३२ असार २०८३, बिहीबार
सन्दर्भ: उपनिर्वाचन

इलाममा कहाँ चुक्यो रास्वपा ? मिसन ८४ मा लागेकै हो धक्का ?

बैशाख १९, २०८१
काठमाडौं
इलाममा कहाँ चुक्यो रास्वपा ? मिसन ८४ मा लागेकै हो धक्का ?

२०७९ को चुनाव र त्यसपछिको जगजगी इलाम २ को उपनिर्वाचनमा पनि कायम राख्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को योजनामा नमीठो धक्का लागेको छ । 

परम्परागत दल नेपाली कांग्रेस र नेकपा एमालेमाथि जनताको विकर्षण रहेको र आफूहरूप्रति आकर्षण रहेको देखाउन रास्वपाले इलाम उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको थियो । 

सिंगो पार्टी संयन्त्रलाई महिनौंदेखि इलाममा परिचालन गरेर आफूलाई लोकप्रिय देखाउन रास्वपाले कुनै कसर बाँकी राखेन । पुरानै लहर कायम राखेर २०८४ को चुनावमा एकल बहुमत ल्याउने उद्घोषसहित रास्वपा चुनावी मैदानमा उत्रिएको थियो । तर, उसका सबै योजना इलाममा असफल सावित हुन पुगेका छन् । 

झण्डै ७० हजार भोट खसेको इलाममा ६ हजार पनि नल्याउँदा जमानत समेत जफत हुन पुग्यो । जबकि अघिल्लोपटक प्रत्यक्षमा १३ सय मत आउँदा समानुपातिकमा रास्वपाले ५ हजारभन्दा बढी मत ल्याएको थियो ।

सिंगो पार्टी महिनौंसम्म इलाममा अहोरात्र खटिँदा पनि सदर मतको १० प्रतिशत ल्याउन नसक्दा जमानत समेत गुमाउने स्थिति आउनुलाई नेताहरूले सहज मानेका छैनन् । 

पराजित भएलगत्तै सभापति रवि लामिछानेले जित्न नसकिए पनि सिक्न सकिएको भन्दै धेरै कमजोर रहेको संकेत गरिसकेका छन् ।

‘जित्न सकिएन, सिक्न सकियो । त्यसैले कुनै ‘इफ, बट’को सहारा नलिई सहर्ष पराजय स्वीकार गर्दै जिम्मेवार ढंगले अभिव्यक्त हुन सबै सदस्यहरूमा अनुरोध छ,’ इलाममा पराजय र अपेक्षित मत ल्याउन नसकेपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् । 

पार्टीले पनि धेरै कमीकमजोरी स्वीकार गर्दै घण्टी चिह्नको सांकेतिक घण्टी बजेकाले गम्भीर समीक्षा गर्ने जनाएको छ ।

‘पार्टी केन्द्रीय समितिको आगामी बैठकमा यस निर्वाचनका सम्बन्धमा गहन समीक्षा गर्नेछौं । निर्वाचन परिणामले हाम्रा प्रयासहरूमा कैयन कमीकमजोरी रहेको इंगित गरेको छ,’ रास्वपा महामन्त्री डा. मुकुल ढकालले इलाममा पराजित भएपछि विज्ञप्ति निकाल्दै भनेका छन्, ‘सही समयमा घण्टी नबजाएर बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ ।’

उपनिर्वाचनमा इलाममा कमाण्डर बनेका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी एमालेले जसरी पनि जित्नैपर्ने गरी प्रतिष्ठाको विषय बनाएको र आचारसंहिताविपरीत काम गरेकाले चुनावी नतिजा फरक आएको जिकिर गरे । 

‘हामीले इलाममा आचारसंहिताभित्र रहेर चुनावी प्रक्रिया पूरा गर्‍यौं । तर अरू, मुख्यरूपमा एमालेले जित्न के–के गर्नुपर्ने हो सबै गरे । भ्रामक समाचार फैलाउने, पैसा खाएर परिचालन गर्ने मात्रै होइन, भोटर ट्रयाकिङमा समेत धेरै तयारी गर्दा हाम्रो आउनुपर्ने मत पनि आएन ।’

धारेहात र गाली पुराना दलप्रति नै भए पनि परिवर्तन र रूपान्तरण हुनुपर्छ भन्ने हुटुहटी रास्वपाप्रति भएको उनी बताउँछन् । तर, संगठन नहुँदा आफूहरूलाई अप्ठ्यारो परेको उनी बताउँछन् । 

‘भोटर ट्र्याकिङ गर्ने, घरबाटै ओसारेर मतदान केन्द्रको काउन्टरसम्म ल्याउने, मतदाता नामावलीको सिरियल नम्बरका लागि सहयोग गर्ने, त्यस्तै परे भोटै हाल्दिने समेत गर्नमा एमाले पूरै निर्वाचन क्षेत्रभरि सक्रिय हुने रहेछ,’ बुर्लाकोटी भन्छन्, ‘कतिसम्म देखियो भने भोट हालेर फर्किसकेपछि ८० प्रतिशत बुथमा खाना/खाजाको व्यवस्था समेत उनीहरूले गरेका थिए ।’ 

‘भोटर ट्र्याकिङ गर्ने, घरबाटै ओसारेर मतदान केन्द्रको काउन्टरसम्म ल्याउने, मतदाता नामावलीको सिरियल नम्बरका लागि सहयोग गर्ने, त्यस्तै परे भोटै हाल्दिने समेत गर्नमा एमाले पूरै निर्वाचन क्षेत्रभरि सक्रिय हुने रहेछ,’ बुर्लाकोटी भन्छन्, ‘कतिसम्म देखियो भने भोट हालेर फर्किसकेपछि ८० प्रतिशत बुथमा खाना/खाजाको व्यवस्था समेत उनीहरूले गरेका थिए ।’ 

रास्वपा उम्मेदवार मिलन लिम्बूको भ्रमणपूर्ण भिडियो चुनावको अघिल्लो दिन सामाजिक सञ्जालमा भाइरल गराएको, रास्वपाले एमालेलाई समर्थन गरेको भन्दै मतदातालाई भ्रमित गराएको आरोपसमेत उनले लगाए । 

इलाममा विजयी भएको भए मिसन ०८४ भन्दै अल्छी हुन सकिन्थ्यो भन्दै उनले सचेत हुने ठाउँ मिलेको बताए ।

‘हामी वजयी भएको भए अल्छी हुन्थ्यौं । तर, हामीले सोचेजस्तो नतिजा नआए पनि यो परिणामले सचेत बनाएको छ,’ उनी भन्छन्, ‘हामीले चुनाव हार्‍यौं । तर, चुनौती के छ भन्ने हाम्रो निम्ति प्राप्त पाठ हाम्रो लागि एकदमै ठूलो ज्ञान हो ।’

तर, महिनौसम्म पदाधिकारीसहितका नेताले मेहनत गरेको, सभापति एवं गृहमन्त्रीले पनि अत्यधिक मेहनत गर्दा पनि इलाममा यसअघिको भन्दा पनि मत बढाउन नसकेपछि रास्वपाभित्र तनावको स्थिति रहेको एक नेता बताउँछन् । 

‘हामीलाई अघिल्लोपटक पार्टीकै नाम र चुनाव चिह्न सम्झेकै भरमा भोट दिएर २१ सिटमा जिताउनुभयो । तर यसपटक हाम्रो सिंगो पार्टीले मेहनत गरेर प्रतिष्ठानको विषय बनाए पनि इलाममा मत बढाउन नसक्नुले हामीमा प्रशस्तै कमजोरी छन् भन्ने देखाएको छ,’ रास्वपाका सांसदसमेत रहेका ती नेताले भने, ‘जिम्मेवार नेताहरू नै महिनौं खटिनुभयो । सभापतिलाई पनि लगेर धेरै ठाउँमा भाषण गर्न लगाउँदा पनि अघिल्लोपटक समानुपातिकको पाए जति मत हामीले ल्याउन सकेनौं । यसको गम्भीर समीक्षा नगरे हामीलाई अब सजिलो मात्रै छैन भन्ने सन्देश इलामले दिएको छ ।’ 

अनपेक्षित परिणामपछि रास्वपाले आगामी वैशाख २९ गते बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको छ । एउटाले हार्ने र अर्कोले जित्ने स्थिति स्वाभाविक भए पनि सम्मानजनक मत नल्याउनु २०८४ मा बहुमत ल्याउने नारालाई समेत कमजोर बनाएको ती सांसदको टिप्पणी छ । 

केन्द्रीय सदस्य गणेश कार्कीले पुरानो दलको धङधङी तोड्न समय लाग्ने भए पनि छोटो समयमा रास्वपा पनि पुरानै दलजस्तो भएको सन्देश गएको बताउँछन् । 

‘इलामको चुनावले पहिलो कुरा त पुरानो पार्टीको धङधङी तोड्न समय लाग्छ भन्ने देखायो,’ कार्की भन्छन्, ‘हामीले फरक ढंगले जान्छौं भन्यौं, तर सत्तामा जान लालयित भइहाल्ने र जाने परिस्थितिले यिनीहरू पनि पुराना दलभन्दा फरक भएनन् भन्ने म्यासेज जनतामा गयो भन्ने मेरो आकलन छ ।’ 

एउटा उपनिर्वाचनमा सिंगो पार्टी इलाममा परिचालन हुनुको सन्देश पनि राम्रो नभएको कार्कीको मूल्यांकन छ । 

‘पार्टीले सोचेभन्दा इलामको नतिजा फरक आयो । हामीले जित्न त सकेनौं सकेनौं । चौथो स्थानको मत मात्रै आयो,’ कार्की भन्छन्, ‘एउटा उपनिर्वाचनमा सम्पूर्ण शक्ति परिचालन गर्ने र शक्ति लगाउँदा पनि राम्रो सन्देश गएन यसैले पार्टीले गम्भीर समीक्षा गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्