
नेपालका १०८ जना गायक-गायिकाहरूको स्वरमा रेडर्क भएको श्लोक ‘त्रिशरण गमनम्’ सार्वजनिक गरिएको छ ।
यो एल्बममा गौतम बुद्धप्रति समर्पित बौद्ध श्लोक (मन्त्रोच्चारण) ‘बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी, संघम् शरणम् गच्छामी...’ समेटिएको छ ।
यतिधेरै कलाकारको स्वरमा रेकर्ड भएको बुद्धम् शरणम् गच्छामी... श्लोक (मन्त्रोचारण) यो नै पहिलो हो ।
उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले यो श्लोक एल्बमको काठमाडौंको जमलस्थित नाचघरमा लोकार्पण गरेका हुन् ।
विमोचन समारोहमा बोल्दै मन्त्री यादवले हामीले सिक्दै भोग्दै र पढ्दै जानेको समाजवाद गौतम बुद्धले पहिला नै प्रतिपादन गरिसकेको बताए । गौतम बुद्ध नेपालमा नै जन्मेका हुन् भन्ने सन्देश विश्वभर फैलाउनको लागि तयार पारिएको यो श्लोकले विश्व शान्तिलाई मजबुत बताउने उनको विश्वास थियो ।
यो एल्बमलाई बुद्ध शान्त पार्क निर्माण समितिले तयार पारेको हो । यो श्लोक एल्बमको संगीत जुलग डङ्गोलले गरेका हुन् ।
जसमा अग्रज गायक गायिकाहरू ज्ञानु राणा, संगीता राना, जुजुकाजी रञ्जित, अमरराज शर्मा, रमना श्रेष्ठ, यमन श्रेष्ठ, प्रवेशमान शाक्य, लोचन भट्टराई, संगीता शाक्य, विजयनारायण मानन्धर, दिवाकर खड्का, निशा देशार, सानुबाबु महर्जन, केञ्जुमा सुब्बा, सरिता भारती लगायत १०८ जना कलाकारको स्वरमा ४३ मिनट लामो बुद्धम् शरणम् गच्छामी श्लोक रहेको छ ।
यो श्लोकलाई १०८ पटक नै गाएर तयार गरिएको पनि संगीतकार जुगलले जानकारी गराए । ‘हरेक कलाकारले १/१ पटक यो श्लोक गाउनुका साथै सामूहिक रुपमा पनि गाउनु भएको छ । यसरी १०८ जनाको स्वरमा तयार पारिएको यो मन्त्रोच्चारण माधुर्य बनेको छ’, उनले भने ।
कार्यक्रममा बोल्दै भिक्षु धर्म मूर्ति भन्तेले यसरी बुद्धम् शरणम् गच्छामी जस्तो पवित्र श्लोकलाई १०८ जनाको स्वरमा रेकर्ड गरेर एल्बमको रुपमा ल्याउनु ऐतिहांसिक कार्य भएको बताए ।
बौद्ध मार्गीहरूले १०८ पटक मालामा मन्त्र जप्ने भएकाले सोही आधारमा १०८ जना कलाकारहरूको स्वरमा यो श्लोक रेकर्ड गरिएको प्रस्तुतकर्ता बुद्धशान्त पार्क निर्माण समितिका अध्यक्ष शान्तबहादुर शाक्यले बताएका छन् ।
हाल अडियोको रुपमा सार्वजनिक गरिएको यो एल्बमको श्लोकलाई भिडियोको रुपमा चाँडैनै तयार गरेर ल्याउने पनि अध्यक्ष शान्तबहादुर शाक्यले जानकारी गराएका छन् ।