२१ असार २०८३, आइतबार
सीआईबी बनेर लुटपाट प्रकरण

भाञ्जाको घरबाट २ करोड लुट्न मामाको 'मास्टर प्लान', पैसा बोक्न भाडामा मोटरसाइकल राइडर !

असार ११, २०८१
काठमाडौं
भाञ्जाको घरबाट २ करोड लुट्न मामाको 'मास्टर प्लान', पैसा बोक्न भाडामा मोटरसाइकल राइडर !

भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ का डिल्लीबहादुर राउतको घरबाट २ करोड लुटपाट भएको घटना अनुसन्धानमा नयाँ तथ्य फेला परेको छ । 

राउतले वैदेशिक रोजगारीका लागि नेपालीहरूलाई विदेश पठाउँदै आएका थिए । राउतले युरोपियन मुलुकमा नेपाली पठाउँदा एउटै व्यक्तिबाट १० देखि १२ लाख रुपैयाँ लिने गरेको जानकारी उनकै मामा कुलबहादुर खत्रीलाई थियो ।

भाञ्जाको आम्दानी देखेर खत्रीमा लोभ र इर्ष्या दुवै बढ्दै गयो । 

वैदेशिक रोजगारीको सिलसिलामा चिनजान भएका सिन्धुपाल्चोक बाह्रबिसेको सुजन रसाइलीसँग मिलेर खत्रीले भाञ्जाको घर लुट्ने योजना बनाए । भक्तपुरको साँगाभञ्ज्याङ बस्ने रसाइलीलाई खत्रीले राउतको घरमा निगरानी गर्न पठाउँथे । 

राउतको घरमा मोटो रकम रहेको जानकारी पाएका खत्रीले रसाइलीमार्फत अन्य तीनजना खोजी गर्न लगाए । खत्रीले राउतको घरबाट पैसा लुटेपछि तीव्र गतिमा हाँक्न सक्ने केटा (राइडर) खोज्न रसाइलीलाई लगाए ।

उनले सिन्धुपाल्चोक भोटेकोशीकै भीमबहादुर तामाङ र कृष्णबहादुर बोहरा तथा ललितपुरको इमाडोल बस्ने ओखलढुंगा मानेभञ्ज्याङका मुनाराज राईलाई तयार पारे । 

यीमध्ये बोहरा प्रहरीका हवल्दार हुन् । पछिल्लो समय उनी महाराजगञ्ज गणमा कार्यरत थिए । 

राउतको घरमा लुटपाट गर्ने अन्तिम योजना गत असार ४ गते बिहान ११ बजे भक्तपुरकै कौशलटारमा सञ्चालित ‘लाभइ बर्गर एन्ड पिज्जा प्वाइन्ट’ मा बन्यो । 

दुईवटा मोटरसाइकल चढेर चारजना क्रमशः रसाइली, तामाङ, राई र बोहोरा साढे १२ बजे राउतको घरमा पुगे ।

त्यहाँ पुगेर बोहोराले आफूहरू ‘सीआईबीको प्रहरी हौं’ भन्दै प्रहरीको परिचय पत्र देखाए । त्यति मात्रै होइन, सम्पत्ति शुद्धीकरण विभागबाट छापा मार्न आएको भन्दै कागज तयार पार्न खोजेको जस्तो गरे । 

‘तपाईंसँग २ करोड रुपैयाँ छ, दिनुस् । नत्र हामी पक्राउ गरेर लैजान्छौं’ भनेर धम्की दिएपछि राउतले दराजमा रहेको २ करोड रुपैयाँ जिम्मा लगाए । उक्त पैसालाई झोलामा राखेर लुटेरा टोली फरार भयो ।

null

त्यति बेलासम्म राउतले प्रहरीमा जानकारी गराएका थिएनन् । लुटेरा टोली फरार भएपछि उनले आफू लुटिएको जानकारी प्रहरीमा गराए । शुरूमा प्रहरी झस्कियो । 

‘आर्थिक मन्दीका बेला एउटै घरमा २ करोड राखेर को बस्छ भन्दै प्रहरीले घटनालाई सामान्यरूपमा लियो । राउतले म्यानपावरमार्फत विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीमा विदेश पठाउने गरेको सूचना पाएपछि प्रहरी संवेदनशील भयो । 

भक्तपुर प्रहरीसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अनुसन्धानमा खटियो । लुटपाटका घटना अनुसन्धान गर्न ‘अपरेसन ब्राभो डेल्टा’ नाम दिएर दुवै युनिटका प्रहरी लुटेराको खोजीमा खटिए । 

शुरूमा प्रहरीले असार ७ मा रसाइली र तामाङलाई भक्तपुर साँगाभञ्ज्याङबाट पक्राउ गर्‍यो । उनीहरूकै बयानका आधारमा प्रहरीले राई ओखलढुंगाको सिद्धिचरण र बोहोरालाई महाराजगञ्जबाट १० गते नियन्त्रणमा लियो । 

घटना सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भने, ‘हामीले सीसीटीभी फुटेजका आधारमा व्यक्ति पहिचान गरेर खोजतलास अघि बढाएका थियौं, अन्य प्राविधिक पाटो केलाएका थियौं ।’ 

प्रहरीले लुटेरा समूहबाट ३६ लाख ३६ हजार रुपैयाँ बरामद गरेको छ । त्यस्तै लुटपाटमा प्रयोग भएका दुईवटा मोटरसाइकल, खुकुरीलगायतका समान पनि बरामद गरेको छ । 

null

लुटपाट योजनाका मास्टरमाइन्ड ‘मामा’ 

प्रहरी अनुसन्धानमा खुलेअनुसार राउतको घर लुटपाट गर्ने मुख्य योजनाकार उनकै मामा कुलबहादुर खत्री रहेको देखिन्छ ।​ भाञ्जाले म्यानपावरसँगको सेटिङमा वैदेशिक रोजगारीका लागि मानिसहरू युरोप पठाउने गरेको जानकारी खत्रीलाई थियो । 

लुटपाट गर्न जाने अघिल्लो दिन राउतको घरमा तीन करोडभन्दा बढी रकम जम्मा भएको सूचना खत्रीले पाएका थिए । लुटेरा समूह पुग्दा राउतले एक करोडभन्दा बढी रकम त बाहिर पठाइसकेका थिए । बाँकी २ करोड भने घरमै राखेका थिए । 

प्रहरीले राउतसँग शंका लागेको व्यक्तिका बारेमा सोधपुछ गर्दा मामा (खत्री)को नाम बताएका थिए । आफ्नो घरमा पैसा धेरै हुने जानकारी खत्रीबाहेक अन्यलाई नहुने बताएपछि प्रहरी अनुसन्धानको सुई खत्रीतिर तेर्सिएको थियो ।

खत्रीसँग रसाइली, तामाङ र राईको लगातार सम्पर्क भएको देखिन्छ । प्रहरीले शुरूमा रसाइली र तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनै खत्रीको योजनाअनुसार आफूहरू राउतको घरमा लुटपाट गर्न गएको खुलाएका छन् । 

लुटपाटको रकम भने तामाङको गोकर्णेश्वर नगरपालिकास्थित माकलवारीमा रहेको डेरामा भाग लगाइएको थियो । खत्रीले लुटपाट गरेकामध्ये एक करोड रुपैयाँ लिएका थिए । मुख्य योजनाकार खत्री अहिले फरार छन् । प्रहरी उनको खोजीमा छ ।

रसाइली पटके अभियुक्त

पक्राउ पर्नेमध्येका सुजन रसाइली पटके अभियुक्त रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान कार्यालयका अनुसार उनी २०७६ कात्तिक ४ गते सुन जस्तो पहेंलो धातु देखाएर ठगी गरेको कसुरमा पक्राउ परेर छुटेका अभियुक्त हुन् । 

त्यस्तै, गत वर्ष जेठ ११ मा सिन्धुपाल्चोक बाह्रबिसेमा झै–झगडा तथा कुटपिटको घटनामा संलग्न रसाइलीविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलेर छुटेका थिए । 

अनुसन्धान कार्यालयका प्रमुख एसएसपी भट्टराईका अनुसार पक्राउ परेकाहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० चोरी तथा डाँकासम्बन्धी कसुरमा कारबाही हुन्छ, जसको सजाय उपदफा २ को खण्ड (क) र (ख) बमोजिम कसुर भए ७ वर्षदेखि १४ वर्ष कैद र ७० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्