
सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले दिएको समयसीमा अनुसार आज साँझ ५ बजेभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने छ ।
सुदूरपश्चिममा पनि केन्द्रकै समीकरणअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदै छन् । जसअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ । संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन गर्ने तयारी कांग्रेसले गरेको छ ।
पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहलाई पुनः मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि मुख्यमन्त्रीका अन्य आकांक्षी पछि हटेका छन् ।
स्रोतका अनुसार उनीबाहेक मुख्यमन्त्रीमा आकांक्षा देखाएका कांग्रेसकै बहादुरसिंह थापा, दिवानसिंह विष्ट र पार्टी सभापति देउवाका भतिजसमेत रहेका प्रकाशबहादुर देउवाले पनि शाहका नाममा सहमति जनाइसकेका छन् ।
यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन । आज बिहान ११ बजे संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरिने बताइएको छ । एमाले र कांग्रेसको आज बस्ने बैठकले मन्त्रीको समेत टुङ्गो लगाउने छ ।
५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ । सरकार गठनका लागि कांग्रेस र एमालेसँग नै स्ष्ट बहुमत छ । कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । शाह नेतृत्वको सरकारलाई प्रदेशसभामा ७ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । यस्तो भएमा शाह नेतृत्वको सरकार थप बलियो हुनेछ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रवार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आइतवार साँझ ५ बजेसम्मका लागि समयसीमा तोकेका थिए ।
प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । शाहले यसअघि धारा ३ अनुसार संसदीय दलमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेर १४ महिना सरकार सञ्चालन गरेका थिए । अहिले भने उनी एमालेको समर्थनमा धारा २ अन्तर्गत मुख्यमन्त्री बन्दैछन् ।