०४ साउन २०८३, सोमबार

चामलको मूल्यमा एकाएक वृद्धि, 'सर्टेज' हुने कृत्रिम हल्ला

साउन ३०, २०८१
काठमाडौं
चामलको मूल्यमा एकाएक वृद्धि, 'सर्टेज' हुने कृत्रिम हल्ला
फाइल फोटो

गत असार ३१ गतेसम्म प्रतिबोरा २०५० देखि २२५० पर्ने जीरा मसिना चामल साउन महिनादेखि २३५० देखि २५५० सम्म पुग्यो । प्रतिबोरा १६५० रुपैयाँदेखि १७५० रुपैयाँ पर्ने सोना मन्सुली चामल १८५० देखि १९०० रुपैयाँ सम्म पुग्यो र प्रतिबोरा २४५० देखि २६५० रुपैयाँ पर्ने लङ ग्रेन चामल २८०० देखि २९०० रुपैयाँ पुग्यो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार साउनदेखि सबै चामलको मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, खुद्रा व्यापारीहरूले भने आ-आफ्नो मूल्य राखेर बेचिरहेका छन् । माथि उल्लेख गरिएको मूल्यअनुसार साउनमा १०० देखि २०० रुपैयाँ प्रतिबोरा बढेको भनिए तापनि व्यापारीहरूले भने आफ्नै शैलीमा २०० देखि ४०० रुपैयाँले मूल्य बढाएका छन् ।

असारमा प्रतिबोरा २१५० रुपैयाँ खरिद गरेको जीरा मसिना चामल साउनमा २४५० रुपैयाँमा खरिद गरेको कोटेश्वारबासी मणिराम भण्डारी बताउँछन् । भण्डारीका अनुसार प्रतिबोरा चामलको मूल्य २०० देखि ४०० सम्मले बढेको छ ।

भण्डारीले भने, ‘असारको पहिलो हप्तामा २१५० रुपैयाँ प्रतिबोरा खरिद गरेको जीरा मसिना चामल दुई दिनअघि मात्रै २४५० रुपैयाँमा खरिद गरें । यति महँगो कसरी भयो भन्दा भन्सारबाटै बढेर आएको भन्ने जवाफ पाएँ ।’

चालू आर्थिक वर्षको बजेटपछि नेपाल चामल, तेल, दाल उद्योग संघले पत्रकार सम्मेलन गर्दै १० प्रतिशतको अग्रिम करले उपभोक्ता मारमा पर्ने जनाएको थियो । त्यसलगत्तै एक महिनासम्म महँगाइबारे उपभोत्तालई अत्तोपत्तो भएन ।

तर, जब साउन १ गतेदेखि आर्थिक विधेयक लागू भयो, एकाएक चामलको मूल्यमा वृद्धि भएको उपभोक्ताले महसुस गरे । अहिले बाहिरबाट नेपाल भित्रिने खाद्यान्नको मूल्यमा १० प्रतिशतसम्मको वृद्धि भएको छ ।

सरकारले कच्चा दाल र गेडागुडीमा १० प्रतिशत र धानमा अग्रिम २ दशमलव ५ प्रतिशतको आयात कर लिने नीति लिएकाले चामलको मूल्य बढेको नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चामल मात्रै नभएर अन्य खाद्यान्नमा पनि करिब १० प्रतिशतसम्मको मूल्यवृद्धि भएको छ ।

यता बिनाकुनै कारण निश्चित समूहले चामलको मूल्य एकाएक बढाएको नेपाल खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्यको आरोप छन् । उनका अनुसार नेपालभित्रै उत्पादन हुने चामल पनि भन्सार शूल्कको बहानामा देखाएर छ । 

अध्यक्ष बज्राचार्य भन्छन्, ‘चामलको मूल्य त्यत्तिकै बढाइएको छ । निश्चित समूहले मिलेर बढाएका हुन् । नेपालभित्रै उत्पादन हुने चामललाई पनि भन्सार शूल्क बढ्यो भनेर मूल्य बढाइएको छ । यो स्वाभाविक रूपमा बढेको मूल्य होइन ।’

यसरी बजार र ठाउँअनुसार चामलको मूल्य बढिरहेको छ । यससँगै चामलको मूल्य बढेकाले बजारमा चामल अभाव हुने पनि हल्ला फ़ैल्याइएको आरोप सरोकारवालाहरूले लगाएका छन् ।

के बजारमा साँच्चिकै चामल अभाव भएको हो ?

बजारमा चामलको कुनै अभाव नभएको र पर्याप्त आपूर्ति रहेको वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको भनाइ छ । उनका अनुसार असारदेखि चामलको मूल्य करिब १० प्रतिशतले बढेको छ । तर, मागअनुसारको आपूर्ति भइरहेकै छ ।

महानिर्देशक पौडेलले भने, ‘भारले नेपाललाई ९५ हजार मेट्रिक टन चामल आयातको कोटा दिएको छ । जसमा अहिले २० कम्पनीलाई ६५ हजार मेट्रिकटन चामल आयातका लागि प्रक्रिया अगाडि बढाइएको छ । अहिले पनि नेपालमा चामलको अभाव छैन । मागअनुसारको आपूर्ति भइरहेकै छ ।'

salt training

कमेन्ट गर्नुहोस्