२१ असार २०८३, आइतबार
चाडबाडमा मौसमी बजार अनुगमन

भदौ अन्तिमदेखि चाडपर्व लक्षित बजार अनुगमनः १० टोली खटाइने, वाणिज्य विभागले माग्यो थप जनशक्ति

भदौ १६, २०८१
काठमाडौं
भदौ अन्तिमदेखि चाडपर्व लक्षित बजार अनुगमनः १० टोली खटाइने, वाणिज्य विभागले माग्यो थप जनशक्ति
फाइल तस्वीर

भदौको अन्तिम सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गरिने भएको छ । विगतका वर्षभन्दा बढी कडाइका साथ भदौ अन्तिम सातादेखि अनुगमन शुरू गर्ने वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । 

यस वर्षको चाडपर्व लक्षित बजार अनुगमनमा १० टोली खटाइने विभागका महानिर्देशक राजन पौडेलले बताए । अनुगमन बढी प्रभावकारी र आक्रामक बनाइने उनले बताए । 

‘विभागले बजार अनुगमन गरिरहेकै छ । अब चाडपर्व नजिकिँदै गर्दा यसलाई बढी प्राविधिक जनशक्ति खटाएर कडाइका साथ लागु गर्ने तयारी गरिरहेका छौँ,’ महानिर्देशक पौडेलले भने, ‘विगतका वर्षभन्दा यस वर्ष अलिक आक्रामक रूपमा नै अनुगमन हुन्छ ।’ 

कसरी हुन्छ अनुगमन ? 
वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका देशभर पाँच वटा कार्यालयहरू रहेका छन् भने एक केन्द्रीय विभाग काठमाडौं उपत्यकाभित्र रहेको छ । विभागको मातहतमा रहेका पाँच कार्यालयहरूले काठमाडौं उपत्यका बाहिर अनुगमन गर्ने गर्दछन् । 

काठमाडौंमा भने विभाग स्वयंले वर्षभरि नै अनुगमन गर्दै आएको छ । तर, चाडपर्वका समयमा विभागले दक्ष र प्राविधिक जनशक्ति नै खटाएर बजार अनुगमन गर्दै आएको छ ।

विभागले खाद्य वस्तु, माछा मासु, किराना पसल, हार्डवेयर, इलेक्ट्रोनिक्स तथा फर्मलगायत अन्य विषयगत अनुगमन गर्ने गर्ने गर्छ  । जहाँ वस्तुको मूल्य, गुणस्तर तथा मापदण्डको जाँच गर्ने गरिन्छ । 

चाडपर्वका समयमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरूको आयात अत्यधिक हुने गर्दछ । दसैँ र तिहारजस्ता ठूला चार्ड पर्वमा वर्षभरिकै बढी व्यापार हुने भएकोले म्याद गुज्रेका, सडेगलेका वस्तुहरूको किनमेल हुने सम्भावना उच्च हुने गर्दछ । त्यसैले वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित अनुगमनमा बढी प्रभावकारी र बढी जनशक्ति खटाउने जनाएको छ ।

अहिले पनि तीन वटा टोली बजार अनुगमनमा खटाएको विभागका निर्देशक राकेश पाण्डेले बताए । उनका अनुसार विभागीय जनशक्ति अपुग भएकोले मन्त्रालयसँग थप जनशक्ति माग गरिएको छ । मन्त्रालयले जनशक्ति उपलब्ध गराएमा चाडपर्वलक्षित अनुगमन बढी कडाइका साथ हुने उनले बताए । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जनशक्ति आएपछि १० टोलीसम्म बजारमा खटाइने उनको भनाइ छ । निर्देशक पाण्डेले भने, ‘यस वर्षको अनुगमनमा १० टोली खटाइने सम्भावना देखिन्छ । त्यसका लागि हामीले मन्त्रालयबाट जनशक्ति माग गरेका छौँ । समितिमा पनि छलफल गर्दै आएका छौँ । सम्भवतः यसै महिनाको अन्तिम सातादेखि चाडपर्व लक्षित अनुगमन शुरू गछौं ।’ उपभोक्ता अधिकारकर्मीहरूले विभागको बजार अनुगमन कर्मकाण्डी मात्रै हुने गरेको बताउँदै आएका छन् ।

बजारमा अचाक्ली मूल्यवृद्धि

गत असार महिनासम्म सामान्य रहेको चामलको मूल्य साउनदेखि एक एक २ सय रुपैयाँदेखि ४०० रुपैयाँसम्म बढेको छ । चाडपर्व नजिकिँदै गर्दा बजारमा उपभोक्ताहरूबाट अस्वाभाविक मूल्य असुल्ने गरेको सरोकारवालाहरूले बताउँदै आएका छन् । 

बजारमा उपभोक्ताको अनुहार हेरेर मूल्यवृद्धि भइरहेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए । उनका अनुसार बजारमा सागपातदेखि खाद्यान्न वस्तुहरूसम्मको मूल्य अस्वाभाविक रूपमा बढाइएको छ । 

अध्यक्ष तिमिल्सिना भन्छन्, ‘उपभोक्ताको अधिकार संरक्षण गर्नमा सरकार विगतका वर्षहरूमा पनि चुकेको थियो र अहिले पनि चुकिरहेको छ । अहिले बजारमा जाँदा व्यापारीहरूले तपाईँको अनुहार हेरेर मूल्य बढाउने र घटाउने गरिरहेका छन् । बजार अनुगमन देखाउन मात्रै गरिएको छ,’ उनले भने, ‘दक्ष जनशक्तिबिना बजार अनुगमन कसरी हुन्छ ? तीनै तहका सरकारहरूले आफ्नो ढङ्गबाट बजार अनुगमन गर्न सक्छन् । तर, कुनै पनि निकायसँग समन्वय नमिलेर उपभोक्ताहरू दिनहुँ ठगिरहेका छन् ।’

सरकारले सक्रियता नदेखाउँदा कृतिम मूल्यवृद्धि र कृतिम अभाव सृजना भएको उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । उनका अनुसार सरकारले बजारमा खुल्ला रूपमा छोडेको कारण अनियन्त्रित अवस्था बनेको हो । 

यो पनि 

चामलको मूल्यमा एकाएक वृद्धि, 'सर्टेज' हुने कृत्रिम हल्ला

salt training

कमेन्ट गर्नुहोस्