
लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्नेबारे नयाँ गठबन्धनमा आबद्ध दलहरूले फरक–फरक विषय जानकारी दिएका छन् । नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व आफूले गर्ने जनाएको छ ।
गठबन्धन दलबीचको समझदारीअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व गर्नेछन् । केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनको साझेदारी अनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने साझेदारी बनेको माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले लोकान्तरलाई बताए । ‘केन्द्रमा बनेको साझेदारीअनुसार नयाँ सरकारको विषयमा छलफल शुरू भएको हो,’ उनले भने, ‘साझेदारीअनुसार माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्व गर्नेछन् । यसैबीच सत्ता साझेदार दलको बैठक बस्ने पनि तयारी गरिएको छ ।’
अर्कोतिर नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसी चौधरीले माओवादीको नेतृत्वमा लुम्बिनी सरकार बन्ने कुरा बाहिर आए पनि औपचारिक रूपमा आफूलाई जानकारी नआएको बताए । तर, केन्द्र सर्कुलर आएको खण्डमा माओवादीको नेतृत्वमा सरकार बनाउन एमाले तयार रहेको उनले स्पष्ट पारे ।
रोल्पा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद महरा यसअघि एमाले नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।
लुम्बिनी प्रदेशमा माओवादी केन्द्र, एमाले, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसद र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा सरकार बन्नेछ । यसअघि विस २०७९ साल पुस २७ गते एमालेका संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री हुँदा माओवादीका जोखबहादुर महरा झण्डै तीन महिना अर्थमन्त्री बनेका थिए ।
महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्रसमेत हुन । पछिल्लो समय संघमा परिवर्तित राजनीतिक समीकरणपछि फागुन २३ गते मुख्यमन्त्री चौधरीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको थियो ।
माओवादीले समर्थन फिर्ता लिएपछि सरकार टिकाउन साना दलहरूसँग छलफल चलाएका मुख्यमन्त्री चौधरीले २२ गते विश्वासको मत लिने भएका छन् ।
चौधरीले साना दललाई मिलाएर सत्ता टिकाउन प्रयासमा जुटेपनि विश्वासको मत पाउने सम्भावना कम देखिन्छ । संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेमा चैत २३ गते नयाँ सरकार बन्ने बाटो खुल्नेछ । चैत २३ गतेभित्रै आफ्नो नेतृत्वमा सरकार बन्ने दाबी गरेका महराले आन्तरिक तयारी जुटेका छन् ।
लुम्बिनीमा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४-४, जसपा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३-३, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १-१ जना सांसद छन् ।
राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन् । लुम्बिनीमा १० राजनीतिक दलको प्रतिनिधित्व छ ।