
वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले जोखिम मोलेर भिजिटमा तेस्रो मुलुक जाने क्रम बढेको बताएका छन् । सरकारले कामदार माग पत्र प्रमाणीकरण नगर्दा जोखिम मोलेर भिजिटमा तेस्रो मुलुक जाने क्रम बढेको उनले बताए ।
शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष भण्डारीले यस्तो दाबी गरेका हुन् ।
'अहिले गल्फ कन्ट्रीहरूबाट आउने कामदार माग पत्रको मात्रै प्रमाणीकरण भइरहेको छ । जापान, इजरायलजस्ता देशहरूमा कामदारको माग आइरहेको छ । तर प्रमाणीकरण हुन सकेको छैन । ९/१० महिनादेखि कामदार माग पत्र प्रमाणीकरण नहुँदा युवाहरू जोखिम मोलेर भिजिटमा तेस्रो मुलुकबाट कामका लागि जाने क्रम बढेको छ,' उनले भने, 'कसरी कामदार जापान पुगे प्रश्न उठ्छ ? त्यो सरासर सरकारले कामदार माग पत्र प्रमाणीकरण नगर्दा तेस्रो मुलुकबाट गइरहेका छन् ।'
वैदेशिक रोजगारमा जानेको लागतका विषयमा पनि कुनै निश्चितता नदेखिएको अध्यक्ष भण्डारीले बताए ।
भण्डारीका अनुसार शून्य लागतमा वैदेशिक रोजगारीमा जानेहरूको कुनै लागत निश्चित छैन ।
'अहिलेसम्म शून्य लागतमा वैदेशिक रोजगारमा जाने मान्छे पूर्णरूपमा शून्य लागतमा गएका छैनन् । नत कुनै १० हजार २० हजारमा गएका छन् । त्यसैले सेवा शुल्कसहित लागत निर्धारण गर्नुपर्छ,' उनले भने ।