
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनबाट अत्यधिक प्रभावित भएकाले यसको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न आग्रह गरेका छन् ।
इन्डोनेसियाको जाकार्तामा आयोजित एसिया प्रशान्त क्षेत्रीय पाँचौं मन्त्रिस्तरीय बैठकमा मन्त्री पौडेलले नेपालमा जलवायु परिवर्तनका कारण असर परिरहेकाले यसबाट कृषि र स्वास्थ्य क्षेत्र बढी प्रभावित भएका बताएका हुन् ।
उनले जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा वकालत गर्दै आएको स्मरण गरेका मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलले भने, 'एक संसद् सदस्यको हैसियतमा नीतिगत तहबाट जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न नेपालमा जलवायु संसद् गठन गर्न सधैं वकालत गर्दै आएको थिएँ । अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको हैसियतमा वर्तमान र भावी पुस्ताको स्वास्थ्य जोगाउन आवश्यक कार्य गर्ने प्रतिबद्धता जनाउँदछु ।'
नेपाल स्वास्थ्य क्षेत्रमा राष्ट्रिय अनुकूलन योजना विकास गर्ने दक्षिण एसियाको पहिलो देश भएको उनले उल्लेख गरे ।
मन्त्री पौडेलले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू गरिरहेको बताए ।