०८ साउन २०८३, शुक्रबार
अघि बढ्यो लुम्बिनीको 'ड्रिम प्रोजेक्ट'

बुटवलमा ‘गेम चेन्जर’ आयोजनाको शिलान्यास, पाँच वर्षमा १२ सय शय्याको अस्पताल बन्ने

भदौ १५, २०८१
बुटवल
बुटवलमा ‘गेम चेन्जर’ आयोजनाको शिलान्यास, पाँच वर्षमा १२ सय शय्याको अस्पताल बन्ने

रूपन्देहीको बुटवलमा देशकै ठूलो र सुविधासम्पन्न अस्पताल निर्माण शुरू भएको छ । पश्चिम क्षेत्रमा उपचारको प्रमुख गन्तव्य बुटवलमा १२ सय शय्याको १२ तले अस्पताल भवन निर्माणको शनिबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले  शिलन्यास गरेका हुन् । 

null

शनिबार शिलन्यास भए पनि अस्पताल निर्माणको काम गएको माघदेखि नै अघि बढेको थियो । राणाप्रधानमन्त्री चन्द्र शमशेरको पालामा वि.सं १९६७ सालमा ६ बेडबाट शुरूआत भएको अस्पताल अहिले नारायणी पश्चिमको स्वास्थ्य क्षेत्रमा ‘गेम चेन्जर’ परियोजना हुने अपेक्षा गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा अघि बढाइएको अस्पताल भवन देशकै सरकारी अस्पतालहरूमध्ये सबैभन्दा अग्लो र ठूलो हुनेछ ।  पश्चिम नेपालका नागरिकले उपचारका लागि धाउने प्रादेशिक अस्पतालमा जनशक्तिको अभाव, सरोकारवालाको बेवास्ता र उपचारमा ढिलासुस्तीले बिरामी र आफन्तले भोग्दै आएको सास्ती सुविधासम्पन्न अस्पताल भवन निर्माणपछि अन्त्य हुने अपेक्षा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल बनेपछि देशकै नमूनाको रूपमा विशेषज्ञ अस्पतालमा परिणत हुने बताए ।  

११५ वर्ष पुरानो अस्पताल २०२४ मा ५० शय्यामा स्तरउन्नति भएको थियो । २०५० सालमा १०० शय्यामा विस्तार भएको अस्पतालमा २०७२ सालबाट सरकारबाट ३०० र विकास समितिबाट १०० गरी ४०० बेडमा स्तरोन्नति भएको थियो । अहिले ५२४ बेडमा बिरामीको उपचार भइरहेको छ । प्रादेशिक अस्पतालले लुम्बिनी, गण्डकी, सुदूरपश्चिम प्रदेश र सीमावर्ती भारतीय क्षेत्रकागरी करिब ५० लाख नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको रेकर्डमा उल्लेख छ । 

null

बहुउपचारीय ‘गेम चेन्जर’ र रणनीतिक महत्त्वको परियोजना भएकाले निर्माणको काम तीव्र गतिमा अगाडि अस्पतालका डा. तथा पूर्वमेडिकल सुपरीटेन्डन डा. इन्द्र ढकालले बताए । अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउण्डसहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्डसहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्नेछ । 

गुरूयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रूपैयाँ बराबरको लागत अनुमान गरिएको थियो । तर, निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाख रुपैयाँमा पाँच वर्षमा निर्माण सक्नेगरी हालै (पुस २६ गते) ठेक्का सम्झौता गरेको छ ।

अहिले पहिलो चरणमा अस्पतालको सबैभन्दा पुराना भवन र संरचनाहरू हटाइने छ । अस्पताल निर्माण सम्झौता भएको पाँच वर्ष (वि.सं.२०८५ साल पुस)मा निर्माण सक्नेगरी भवन निर्माणको सम्झौता भएको छ । लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको परिकल्पना अनुसार अस्पताल निर्माण अघि बढेको हो । 

बुटवल उपमहानगरपालिका– ९ मा रहेको ६ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इञ्जिनीयर छविराज पोखरेलले जानकारी दिए । हालको ३०० (सीमितबाट थप भएकासमेत गरी ५००) शय्याको अस्पताललाई विस्तारगरी न्यूनतम् १ हजार २०० शय्याको क्षेत्रीय बहुअनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको पोखरेलको भनाइ छ । 

निर्माणको काममा निगरानी आवश्यक
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजना सम्पन्न गर्न जनस्तरबाट निगरानी गर्नुपर्ने बताएका छन् । विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्ने उनले बताए । उनले विकास निर्माणमा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने बताए । 

null

समयमै काम सकेर स्याबासी कमाउन प्रदेश सरकार, प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह उनले गरे । ‘छिटो सक्ने नाममा गुणस्तरमा सम्झौता हुन सक्दैन, गुणस्तरीय काम गरेर समयमै सक्नेगरी अगाडि बढ्नुपर्छ,’ उनले भने । तीन वर्षमा सक्छु भनेको काम नसकेर पछुताउने अवस्था नआओस् भन्दै भनेकै अवधिमा काम पूरा हुने उनले विश्वास गरे ।

प्रदेशवासीका लागि गौरवको क्षणः मुख्यमन्त्री आचार्य 
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको बताए । लुम्बिनी प्रादेशिक अस्पताल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशबासीका लागि गौरवपूर्ण क्षण भएको बताए । 

प्रादेशिक अस्पताल निर्माणको प्रक्रिया २०७६ सालबाट शुरू भएको जानकारी दिँदै उनले प्रदेशका नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न प्रदेश सरकार दृढ रहेको बताए ।

 ‘विधिवत रूपमा अस्पताल बनाउन शुरू गरेका छौं । यहाँ प्राप्त सुझावलाई प्रदेश सरकारले आत्मसात गर्छ । यो आयोजनालाइ उच्च प्राथमिकमा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षमा १ अर्ब ८० करोडको बजेट राखेका छौं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्