
महिला सशक्तीकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सनराइज बैंकले ’शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न आफूले गरेका विभिन्न गतिविधि र कार्यक्रमलाई एउटै छाताभित्र ल्याएको हो ।
‘यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस पहलअन्तर्गत आगामी ७ वर्षमा कुल रू ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी (एमओयू) गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक दृष्टिले विपन्न छात्राले वार्षिक रुपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।
यसैगरी बैंकले आगामी ५ वर्ष सम्ममा रू १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोषमार्फत सोही विश्वविद्यालयबाट एसटीईएएम (विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित) विषयमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रुपमा विपन्न महिलाले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रमअन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाको संख्या वर्षेनी बढाउँदै लगिने बैंकले जनाएको छ ।
यस छात्रवृत्तिमार्फत २०२४ ब्याचकी इरादा सुवेदी (एमई स्ट्रकचरल इन्जिनियरिङ) र सुनेना न्याछ्योँ (एमएससी ईएस) हाल अध्ययनरत छन् ।
यसअघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयमा अध्ययनरत योग्य छात्रालाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको थियो । यसबाहेक बैंकले छात्राहरूलाई अन्य क्षेत्रमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।
‘यी प्रयासहरूले लक्ष्मी सनराइज बैंकको ’शिक्षित लक्ष्मी’मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तीकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ,’ विज्ञप्तिमा उल्लेख छ, ‘लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।’