
बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीका दिन काठमाडौँको चक्रपथमा म्याराथन पूरा गरेका छन् ।
बुधवार 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ सेकेण्डमा दौडेर पूरा गरेका थिए ।
कलङ्कीबाट बिहान ७ बजे शुरु भएको उक्त एकल म्याराथन बल्खु, एकान्तकुना, सातदोबाटो, ग्वार्को, कोटेश्वर, सिनामंगल, चाबहिल, महाराजगन्ज, बालाजु, स्वयम्भू हुँदै कलङ्कीमा समापन भएको थियो ।
लायन्स क्लब अफ काठमाडौं बबरमहलले आयोजना गरेको कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक-३२५ का डिस्ट्रिक गभर्नर लायन शम्भुबहादुर थापाले म्याराथन शुरु गराएका थिए ।
उक्त कार्यक्रममा लायन्स क्लबका अन्य लिडरहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल प्रहरी कलङ्की वृत्तका प्रहरी नायव निरीक्षक यमबहादुर थापाले सुरक्षा लगायत अन्य संयोजन गरिदिएका थिए ।
म्याराथन शुरु हुनुभन्दा अगाडि आयोजक क्लबका अध्यक्ष लायन ताराप्रसाद मैनालीले यो कार्यक्रम आयोजना गरिनुको उद्देश्यको बारेमा स्पष्ट पारेका थिए ।
धावक विश्वकर्माले नियमति व्यायाम गर्ने, खानपानमा ध्यान दिने र वातावरण सफा राख्न सकियो भने स्वस्थ रहन सकिन्छ भन्ने सन्देशसमेत बाँडेका थिए ।
म्याराथन सम्पन्न भएपश्चात गभर्नर लायन थापाले धावकलाई साहसीपूर्ण कदमको प्रशंसा गर्दै माला लगाई बधाइ तथा शुभकामना दिए ।
आगामी दिनमा पनि यस्तै सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्ने कुरा आयोजक क्लबका अध्यक्ष लायन तारा प्रसाद मैनालीले जानकारी गराए ।