१० साउन २०८३, आइतबार
काठमाडौं धाउने खर्च

कोशीका मुख्यमन्त्रीले ३ वर्षभित्र प्लेन टिकटमै उडाए ३५ लाख, भ्रमण भत्तामा २१ लाख झ्वाम

भदौ ३, २०८१
विराटनगर
कोशीका मुख्यमन्त्रीले ३ वर्षभित्र प्लेन टिकटमै उडाए ३५ लाख, भ्रमण भत्तामा २१ लाख झ्वाम
तस्वीरमा माथिबाट क्रमश: शेरधन, भीम, राजेन्द्र, हिक्मत, उद्धव र केदार

कोशी प्रदेशका हालसम्मका मुख्यमन्त्रीले आफ्नो घर र संघीय राजधानी काठमाडौं धाउन ३ वर्ष (आव २०७८/०७९ देखि हालसम्म) हवाई टिकटमा मात्र करिब ३५ लाख रुपैयाँ खर्च गरेको पाइएको छ ।

यस अवधिमा मुख्यमन्त्री बनेका ६ जना र उनीहरूको सचिवालयले बुझेको हवाई टिकट तथा दैनिक भ्रमण भत्ता जोड्दा कुल खर्च झण्डै ५६ लाख रुपैयाँ पुग्छ ।

प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले हवाई टिकटमा १ लाख ९५ हजार ६३५ रुपैयाँ खर्च गरेको देखिन्छ । दैनिक भ्रमण भत्तामा उनले २७ हजार बुझ्दा उनको सचिवालयले १ लाख २२ हजार ६४८ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

राई २०७४ फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएर २०७८ भदौ १० गते बिदा भएका थिए । तत्कालीन नेकपा एमालेको विभाजन रोक्ने प्रयासस्वरूप पार्टीले उनलाई राजीनामा गर्न लगाएको थियो । 

साढे ३ वर्ष प्रदेश सरकारको नेतृत्व गरेका राईले हवाई भाडा र दैनिक भ्रमण भत्ता गरेर ३ लाख ४५ हजार २८३ रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयको तथ्यांकमा उल्लेख छ ।

एमालेबाटै छोटो समयका लागि मुख्यमन्त्री बनेका भीम आचार्यले ६६ दिन मात्र सरकारको नेतृत्व गरे ।

उनले दैनिक भ्रमण भत्ताबापत ४० हजार ५४० रुपैयाँ बुझ्दा सचिवालयले भने ७४ हजार ७ सय रुपैयाँ बुझेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी दिनेश ढुंगानाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।

एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले २०७८ कात्तिक १६ गते प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएका थिए । उनी २०७८ भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

त्यसपछि राजेन्द्र राई मुख्यमन्त्री बने । एमालेबाट फुटेर बनको नेकपा एकीकृत समाजवादीका १० सांसदको बलमा राईलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री बनाएका थिए । 

तत्कालीन अवस्थामा एमालेको विभाजनले मात्र कोशीमा अर्को सरकार सम्भव भएको थियो । २०७८ कात्तिक १६ गते मुख्यमन्त्री बनेका राजेन्द्र २०७९ पुस २५ गतेसम्म पदमा बहाल रहे । 

null

त्यस अवधिमा उनले १ लाख ४१ हजार ९०५ रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका छन् । साथै, हवाई टिकटमा उनले ३ लाख ४३ हजार ३७६ रुपैयाँ बुझेको तथ्यांकमा उल्लेख छ ।

उनको सचिवालयले भने दैनिक भ्रमण भत्ताका नाममा मात्र ५ लाख ९३ हजार रूपैयाँ बुझेको देखिन्छ । मुख्यमन्त्री र सचिवालयको भ्रमण भत्ता र हवाई टिकटका लागि आर्थिक वर्ष २०७८/७९ मा कुल १० लाख ७८ हजार २८१ रुपैयाँ खर्च भएको छ ।

त्यसपछि आव २०७९/०८० मा उनले हवाई टिकटमा ५ लाख ७६ हजार ३८० सहित कुल २० लाख ६० हजार २६९ रुपैयाँ खर्चिएका छन् । राजेन्द्र चुनाव गराएर नयाँ सरकार आएपछि बिदा भएका थिए ।

प्रदेश सभाको दोस्रो कार्यकालमा राजनीतिक अस्थिरता चरमचुलीमा छ । सरकार निर्माणका लागि संविधानका हरेक उपधाराको प्रयोग भइसकेको छ ।

प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री हिक्मतकुमार कार्की हुन् । २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका कार्की २०८० साउन १६ गतेसम्म पदमा बहाल रहे ।

२०७९/८० मा  कार्कीले हवाई भाडामा ४ लाख ७६ हजार ५७५ रुपैयाँ खर्च गरेका छन् । उनको सचिवालयले दैनिक भ्रमण भत्ताबापत १ लाख २३ हजार ४७० रुपैयाँ बुझेको देखिन्छ । कुल खर्च ६ लाख ४५ रुपैयाँ भएको छ ।

२०८०/०८१ देखि हालसम्म कार्कीले हवाई टिकटमा ६ लाख १६ हजार ७६० सहित कुल ७ लाख ३९ हजार २५४ रुपैयाँ खर्च गरिसकेका छन् । यो दुवै जोड्दा उनले गरेको खर्च १३ लाख ३९ हजार २९९ पुग्छ ।

हिक्मत बहालवाला मुख्यमन्त्री पनि हुन् । यसबीचमा ३६ दिन मात्रै मुख्यमन्त्री बनेका उद्धव थापाले भ्रमण भत्ताबापत २७ हजार बुझेका छन् ।

उनको सचिवालयले भने २ हजार बुझेको छ । हवाई टिकटमा ८८ हजार ३० बुझ्दा कुल खर्च १ लाख १७ हजार ३० रुपैयाँ भएको छ ।

तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनेका थापालाई सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । २०८० साउन १७ गते मुख्यमन्त्री भएका थापा भदौ ५ गते बिदा भएका थिए ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका केदार कार्कीले १ लाख ५९ हजार ७५० रुपैयाँ दैनिक भ्रमण भत्ता बुझेका थिए । उनको सचिवालयले २ लाख ४८ हजार ५४९ रुपैयाँ बुझेको तथ्यांक छ । कार्कीले हवाई टिकटमा खर्च गरेको १० लाख ४८ हजार २६० रुपैयाँ समेत जोड्दा कुल खर्च १४ लाख ५६ हजार ५५९ पुग्छ ।

६ मुख्यमन्त्री र तिनका सचिवालयले बुझेको भ्रमण भत्ता र हवाई टिकटको शुल्क जोड्दा कुल ५५ लाख ७९ हजार ५७५ रुपैयाँ पुग्छ । त्यसमध्ये हवाई टिकटमा ३४ लाख ९० हजार ९११ र दैनिक भ्रमण भत्तामा २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको देखिन्छ ।

‘मुख्यमन्त्रीहरूले पार्टीको बैठकका लागि काठमाडौं गएकोदेखि घर गएकोसम्मका हवाई टिकट ल्याएर दिनुहुन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘सचिवालयका नाममा भएको खर्च पनि अधिकांश मुख्यमन्त्रीहरूकै हो ।’

हेर्नुहोस्, तथ्यांक :

null

salt training

कमेन्ट गर्नुहोस्