
मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई नियुक्ति गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
करिब २० वर्षभन्दा बढी समय बैंकिङ्ग क्षेत्रमा बिताएका उनले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए ।
नेपालमा उनी एक बैंकिङ्ग विज्ञको रूपमा परिचित छन् । साथै उनले विभिन्न निकायहरूमा नीतिगत परामर्शदाताको रूपमा कार्य गर्दै आएका छन् ।
उनले पोखरा विश्वविद्यालयबाट व्यापार प्रशासन विषयमा स्नातकोत्तर गरेका छन् ।
'नेपालमै टिक्न, सजिलो छ' भन्ने नाराको साथ बैंकले साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।