१० साउन २०८३, आइतबार

बैंकहरूले बढाउन सकेनन् ऋण लगानी,​ न्यूनतम ब्याजदरमा धमाधम तरलता उठाउँदै राष्ट्र बैंक

भदौ ३०, २०८१
काठमाडौं
बैंकहरूले बढाउन सकेनन् ऋण लगानी,​ न्यूनतम ब्याजदरमा धमाधम तरलता उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले भदौ २ गते आइतबार बैंक तथा वित्तीय संस्थामा रहेको अधिक तरलता व्यवस्थापनका लागि बोलकबोलमार्फत आह्वान गर्‍यो ।

त्यसमा बैंकहरूले १ खर्ब ९६ अर्ब २५ रुपैयाँ राख्नका लागि बोलकबोलमा सहभागी भए । जसमध्ये प्रक्रिया पुगेपछि एक खर्ब २१ दिनका लागि ब्याजमा राखियो । राष्ट्र बैंकले राखेको एक खर्बको ब्याजदर औसत २.८८ प्रतिशत कायम गरिएको छ ।

१० दिनपछि अर्थात् भदौ १२ गते बैंकिङ प्रणालीमा थुप्रिएको रकमलाई राख्नका लागि राष्ट्र बैंकले ४० अर्बको निक्षेप सङ्कलन उपकरण जारी गर्‍यो ।

४० अर्बको बोलकबोलमा २२ अर्ब २० करोड रुपैयाँ राख्नका लागि बैंकहरू सहभागी भए । प्रक्रिया पुगेपछि राष्ट्र बैंकले २१ अर्ब रुपैयाँ औसतम २.९९ ब्याजदरमा राख्यो ।

करिब ९ दिनपछि अर्थात् भदौ १९ गते राष्ट्र बैंकले पुन: ४० अर्ब रुपैयाँ राख्नका लागि निक्षेप सङ्कलन उपकरण जारी गर्‍यो । उक्त निक्षेप सङ्कलन उपकरणका लागि ३७ अर्ब ३८ करोड रुपैयाँ राख्नका लागि बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाए ।

राष्ट्र बैंकले प्रक्रिया पूरा गरेर ३७ अर्ब ६० करोड रुपैयाँ औसतम २.९९ प्रतिशत ब्याजदरमा २१ दिनका लागि राख्यो । 

राष्ट्र बैंकले फेरि एक हप्ता नबित्दै भदौ २३ गते एक खर्ब रुपैयाँ राख्नका लागि निक्षेप सङ्कलन उपकरण जारी गर्‍यो । जहाँ ५३ अर्ब ८० करोड रुपैयाँको मात्रै बोलकबोलमा सहभागी भएका थिए ।

प्रक्रियापश्चात् ५१ अर्ब ८० करोड रुपैयाँ २.९९  प्रतिशतको औसत ब्याजदरमा २१ दिनका लागि राख्यो ।

तीन दिनपछि अर्थात् भदौ २६ गते ४० अर्बको राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरण जारी गर्‍यो । ४० अर्बको निक्षेप सङ्कलन उपकरणका लागि केबल ९ अर्ब ५ करोड रुपैयाँ राख्न बैंक तथा वित्तीय संस्थाहरू बोलकबोलमा सहभागी भए ।

प्रक्रिया पश्चात् ९ अर्ब ५ करोड २.९९ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले राख्यो । भने, आज भदौ ३० गते पनि राष्ट्र बैंकले एक खर्ब रुपैयाँका लागि निक्षेप संकलन उपकरण जारी गरेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग भएको अधिक तरलतालाई व्यवस्थापन गर्नका लागि बेलाबेलामा निक्षेप सङ्कलन उपकरणहरू जारी गरी गर्ने गर्दछ ।​

बैंकहरूले सङ्कलन गरेको रकम लगानी गर्न नसकेको अवस्थामा उक्त निक्षेपलाई राष्ट्र बैंकले न्यूनतम ३ प्रतिशत र अधिकतम ६ प्रतिशतको ब्याजदरमा २१ दिनका लागि राखिदिने गर्दछ ।

यसका साथै बैंकहरूले तीन दिनका लागि बिना कुनै बोलकबोलमार्फत सिधै ३ प्रतिशत ब्याज पाउने गरी राष्ट्र बैंकमा राख्न पाउँछन् ।

सङ्कलन गरेको निक्षेपलाई नै लगानी गरेरै बैंकहरूले नाफा कमाउने हो । जुन अहिलेको अवस्थामा बैंकहरूलाई कर्जा विस्तार गर्न सकस भएको कुरा बैंकहरूमा भएको अधिक तरलताले नै पुष्टि गर्छ । 

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई कर्जा निक्षेप अनुपात ९० प्रतिशतसम्म राख्न मिल्ने व्यवस्था गरेको छ । अर्थात् बैंकहरूले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न सक्छन् । जुन राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार औंसतम ७८.८० प्रतिशत सिडी रेसियो रहेको छ ।

माथि उल्लेख गरिएको उदाहरणले हेर्दा पनि बैंकहरुले कर्जा लगानी गर्न नसक्दा एक महिनामै केन्द्रिय बैंकले ६ पटक निक्षेप संकलन उपकरण जारी गरेर बैंकहरूसँग थुप्रिएको रकम तानेको देख्न सकिन्छ । ​

बैंकहरूको सीडी रेसियो घट्नुले नाफामा गिरावट आएको जनाउने पूर्व बैंकर पर्शुराम कुँवर बताउँछन् । उनका अनुसार बैंकहरूमा थुप्रिएको लगानी योग्य रकमले बैंकहरूको ब्याज आम्दानीलाई घटाउँछ । 

चालू आर्थिक वर्षको साउन मसान्तसम्म वाणिज्य बैंकहरूको निक्षेप सङ्कलन ५७ खर्ब १५ अर्ब रहेको देखिन्छ । जसमध्ये ४५ खर्ब ७३ अर्ब लगानी गरेको देखिन्छ । वाणिज्य बैंकहरूको औसतमा सिडी रेसियो ७८.९२ प्रतिशत रहेको छ । 

यो साउन महिनासम्मको तथ्याङ्क हो । अहिले भदौको अन्तिम सातासम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरूको सीडी रेसियो ७८.८० प्रतिशत रहेको छ । यसको मतलब बैंकहरूसँग अझै करिब साढे ११ प्रतिशत लगानी योग्य रकम रहेको छ । तर बैंकहरूलाई लगानी गर्न सकस भइरहेको छ । 

बजारमा माग नै सिर्जना नभएकोले कर्जा प्रवाह हुन नसकेको एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ बताउँछन् ।

उनका अनुसार केही हदसम्म अहिले बैंकहरूलाई कर्जा विस्तार गर्न सकसको अवस्था नै रहेको छ ।​

सीईओ खालिङले भने, ‘बजारमा माग नै छैन । त्यसैले कर्जा विस्तार पनि त्यो अनुसारको हुन सकेको छैन ।'

यसका साथै नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कलाई हेर्दा एकै दिनमा १७ अर्ब रुपैयाँ निक्षेप बढेको छ । एकातिर बैंकहरूमा निक्षेप संकलन बढिरहेको छ भने अर्कोतर्फ बैंकहरुले लगानी बढाउन सकिरहेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्