
शहीद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिमका खेलाडीहरूको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षणसम्बन्धी मंगलबार सम्झौता गरिएको हो ।
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको उपस्थितिमा वा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद (राखेप) र अस्पतालबीच हरेक वर्ष निःशुल्क मुटुसहितको स्वास्थ्य परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।
सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।
हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्यमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।
सम्झौता हरेक वर्ष नवीकरण गर्नेसमेत व्यवस्था गरिएको छ ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।
पारा ओलम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर उक्त कार्यक्रमको शुरूआत गरिएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीहरूको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूआत भएको बताए ।
पारा ओलम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपलब्धिका अवसरमा यो खेलाडीहरूका लागि उपहार भएको मन्त्री पौडेलले बताए ।
अर्को वर्ष थप स्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडीहरूको स्वास्थ्य सुधारका लागि थप योजनाहरू ल्याइने बताए ।
‘पलेशाको उपलब्धिले देशको शिर उचो बनाएको छ,’ उनले भने, ‘यो शुरूआत उहाँप्रतिको सम्मान पनि हो ।’
युवा तथा खेलकुद मन्त्री चौधरीले खेलाडी विदेशिनुमा उपचार अभाव पनि एउटा कारण रहेको भन्दै स्वास्थ्यमन्त्री पौडेलप्रति आभार प्रकट गरे ।
‘यो सक्रियताका लागि स्वास्थ्य मन्त्रीजीलाई धन्यवाद,’ उनले भने ।