ । उहाँको पछाडि हामी छौं । आवेगमा कसैलाई प्रस्ताव हुँदैन,’ यादवले भने, ‘प्रचण्डले धोका दिएपछि प्रजातान्त्रिक दलबीच एउटा वातावरण बनाएर जानेबारे छलफल भएको हो ।’

अहिलेको सरकार बढीमा ६ महिना बढी नजाने उनको दाबी छ । ‘संसद्मा केपी ओलीको कटाक्ष, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको भनाइले पनि यो सरकार ६ महिनाभन्दा बढी जाँदैन भन्ने प्रस्ट्याएको छ,’ यादवले भने, ‘यो सरकार आफ्नै कारण केही समयमा ढल्छ ।’

 

salt training

कमेन्ट गर्नुहोस्