०३ साउन २०८३, आइतबार

बिदा लिएर निजी अस्पतालमा नजान चिकित्सकलाई निर्देशन, गए कारबाही गर्ने चेतावनी

बैशाख २५, २०८१
काठमाडौं
बिदा लिएर निजी अस्पतालमा नजान चिकित्सकलाई निर्देशन, गए कारबाही गर्ने चेतावनी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिदा लिएर निजी स्वास्थ्य संस्थामा काम गर्न नजान निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।

चिकित्सक तथा स्वास्थ्यकर्मीले जुन उद्देश्यका लागि बिदा लिएको हो सोही उद्देश्यअनुसार त्यसको सदुपयोग गर्न उनले आग्रह गरेका छन् ।

उनले चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा, भैपरी आउने र पर्वजस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई कार्य गर्नेलाई प्रचलित कानूनअनुसार कारबाही गर्ने चेतावनी दिएका छन् ।

'केही चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले जुन उद्देश्यका लागि बिदा लिएका हुन् सोही अनुसार बिदा उपयोग नगरी निजी स्वास्थ्य संस्थामा, विदेशी स्वास्थ्य संस्था एवं गैरसरकारी सङ्घ संस्थामा गई कार्य गरेको जानकारी प्राप्त हुन आएकाले त्यस्ता कार्य नगर्नु, नगराउनु हुन अनुरोध गर्दै आ–आफ्नो पदीय मर्यादा, व्यक्तिगत आचरण एवं पेसागत अनुशासनमा रही कार्य गर्नुहोला', सचिव बुर्लाकोटीद्वारा जारी निर्देशनमा उल्लेख छ ।

केहीले विदेशमा समेत गई कार्य गरी आफू जिम्मेवार रहेको निकायमा चिकित्सकीय तथा स्वास्थ्य सेवा प्रवाह नगरी गैरजिम्मेवारीपूर्ण कार्य गरेकाले प्रचलित कानून बमोजिम हदैसम्मको कारबाही गरी स्वीकृत गरेको बिदा रद्द गर्न विभिन्न निकाय तथा सेवाग्राहीबाट गुनासो प्राप्त भएको सचिव बुर्लाकोटीले उल्लेख गरेका छन् ।

नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र स्वास्थ्य सेवा नियमावली, २०५५ मा सबै सरकारी कर्मचारीको समय नेपाल सरकारको अधीनमा हुने बिदा अधिकारको कुरा नभई सहुलियत मात्र भएको भन्ने स्पष्ट कानूनी व्यवस्था रहेको उनले स्मरण गराएका छन् ।

कर्मचारीले नियमावलीअनुसार बिदा लिन पाउने भए पनि जुन उद्देश्यले बिदा लिएको हो सोही प्रयोजनमा उपयोग गर्न उनले आग्रह गरेका छन् ।

बिदाको उद्देश्यविपरीत निजी स्वास्थ्य संस्थामा काम गरेको पाइएमा सम्बन्धित निकायले स्वीकृत गरेको बिदा रद्द हुनुको साथै प्रचलित कानून बमोजिम कारबाही गर्ने बुर्लाकोटीले चेतावनी दिएका छन् ।

यस्तै स्वदेशी तथा विदेशी निजी संस्थाले सरकारी चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीले त्यस्तो कार्य भए गरेको देखिएमा मन्त्रालयमा जानकारी गराउनसमेत आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्