०७ साउन २०८३, बिहीबार

केन्द्रको बाछिटा प्रदेशमाः हनिमुन मनाउन नपाउँदै लुम्बिनीमा माओवादीको ‘एकल शासन’माथि संकट

असार १९, २०८१
बुटवल
केन्द्रको बाछिटा प्रदेशमाः हनिमुन मनाउन नपाउँदै लुम्बिनीमा माओवादीको ‘एकल शासन’माथि संकट

केन्द्रमा ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सत्ता सञ्चालन गर्ने सहमति गरेसँगै लुम्बिनी प्रदेश सरकार हनिमुन मनाउन नपाउँदै संकटमा परेको छ । लुम्बिनीमा ‘एकल शासन’ गरिरहेको जाेखबहादुर महरा नेतृत्वको सरकार १०० दिन पूरा नहुँदै केन्द्र सरकारभन्दा अगाडि नै ढल्ने अवस्था देखिएको हो । लुम्बिनीमा नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री, प्रदेश प्रमुख र सभामुख गरी तीनवटै प्रमुख पद लिएर ‘एकल शासन’ गरिरहेको हाे । अब केन्द्रको बाछिटाले यी पद जाने प्रायः निश्चित छ ।      

२३ चैत २०८० मा माओवादी संसदीय दलका नेताको हैसियतमा सरकार सम्हालेका महरालाई असार ९ गते नै झड्का लागेको थियो । जनता समाजवादी पार्टीकी सांसद अम्बिका काफ्लेले यसअघि आफूले दिएको समर्थन फिर्ता लिएकी थिइन् ।

उनले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र मुख्यमन्त्री कार्यालयमा दर्ता गराएसँगै प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेकी थिइन् । 

null 

माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने विश्वासको मतको सामना गर्ने निर्णय गरेको छ । यस आधारमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ । केन्द्रमा एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरे पनि मन्त्री फिर्ता बोलाएको छैन । सरकारलाई दिएको समर्थन फिर्ता पनि लिएको छैन । बुधवार साँझसम्म फिर्ता लिनसक्ने सम्भावना भने छ । राजीनामा दिएर मार्गप्रशस्त नगरे प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिनुपर्ने छ । ठूला दल कांग्रेस र एमाले मिलेपछि प्रचण्डले सदनबाट विश्वासको मत पाउने सम्भावना छैन । 

यस्तोमा यता लुम्बिनी प्रदेशसभामा ११ सिट मात्र रहेको माओवादीले सदनबाट विश्वासको मत पाउने सम्भावना नै छैन । यसैलाई मध्यनजर गर्दै सहयात्री दलले मुख्यमन्त्री जोखबहादुर महरालाई मार्गप्रशस्त गर्न सुझाव दिइसकेका छन् । 

यता एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले लुम्बिनीमा नयाँ सरकार गठनबारे कांग्रेससँग अनौपचारिक छलफल चलिरहेको बताए । ‘केन्द्रले निर्देशन कुरेर बसेका छौं,’ उनले भने, ‘हामीले चुस्त सरकार बनाएर जनताका मुद्दालाई सम्बोधन गर्ने गरी काम गर्ने मोडालिटी बनाएर अगाडि बढ्ने सोच बनाएका छौं । लुम्बिनीको नेतृत्व एमालेले गर्ने कुरा आएको छ ।’ 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्यजय तिमिल्सेनाले पनि सरकार गठनका लागि छलफलमा जुट्ने तयारीमा रहेको बताए । उनले प्रदेशमा धेरै मन्त्रालय रहेकाले त्यसलाई घटाउनुपर्नेमा जोड दिए । अहिले लुम्बिनीमा १२ मन्त्रालय छन् । त्यसलाई घटाएर १० भन्दा तल झार्ने उनले संकेत गरे । 

अर्कोतिर कांग्रेसकी सचेतक निमा गिरीले भने फरक धारणा राखिन् । केन्द्रमा सत्ता परिवर्तन हुँदा त्यसले प्रदेशमा ल्याउने हलचल अन्त्यको वातावरण बनाउनुपर्ने कांग्रेस सचेतक निमा गिरीले बताइन् । ‘केन्द्रमा पानी पर्दा प्रदेशमा छाता कहिलेसम्म ओढिरहने ? त्यस्तो अवस्था अन्त्य हुनुपर्छ । नत्र प्रदेशको महत्व घट्छ,’ उनले भनिन् । संघमा भइरहने सत्ता फेरबदलबाट प्रदेश अलग रहनुपर्नेमा त्यसो हुन नसकेको गिरीले गुनासो गरिन् । केन्द्रमा पानी पर्दा प्रदेशले छाता ओढ्नुपर्ने अवस्था अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘संघले छाता ओढाएर चुनाव लड्दासम्म यस्तै रहन्छ । केन्द्र र प्रदेशको छुट्टाछुट्टै चुनाव भए प्रदेशको महत्व बढ्छ । नभएसम्म सधैँ यस्तै हो,’ उनले भनिन् । 

लुम्बिनीमा ८७ सदस्यीय प्रदेशसभा छ । अब बन्ने कांग्रेस–एमाले गठबन्धनलाई झण्डै दुई–तिहाई बहुमत पुग्नेछ । प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिका ४–४, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, जसपाका २, जसपा नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का १–१ जना सांसद छन् । 

लुम्बिनीमा ११ राजनीतिक दलको प्रतिनिधित्व छ । लुम्बिनीमा आम निर्वाचन २०७९ पछि तीनवटा सरकार बनिसकेका छन् । अब चौथो सरकारको कसरत भइरहेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्