
परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको महत्त्वले राजनीतिक वृत्त गर्माएको छ । सत्ता पक्षले परराष्ट्र मन्त्रीले भारत भ्रमणमा पाएको प्राथमिकतालाई बलियो सरकारको उपजका रूपमा व्याख्या गरेको छ भने प्रतिपक्षले यसैकारण कांग्रेस–एमालेबीच फाटो आउन सक्ने चर्चा गर्न थालेका छन् ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगार्ईंले परराष्ट्र मन्त्रीलाई भारतले महत्त्व दिनुलाई जिम्मेवार दलहरूले चलाएको सरकारप्रतिको विश्वासका रूपमा हेरिएको बताए ।
‘योभन्दा अगाडिका सरकार कतिबेला कुन बाटो हिँड्छ भन्ने थाहा थिएन । दुई दिन आउने, मान्छेको ध्यान तान्ने, चटक गर्ने झिल्के सरकार थिए, त्यसैले भारतले महत्त्व दिएको थिएन,’ बजगाईंले लोकान्तरसँग भने, ‘यसपटक राजनीतिक स्थायित्व दिनैका लागि दुई जिम्मेवार दलले सरकार चलाएका छन् । प्रस्ट कार्ययोजना बोकेर सरकारमा बसेका छन् । यसैले जिम्मेवारी बोकेका दलको सरकारलाई भारतले महत्त्व दिएको हो । महत्त्व पाउनु राम्रो हो ।’
भारतले मात्रै होइन, अन्य देशले पनि यसैगरी महत्त्व दिएको उनले बताए ।
प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा समेत कूटनीतिक तहमा कुराकानी भएको र परराष्ट्र मन्त्री आएपछि थप कुरा हुने उनले बताए । ‘कूटनीतिक तहमा कुराकानी भइरहेको छ,’ बजगाईंले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण पनि केही समयमै हुनेछ ।’
परराष्ट्रमन्त्रीको भ्रमण टोलीका २ सदस्यको नाम प्रधानमन्त्रीले काटेको विषयलाई लिएर पनि विभिन्न टीकाटिप्पणी भइरहेको छ । तर, प्रधानमन्त्रीनिकट स्रोत भने मितव्ययिताका लागि यसो गरिएको बताउँछ ।
‘यो सरकार बनेकै राम्रो कामका लागि हो । अत्यावश्यकबाहेक विदेश नजाने, आचारसंहितामा बस्ने, खर्चमा मितव्ययी बन्ने हाम्रो मान्यता छ,’ उक्त स्रोतले लोकान्तरसँग भन्यो, ‘यसैले परराष्ट्र मन्त्रीले प्रस्ताव गरेको टीमबाट केही नाम हटाएर सकारात्मक सन्देश दिऊँ भन्ने भएको हो । प्रधानमन्त्री कसरी हुन्छ, नतिजा दिने प्रयासमा हुनुहुन्छ ।’
एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि दुवै देशमा नयाँ सरकार आएकाले एक अर्कालाई प्राथमिकता दिएर अगाडि बढ्नु स्वाभाविक भएको बताउँछन् ।
'नेपालमा समीकरण परिवर्तन भएर नयाँ सरकार गठन भएको र भारतमा निर्वाचनमार्फत नयाँ सरकार आएको अवस्था छ,’ लोकान्तरसँगको अन्तर्वार्तामा ज्ञवालीले भनेका थिए, ‘दुवै एकअर्काका प्राथमिकता बुझेर त्यहीअनुसार सम्बन्ध अघि बढाउने रणनीतिमा छन् ।’
प्रचण्डले बढाइदिएको आशंका
बुधबार पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परराष्ट्र मन्त्री आरजुले भारतमा पाएको महत्त्वबाट एमाले सशंकित भएको टिप्पणी गरेका थिए । बागमती प्रदेश परामर्श समितिको बैठकमा प्रचण्डले प्रधानमन्त्रीलाई भन्दा आरजुलाई भारतले बढी महत्त्व दिएको बताएका हुन् ।
‘परराष्ट्रमन्त्रीको भारत भ्रमण प्रधानमन्त्रीको इच्छाअनुसार हो । तर, भारतले परराष्ट्र मन्त्रीलाई नै प्रधानमन्त्रीसरहको महत्त्व दियो भन्ने अध्यक्षको आशय थियो,’ माओवादीका एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न जाने परराष्ट्र मन्त्रीले पाएको महत्त्वले एमाले असन्तुष्ट देखिने स्थिति बनेकोप्रति अध्यक्षको संकेत थियो ।’
तर, प्रधानमन्त्रीका प्रेस संयोजक बजगाईं यसलाई सत्ता छाड्नुपर्दाको छटपटी मान्छन् ।
‘प्रधानमन्त्री प्रचण्ड हुनु र केपी ओली हुनुको फरक नै यही हो । हिजो प्रचण्ड प्रधानमन्त्री हुँदा उनका परराष्ट्रमन्त्रीले कति भाउ पाए ? यहाँ आशंकाको नजरले हेर्नुपर्ने कारण नै छैन । यो सत्ता नहुँदाको छटपटी हो,’ उनले भने, ‘एमाले सशंकित भएको एमालेले पहिला थाहा पाउँछ कि प्रचण्डले थाहा पाउँछन् ? एमाले सशंकित छैन । परराष्ट्र मन्त्रीको भ्रमणले पाएको महत्त्वलाई प्रधानमन्त्रीले आफ्नो सरकारलाई दिएको सम्मानका रूपमा हेर्नुभएको छ ।’
आरजुले यसरी पाइन् प्राथमिकता
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणलगत्तै आरजु भारत गएकी थिइन् । कम तयारी र जुनियर टीम लिएर आरजु भारत पुगिन् । तर, भारतीय प्रधानमन्त्रीले व्यस्त तालिकाबीच प्रभावशाली टीमसहित आरजुलाई शिष्टाचार भेट दिए । समकक्षी एस जयशंकरसँग दुईपक्षीय वार्तालगत्तै प्रधानमन्त्री मोदीसँग उनको शिष्टाचार भेट भयो ।
भेटपछि ट्वीट गर्दै मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध तथा प्रगतिशील र बहुआयामिक साझेदारी रहेको भन्दै विकास साझेदारीमा निरन्तर लागिरहने बताए । आरजुले पनि नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहेको भन्दै दुई देशबीचको सम्बन्ध अझै राम्रो भएर जाने बताइन् ।

आरजुसँगको भेटलाई मोदीले कति महत्त्व दिएका थिए भन्ने उनले आफूसँग राखेको टीमले पनि देखाउँछ ।
भारतबाट प्रभावशाली टीम सहभागी भए पनि नेपालका तर्फबाट जुनियर कूटनीतिक कर्मचारी मात्र सहभागी थिए । भारतीय पक्षबाट मोदीका अलावा विदेशमन्त्री जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री, मोदीका निजी सचिव पीके मिश्र र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटमा सहभागी थिए ।
आरजुको टीममा भने परराष्ट्र मन्त्रालयका सहसचिव र उपसचिवलगायत कर्मचारी मात्र थिए । नेपालका तर्फबाट राणासँगै मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख भृगु ढुंगाना, कार्यवाहक राजदूत सुरेन्द्र थापा र नेपाली राजदूतावासकी मिनिस्टर काउन्सिल द्रुपदा सापकोटा सहभागी भएका थिए । सापकोटा उपसचिवस्तरकी कर्मचारी हुन् ।
भारतका लागि नेपाली पूर्व राजदूत एवं कांग्रेस नेता दीपकुमार उपाध्याय महत्त्व पाएर पनि यसलाई उपयोग गर्न नसकिएको बताउँछन् । भेटका क्रममा भारतबाट प्रभावशाली कूटनीतिज्ञको उपस्थिति हुँदा नेपालको टीम कमजोर देखिनु विडम्बनाको विषय भएको उनको भनाइ छ ।
‘प्रधानमन्त्रीसहित भारतीय टोली कति बलियो थियो भनेर उनीहरूले फोटोबाटै देखाए, तर हामीलाई छनकसम्म दिएनन्,’ उपाध्याय भन्छन्, ‘प्रधानमन्त्रीसँग यो स्तरको भेट हुन्छ भनेर उनीहरूले पहिले नै भन्दिनुपर्थ्यो । नेपालले पनि त्यो अनुसारको तयारी गर्नुपर्थ्यो । यो महत्त्व पाउने, तर नतिजा नआउने खालको भेट भयो ।’
दुईपक्षीय वार्ता गरेर मेचीदेखि महाकालीसम्म पानीको प्राकृतिक बहावमा भारतीय अवरोध तथा सीमा समस्याको विषय टुंग्याउनुपर्ने उनको मत छ ।
‘सीमामा पानीको प्राकृतिक बहाव रोक्न पाइँदैन भन्ने अन्तर्राष्ट्रिय नियम छन्, तर महत्त्व पाएको आधारमा मात्र बैठक भएर यस्ता विषयमा छलफल हुँदैन, कुरा उठाउन पाउने अवस्था बनेको छैन,’ उनी भन्छन्, ‘पानीको फाइदा पनि छन्, तर यसले दुवै देशमा विध्वंश मच्चाएको छ । समाधान निकाल्नुपर्छ । सीमा समस्याबारे पनि छलफलबाट भाग्नुहुँदैन । मित्रता र इतिहास छ भनेर हुँदैन, हाम्रा उत्पादन लिन बहाना देखाउने व्यवहार पनि भारतले सच्याउनुपर्छ ।’
यसअघि कांग्रेस र एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने अन्य परराष्ट्रमन्त्रीहरू समेत भारत गए पनि यस किसिमको महत्त्व पाएका थिएनन् । कि भ्रमण नै नहुने, भए पनि प्रधानमन्त्रीसँग भेट नहुने वा १/२ दिन कुर्नुपर्ने स्थिति थियो । तर, यसपटक मोदीले आफ्नो व्यस्तताका बावजुद महत्त्व दिएरै आरजुलाई भेट दिनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
पछिल्लो निर्वाचनमा मोदीको दल भाजपा कमजोर देखिएको र केही समयअगाडि बंगलादेशमा शेख हसिनाको सत्ता गुमेपछि मोदीले छिमेकीसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको चर्चा पनि कूटनीतिक वृत्तमा गरिएको छ । यही तनावपछि मोदीलाई छिमेकीसँग सौहार्द सम्बन्ध बनाएर अगाडि बढ्न दबाब परेको चर्चा समेत भइरहेको छ ।
भारतबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री, विदेशमन्त्री लगायतसँगको भेटमा २ देशको सम्बन्धलाई थप सुदृढ बनाउनेसहितका विषयमा कुराकानी भएको जानकारी दिइन् ।
आरजुले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्रीलाई शुभकामना प्रवाह गर्नुका साथै नेपाल भ्रमणको औपचारिक निमन्त्रणा समेत हस्तान्तरण गरेको पनि बताइन् ।
‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा मैले शिष्टाचार भेट गरेँ। सो अवसरमा नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने विचार आदानप्रदान भयो,’ आरजुले भनिन्, ‘भेटका बखत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई व्यक्त गर्नुभएको न्यानो अभिवादन तथा शुभकामना प्रवाह गर्नुका साथै नेपालको राजकीय भ्रमणका लागि दिनुभएको निमन्त्रणा पत्र औपचारिक रूपमा हस्तान्तरण गरें ।’
व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा, पूर्वाधार लगायतका विषयमा भारतसँग कुराकानी भएको उनले बताइन् ।