२३ असार २०८३, मंगलबार

एनसेलकी एक्टिङ सीटीओ लेना ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड'बाट सम्मानित

बैशाख २१, २०८१
काठमाडौं
एनसेलकी एक्टिङ सीटीओ लेना ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड'बाट सम्मानित

नेपाल सरकारले एनसेलकी एक्टिङ चिफ टेक्निकल अफिसर (सीटीओ) लेनाकेशरी कंसाकारलाई ‘नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४’ बाट सम्मानित गरेको छ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कंसाकारलाई नेसनल आईसीटी एक्सिलेन्स अवार्डको महिला विधामा यो सम्मान प्रदान गरेको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो अवार्ड कंसाकारलाई वितरण गरेका थिए । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सम्वृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मूल्याङ्कन गर्दै एक लाख नगदसहित यो पुरस्कार प्रदान गरिएको हो ।

इन्जिनियरिङ क्षेत्रमा करियर शुरू गरेपछि कंसाकार सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन् र अहिले उनी १४० बढि प्राविधिक कर्मचारीहरूको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् । असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् । 

एनसेलमा कार्यरत रही उनले टुजी, थ्रीजी, फोरजीको व्यापक विस्तारलगायत विभिन्न महत्वपूर्ण काम गरेकी छिन् । कंसाकारले ग्रामिण क्षेत्रमा दूरसञ्चारको पहुँच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौं प्रोजेक्टका लागि नेतृत्व लिएर कार्य गरेकी छिन् ।

‘काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नाकोत्तर र पोखरा विश्व विद्यालयबाट ईएमबीए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रही एनसेललाई देशको एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा स्थापित गराउन अतुलनीय योगदान दिएकी छिन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा अन्य विभिन्न विधामा पनि पुरस्कार प्रदान गरेको थियो । प्युठानका डा शैलेन्द्र गिरी नेसनल आईसीटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् । वान प्वाइन्ट फाईनान्सियल सर्भिसेलले नेसनल आईसीटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ ।

त्यसैगरी मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ । सामाजिक सुरक्षा कोषले नेसनल आईसीटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राइभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट निजी क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आईसीटी अवार्ड २०२४ जितेको छ । 

salt training

कमेन्ट गर्नुहोस्