
भारतमा हुन गइरहेको लोकसभा चुनावअघि विपक्षी दलका शीर्ष नेताको गिरफ्तारीले प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लोकतन्त्रलाई कुचल्ने प्रयास गरेको नयाँ आरोप लागेको छ ।
भारतको आर्थिक अपराध अनुसन्धान एजेन्सी इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई एक साताअघि गरेको गिरफ्तारीले कमजोर रहेको मानिएका विपक्षी दलहरू एकजुट हुने मौका मिलेको छ ।
केजरीवालको गिरफ्तारीलाई लगभग सबै दलले सर्वसम्मतिसहित निन्दा गरेका छन् भने केही नेताले प्रधानमन्त्री मोदीविरुद्ध ’जनक्रान्ति’को चेतावनी दिएका छन् ।
करिब डेढ अर्ब जनसंख्या भएको विशाल भारतमा लोकसभा निर्वाचनको तयारीमा दलहरू लागिरहेका बेला केजरीवालको गिरफ्तारी भएको हो । केजरीवालको गिरफ्तारी मात्र होइन भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले विपक्षी नेताहरूको सम्पत्तिमा छापा मार्ने काम रोकेको छैन ।
प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (कंग्रेस आई)को बैंक खाता रोक्का गरिएको छ भने अन्य दल र नेतामाथि पनि सरकारले कडा निगरानी राखेको छ ।
यही आउँदो अप्रिल १९ देखि जुन १ सम्म ५४३ सीटका लागि हुन गइरहेको निर्वाचनअघि सरकारले विपक्षीमाथि गरेको धरपकडलाई लिएर अमेरिका र जर्मनीलगायत अन्य देशले समेत आपत्ति जनाएका छन् ।
केजरीवालको गिरफ्तारीले भारतको राजधानी नयाँ दिल्ली आन्दोलनमय बनेको छ । भारतमा मुख्यमन्त्रीका रूपमा कार्यरत व्यक्तिलाई कुर्सीबाटै गिरफ्तार गरिएको यो पहिलो घटना थियो ।
केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)का एक प्रवक्ताले प्रधानमन्त्री मोदीतिर निशाना गर्दै यसलाई फोहोर राजनीति भनेका छन् ।
उनको भनाइ उदृत गर्दै अलजजीराले भनेको छ, ’केजरीवालले राजीनामा दिने छैनन्, बरू जेलबाटै सरकार चलाउने छन् ।’
भारतको प्रवर्तन निर्देशनालय (ईडी)ले २०२२ मा केजरीवालको सरकारले लागू गरेको मदिरा नीतिमा भ्रष्टाचार भएको भन्दै अनुसन्धान गरिरहेको छ । ईडीले केजरीवाल सरकारले लागू गरेको नीतिले निजी खुद्रा बिक्रेताहरूलाई अनुचित फाइदा दिएको आरोप लगाएको हो ।
पक्राउ गर्नुअघि ईडीले ५५ वर्षीय केजरीवाललाई नौपटक सोधपुछका लागि बोलाएको थियो । मुख्यमन्त्री ईडीसमक्ष हाजिर हुन जान मानेनन् । अहिले उनी र उनको पार्टीको शीर्ष नेतृत्वसहित जेलमा बन्द छन् ।
पूर्वउपमुख्यमन्त्री मनीष सिसोदिया र पूर्वमन्त्रीद्वय सत्येन्द्र जैन र सञ्जय सिंह यही मदिरा नीतिमा भएको भ्रष्टाचारको आरोपमा जेलमा छन् ।
केजरीवाल नेतृत्वको आम आदमी पार्टीले भ्रष्टाचारको आरोप अस्वीकार गरेको छ । अर्कोतिर मोदी सरकारले पनि राजनीतिक प्रतिशोधको आरोप अस्वीकार गरेको छ ।
‘प्रधानमन्त्रीले जे चाहे पनि गर्न सक्छन् । सरकारले अहिलेसम्म दुई मुख्यमन्त्रीलाई गिरफ्तार गरेको छ र बाँकी अन्य प्रदेशका मुख्यमन्त्री पनि गिरफ्तार हुन सक्ने सम्भावना देखिन्छ,’ दिल्लीका स्वास्थ्यमन्त्री र केजरीवालका नजिकका सहयोगी सौरभ भारद्वाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
गत महिना ईडीले झारखण्ड राज्यको मुख्यमन्त्रीबाट राजीनामा दिएको केही घण्टापछि भ्रष्टाचारको आरोपमा हेमन्त सोरेनलाई पक्राउ गरेको थियो ।
सोरेनको झारखण्ड मुक्ति मोर्चा आप र कंग्रेस आई जस्तै विपक्षी गठबन्धनको एक अंग हो । सोरेन नेतृत्वको पार्टीले आगामी निर्वाचनमा भाजपालाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
केही विश्लेषकले पछिल्लो समय चलिरहेको गिरफ्तारी प्रकरण मोदी र भाजपाका लागि जोखिमपूर्ण हुन सक्ने विश्लेषण गर्छन् । भाजपा सरकारको यो रबैयाले विपक्षी दलहरू एकजुट हुने र जनताले विपक्षी दलको गठबन्धनप्रति सहानुभूति जनाउने सम्भावना रहने उनीहरूको विश्लेषण छ ।
दिल्लीमा मुख्यमन्त्रीको निवास वरिपरि भेला भएका हजारौं प्रदर्शनकारीमध्ये आपका ३४ वर्षीय कार्यकर्ता देवेन्द्र सिंह पनि एक थिए । अलजजीराले सोधेको प्रश्नमा उनले भनेका थिए, ’काम गरिरहेको निर्वाचित मुख्यमन्त्रीलाई गिरफ्तार गरिनु भारतीय लोकतन्त्रको लागि ठीक छैन । एक मुख्यमन्त्रीलाई उत्पीडन र यातना दिइन्छ । आखिर मोदीको दिमागमा के छ ?’
उनले थपे, ’पहिलो पटक मैले केजरीवाललाई भोट दिएँ । अर्को पटक म उनका लागि प्रचारमै निस्केँ । यो विपक्षीसँग डराउने सरकारले गरेको लोकतन्त्रविरोधी काम हो ।’
सन् २०११ मा आम आदमी पार्टीको स्थापना गरेर केजरीवाल भ्रष्टाचारविरोधी युद्धमा होमिएका थिए । उनले सन् २०१५ र २०२० को दिल्ली निर्वाचनमा भाजपाविरुद्ध ठूलो चुनावी नतिजाका साथ जीत निकाल्न सफल भएका थिए । उनले ७० सदस्यीय विधानसभाको चुनावमा पहिलोपटक ६७ र दोस्रोपटक ६२ सीट जितेका थिए ।
तर २०१९ को लोकसभा चुनावमा भाजपाले दिल्लीबाट संसद्का सबै सात सीट जितेको थियो । विधानसभामा केजरीवाललाई भोट दिएका अधिकांशले लोकसभामा भाजपालाई मत दिएका थिए ।
‘केजरीवाललाई बन्द गरेर मोदी सरकारले आफूलाई अधिनायकवादी र अहंकारीको रूपमा खडा गर्ने जोखिम लिएको छ,’ राजनीतिक विश्लेषक असिम अलीले भनेका छन्, ‘यसले भाजपा र आपबीचका अनिश्चित मतदातालाई पनि अलग गर्न सक्छ । अब ती मतदाता सहानुभूतिका लागि आपमा रहन सक्छन् वा कांग्रेसलाई पनि भोट दिन सक्छन् ।’
उनले केजरीवाललाई शहीद बनाउन खोज्नु भाजपाका लागि ठूलो जोखिम भएको बताए ।
विपक्षी नेता, आलोचक र पत्रकारको गिरफ्तारीका कारण मोदीको नेतृत्वमा रहेको भारत अन्तर्राष्ट्रिय लोकतान्त्रिक सूचकहरूमा खस्किएको छ । सरकारले लोकतन्त्रका सूचकमाथि तयार गरिएका अन्तर्राष्ट्रिय प्रतिवेदनहरू अविश्वसनीय रहेको भन्दै आफ्नै सूचकांक ल्याउने तयारी गरिरहेको छ ।
एम्नेस्टी इन्टरनेसनल बोर्डका अध्यक्ष आकार पटेलले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘केजरीवालको गिरफ्तारी प्रकरणमा भारतीय अधिकारीको हताश मनस्थिति र मानवाधिकारप्रति भारतले गरेको उपेक्षा प्रकट हुन्छ । सरकारले जनताले तिरेको करको दुरुपयोग गर्दै कानून र केन्द्रीय वित्तीय एजेन्सीलाई हतियार बनाएर आफ्नो आफ्नो शक्तिलाई सुदृढ गर्दैछ ।’
सन् २०१४ मा मोदी सत्तामा आएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) र परवर्तन निर्देशनालय (ईडी)ले ९५ प्रतिशत मुद्दाहरू विपक्षी दल र नेतामाथि लगाएको छ ।
‘राज्यका सबै अंगहरूले मानवअधिकारको पूर्ण सम्मानका साथ काम गर्नु अत्यावश्यक छ । प्रवर्तन निर्देशनालय, निर्वाचन आयोग र न्याय प्रणाली लगायतका अन्य संस्थाहरूले भारतीय जनताको मानवअधिकारको संरक्षण गर्नुपर्छ,’ पटेलले भने ।
केजरीवाल पक्राउ परेको केही मिनेटपछि कंग्रेस आईका नेता राहुल गान्धीले भने ‘डराएको तानाशाहले मृत लोकतन्त्र सिर्जना गर्न चाहन्छ’ भनी टिप्पणी गरेका थिए ।
विपक्षी गठबन्धनबाट अलग्गिने निर्णय पश्चिम बङ्गालमा शासन गर्ने तृणमूल कांग्रेसले पनि गिरफ्तारीको आलोचना गरेको छ ।
‘चुनावको केही साताअघि नै वर्तमान मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी नेतालाई पक्राउ गरियो भने भारतमा निष्पक्ष निर्वाचनको आशा कसरी गर्न सकिन्छ ?’ सामाजिक सञ्जाल एक्समा तृणमूल नेता डेरेक ओ’ब्रायनले प्रश्न गरेका छन् ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले केजरीवालको गिरफ्तारीलाई ‘फासिस्ट’ कदम भनेका छन् । केरलाका मुख्यमन्त्री पिनाराई विजयनले भनेका छन्, ’गिरफ्तारी पूर्णरूपमा दुष्ट र आम चुनावभन्दा ठीकअगाडि सबै विपक्षी आवाजलाई चुप पार्ने षड्यन्त्रको अंग हो ।’ स्टालिनको द्रविड मुन्नेत्र कझगम र विजयनको भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) दुवै विपक्षी गठबन्धनमा सामेल दल हुन् ।
विपक्षी गठबन्धनमा सामेल उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले पनि केजरीवालको गिरफ्तारीले ‘नयाँ जनक्रान्तिलाई जन्म दिने’ टिप्पणी गरेको छ । पार्टी अध्यक्ष यादवले भनेका छन्, ’विपक्षी नेताहरूको गिरफ्तारीले भाजपालाई आगामी चुनावमा हारको डरमा कैद भएको जस्तो देखाएको छ ।’
यद्यपि, धेरैजसो मत सर्वेक्षणले मोदी र भाजपा चुनावमा सहज जीत हात पार्न सक्ने स्थितिमा रहेको बताउने गरेका छन् । भाजपाको नेतृत्वमा रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)ले ५४३ सीटमध्ये ४०० भन्दा बढीमा जीत हासिल गर्ने लक्ष्य राखेको छ । गत चुनावमा एनडीएले ३५३ सीट जितेको थियो ।
दिल्लीका स्वास्थ्यमन्त्री भारद्वाजले भने, ’उनीहरूले केजरीवाललाई पक्राउ गरेका छन् । तर केजरीवालको विचारधारालाई गिरफ्तार गर्न सक्दैनन् । केजरीवाल एक विचार हो, जुन प्रत्येक गल्ली र छिमेकमा अंकुरण भइरहेको छ ।’
भाजपाका राष्ट्रिय प्रवक्ता संवित पात्रा भने केजरीवालको गिरफ्तारीको पक्षमा बोलेका छन् । उनले भने, ‘अरविन्द केजरीवाल एक व्यक्ति होइन, विचार हो । तर मैले उनलाई नराम्रो विचार भन्नु पर्छ ।’