०९ साउन २०८३, शनिबार
सुदूरमा नयाँ सरकारको तयारी

सुदूरपश्चिममा नयाँ सरकार गठन हुँदै, कांग्रेसका शाहलाई मुख्यमन्त्री बनाउने तयारी

साउन २०, २०८१
धनगढी
सुदूरपश्चिममा नयाँ सरकार गठन हुँदै, कांग्रेसका शाहलाई मुख्यमन्त्री बनाउने तयारी

सुदूरपश्चिम प्रदेशमा आज (आइतवार) नयाँ सरकार गठन हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले दिएको समयसीमा अनुसार आज साँझ ५ बजेभित्र नयाँ सरकार गठन गरिसक्नुपर्ने छ । 

सुदूरपश्चिममा पनि केन्द्रकै समीकरणअनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदै छन् । जसअनुसार सुदूरपश्चिम कांग्रेसको भागमा परेको छ । संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन गर्ने तयारी कांग्रेसले गरेको छ । 

पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहलाई पुनः मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवाले निर्देशन दिएपछि मुख्यमन्त्रीका अन्य आकांक्षी पछि हटेका छन् । 

स्रोतका अनुसार उनीबाहेक मुख्यमन्त्रीमा आकांक्षा देखाएका कांग्रेसकै बहादुरसिंह थापा, दिवानसिंह विष्ट र पार्टी सभापति देउवाका भतिजसमेत रहेका प्रकाशबहादुर देउवाले पनि शाहका नाममा सहमति जनाइसकेका छन् ।

यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन । आज बिहान ११ बजे संसदीय दलको बैठकबाट औपचारिक निर्णय गरिने बताइएको छ । एमाले र कांग्रेसको आज बस्ने बैठकले मन्त्रीको समेत टुङ्गो लगाउने छ ।

५३ जना सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ । सरकार गठनका लागि कांग्रेस र एमालेसँग नै स्ष्ट बहुमत छ ।  कांग्रेसका १८ र एमालेका ११ सांसद छन्  । शाह नेतृत्वको सरकारलाई प्रदेशसभामा ७ सदस्य रहेको नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ । यस्तो भएमा शाह नेतृत्वको सरकार थप बलियो हुनेछ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रवार राजीनामा दिएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख मियाँले आइतवार साँझ ५ बजेसम्मका लागि समयसीमा तोकेका थिए ।

प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । शाहले यसअघि धारा ३ अनुसार संसदीय दलमा सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेर १४ महिना सरकार सञ्चालन गरेका थिए । अहिले भने उनी एमालेको समर्थनमा धारा २ अन्तर्गत मुख्यमन्त्री बन्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्