२२ असार २०८३, सोमबार
कुलमानको अक्षमता

गर्मीमा 'जनता पकाउने' गरि अघोषित लोडसेडिङ, तराईमा छिनछिनमै जान्छ बत्ती

संसददेखि सडकसम्म उठ्यो आवाज, उत्पादन नै ३० प्रतिशतमा झरेको उद्योगीको गुनासो
जेठ ३०, २०८१
काठमाडौं
गर्मीमा 'जनता पकाउने' गरि अघोषित लोडसेडिङ, तराईमा छिनछिनमै जान्छ बत्ती

गत शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरूले गर्मीका कारण अस्तव्यस्त बनेको जनजीवनमा अघोषित लोडसेडिङले थप पीडा दिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

शून्य समयमा बोल्नेमध्ये राप्रपाका सांसद धवलशमशेर राणाले नेपालगञ्ज क्षेत्रमा नेसनल ग्रिडलाई व्यवस्थित गरेर बत्ती नजाने व्यवस्था मिलाउन माग गरेका थिए ।

अत्यधिक गर्मीका कारण नेपालगञ्जमा ४३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम पुगेको छ । पश्चिमदेखि पूर्वी तराई र मधेश क्षेत्रमा पनि तातो हावा 'लू'का कारण जनजीवन अत्यधिक कष्टकर बनेको छ ।

दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र 'लू' चल्ने गरेको छ । 

अहिले गर्मीबाट बच्ने एक मात्र उपाय भनेको पंखा, कूलर या एसी हो ।

नेपाल विद्युत प्राधिकरणको कमजोर व्यवस्थापनका कारण भएको अघोषित लोडसेडिङले सामान्य जनता गर्मीका कारण पीडादायी अवस्था गुजार्न बाध्य छन् ।  

यसैगरि सोही बैठकमा नेकपा एमालेकी सांसद निर्मला कोइरालाले पनि गर्मीको समयमा बत्ती नजाने व्यवस्था मिलाउन माग गरेकी थिइन् ।

उनले भनिन्, 'नारायणी अस्पतालमा उपचारका लागि आउने बिरामीहरू बत्ती नहुँदा गर्मीले छटपटाउनु परेको र पानीका स्रोतहरू सुकेर पानी पिउनसमेत नपाउने अवस्था रहेको छ । यी समस्या तत्काल समाधान गर्न सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु ।'

एमालेकै सांसद दीपा शर्माले बाँकेलगायत कर्णाली प्रदेशका जनताले लोडसेडिङ अन्त्य भएको अनुभूति गर्न नपाएको बताइन् ।

अघोषित लोडसेडिङले जीवन कष्टकर

गर्मीकै कारण पछिल्लो एक सातामा कैलालीको कैलारी गाउँपालिका ७ रामपुरका २९ वर्षीय इन्द्रबहादुर राना मगरको मृत्यु भएको छ भने रौतहटमा अर्का एक बटुवाले ज्यान गुमाएका छन् ।

गत जेठको दोस्रो साता झापाको मेचीनगरमा ७४ वर्षका नरबहादुर श्रेष्ठले गर्मीकै कारण ज्यान गुमाए । सोही दिन बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला पर्‍यो । उनको पनि गर्मीकै कारण मृत्यु भएको प्रहरीको अनुमान छ ।

नेपालगञ्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अब्दुल अन्सारी भन्छन्, 'अत्यधिक गर्मी छ । एक मिनेट बत्ती जाँदा पनि मान्छेलाई गाह्रो भइरहेको छ । यस्तो समयमा विभिन्न बहानामा विद्युत् लोडसेडिङ गरेकोगर्‍यै छ ।’

उनले उपभोक्ताले महसुल तिरेपछि विद्युत पाउनु अधिकार भएको बताए । 'यो गर्मीको बेलामा कुनै पनि बहानामा विद्युत काट्न पाइन्न,' अन्सारीले भने

नेपालगञ्जकै अर्का एक स्थानीय श्यामबहादुर बिकले लोकान्तरसँग भने, 'बिजुली छिनछिनमा ट्रीप हुन्छ । भोल्टेज पूरै आउँदैन । एसी, कुलर त परै जाओस्, पंखासमेत चल्दैन । मेरै आँखाअगाडि कैयौं मान्छे बिरामी भएर अस्पताल गएका छन् ।'

विराटनगरमा पनि उस्तै

विराटनगरमा पनि उस्तै अवस्था रहेको त्यहाँस्थित लोकान्तरका प्रतिनिधि उत्तम पोखरेलले रिपोर्ट गरेका छन् । विराटनगरमा उखरमाउलो गर्मीमा बत्ती झ्याप्पझ्याप्प जाँदा व्यापार व्यवसाय ठप्प छ भने सर्वसाधारण पनि गर्मीले आक्रान्त छन् ।

विराटनगरमा स्ट्याम्प छापको पसल गर्ने बुद्धि सुवेदीले अघोषित लोडसेडिङका कारण आफ्नो रोजीरोटीनै गुम्ने खतरा बढेको बताएका छन् ।

'एकातिर यस्तो गर्मी छ, जुनसुकै बेला पनि बिरामी पर्न सकिन्छ, अर्कातिर लाइन नआउँदा पंखा चल्दैन । अझ गाह्रो कुरा त झ्याप्पझ्याप्प बत्ती जाँदा काम पनि प्रभावित भएको छ,' सुवेदीले भने ।

अर्का स्थानीय प्रकाश अधिकारीले विद्युत सेवा अनियमित हुँदा न घर बस्न सकिने, न बाहिर जान सकिने परिस्थिति आएको बताए ।

विराटनगर औद्योगिक क्षेत्रलाई पनि लोडसेडिङले हैरान बनाएको छ । दिनमा ६/७ पटक बिजुली ट्रीप हुँदा उद्योगको क्षमता ३० प्रतिशतमा झरेको विराटनगरका उद्योगी राकेश सुनारले बताए ।  

'अहिले लोडसेडिङ भनेर कुनै पनि तालिका सार्वजनिक गरिएको छैन,’ उनले लोकान्तरसँग भने, ‘तर दिनमा छ/सातपटक बिजुली जान्छ ।’

अहिले त्यो क्षेत्रमा दैनिक १० घण्टासम्म विद्युत जाने गरेको उनको भनाइ छ । 'यस्तो सिलसिला निकै लामो समयदेखि चलिरहेको छ,' उनले भने, 'उद्योगहरू धराशायी हुने अवस्थामा पुगेका छन् ।'

बुटवल-भैरहवा क्षेत्रमा दैनिक १२ घण्टासम्म गायब हुन्छ बिजुली 

बुटवल-भैरहवा औद्योगिक कोरिडोरमा पनि अहिले १२ घण्टाभन्दा बढी लाइन जाने गरेको छ । कोरिडोरमा मात्र होइन, सर्वसाधारणको घरबाट पनि विद्युत गायब हुँदा गर्मी झन् कष्टकर बनेको छ ।

अत्यधिक गर्मीका कारण अस्पताल भर्ना भएका एक स्थानीय हरि खनाल भन्छन्, 'आफ्नो पसलमै काम गरिरहेको थिएँ । बत्ती थिएन, गर्मी लागिरहेको थियो, एकाएक बेहोश भएछु । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई दिन उपचार गरेपछि ठीक भएको छ ।'

त्यस क्षेत्रमा रहेको औद्योगिक कोरिडोरमा त अघोषित लोडसेडिङ हुने समस्या पुरानै हो ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र साहुले बुटवल-भैरहवा कोरिडोरका ठूला उद्योगले १२ घण्टासम्म निरन्तर लोडसेडिङ खेप्दै आएको बताए । 

‘विगत दुई साढे महिनादेखि यस क्षेत्रका उद्योगले अघोषित लोडसेडिङको मार खेपिरहेका छन्,’ महाप्रबन्धक साहुले भने, ‘लोडसेडिङको तालिका दिनुहोस् भनेर प्राधिकरणको कार्यालयमा जाँदा लोड व्यवस्थापन हो, लोडसेडिङ होइन भन्छन् । माथिबाट निर्देशन आएको छ, लाइन पूरा दिन सक्दैनौं भन्छन् । यसले गर्दा उत्पादनमा निकै समस्या भएको छ ।’

उनले बिहान ५ बजेदेखि १० बजेसम्म र साँझ ५ बजेदेखि १० बजेसम्म लाइन कटौती हुने गरेको बताए ।

भैरहवा-लुम्बिनी कोरिडोरमा अघोषित लोडसेडिङको समस्या झनै धेरै रहेको बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले बताए । 

'प्राधिकरणले नियतवश नै बुटवल-भैरहवा क्षेत्रमा लाइन काटिरहेको उनको दाबी छ । 

प्राधिकरणको ४ जवाफ

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन घोषले पश्चिमको टनकपुर सप्लाइ र पूर्वको ढल्केबरमा समस्या आएको, निजी क्षेत्रले भने जति विद्युत नदिएको र पूर्वाधारको पर्याप्त विकास नभएको कारण देखाए ।

'पश्चिममा अलिअलि समस्या देखिएको छ । हामीहरूले टनकपुरबाट लिएको सप्लाइमा समस्या आउने गरेको छ । हावाहुरी चल्छ । अस्ति स्याउलेमा त्यस्तै भयो । यस्तै चुनौतीका कारण विद्युत आपूर्ति बन्द भएको हो,' उनले भने ।

ढल्केबर प्रसारण लाइन सञ्चालनमा आएपछि विराटनगरलगायत पूर्वी क्षेत्रमा समस्या समाधान हुने उनले बताए ।

'फागुनमा सम्पन्न हुनुपर्ने आयोजना जेठको अन्त्यसम्म पनि सञ्चालनमा आएको छैन, कसले अवरोध गरिरहेको छ, खोज्नुस् न तपाईंले,' उनले भने ।

निजी क्षेत्रका जलविद्युत आयोजनाले उत्पादन गर्छु भनेर प्रतिबद्धता जनाएको विद्युत उत्पादन नगर्दा पनि समस्या आएको उनको जिकिर छ ।

'निजी क्षेत्रबाट यति विद्युत दिन्छौं भनेर उहाँहरूले भन्नुहुन्छ तर कति दिनुहुन्छ, यो तपाईंले उहाँहरूले नै सोध्नुपर्यो,' उनले भने ।

अन्तिममा उनले थपे, 'नयाँ पूर्वाधार नबनेसम्म यो सबै समस्याको समाधान हुँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्