११ साउन २०८३, सोमबार
झ्याप्ले खोलामा अर्को वियोग

दाजु-भाउजूसँगै अस्ताइन बेलायत जान लागेकी बहिनी, विवाह दर्ता गरेर काठमाडौं पुग्दै थियो कुँवर दम्पती

असोज १३, २०८१
बुटवल
दाजु-भाउजूसँगै अस्ताइन बेलायत जान लागेकी बहिनी, विवाह दर्ता गरेर काठमाडौं पुग्दै थियो कुँवर दम्पती
तस्वीर : प्रकाश कुँवर, बीचमा उनकी श्रीमती अनु मल्ल र बहिनी सृजना कुँवर

गुल्मीको मदाने गाउँपालिका वडा नम्बर–६ पुर्कोटदहका प्रकाश कुँवर १३ वर्षदेखि दक्षिण कोरियामा रोजगारीमा थिए । ३५ वर्षका प्रकाश तीन महिना अघि विवाह गर्ने गरी नेपाल फर्किए ।

सात भाइमध्येका छैठौं (ठाइलो) प्रकाशलाई विवाह गर्न जोडबल गरेरै जेठो दाइ गोविन्दले घरमा बोलाएका थिए । बसाइँसराइ गरी रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर–१६ मा झरेका कुँवर परिवारले प्रकाशको विवाह साउन २७ गते काठमाडौंकी अनु मल्लसँग गरिदिए । काठमाडौंमा विवाहपछि घुम्न र विवाह दर्ता गर्न प्रकाश र अनु बुटवल झरे ।

अनि जन्मस्थान गुल्मी घुमघाम गरे । बुटवलबाट दाजु गोविन्द अनु र प्रकाश गए । एक हप्ता अघि बुटवल झरेर उनीहरूले विवाह दर्ता गरे । 

आउँदो कात्तिक ४ गते (अक्टोबर २०) मा प्रकाशको कोरिया जाने तयारी थियो । काठमाडौंमा पनि घर भएका उनीहरू अब उतैबाट कोरिया जाने गरी प्रकाश, अनु र प्रकाशकी बहिनी सृजना शुक्रबार बुटवलबाट काठमाडौं हिँडे ।

दाजुले कर गरेपछि बहिनी सृजना पनि काठमाडौं जान तयार भइन् । सृजना भारतको बैंग्लोरबाट बीएस्सी नर्सिङ उत्तीर्ण गरेर बेलायत जानका लागि भाषा कक्षा पढ्दै थिइन् । शुक्रबार बिहान बुटवलबाट माइक्रो (विंगर) चढेपछि प्रकाशले दाजु गोविन्दलाई फोन गरेर काठमाडौं हिँडेको जानकारी गराए । 

दिउँसो १ बजे प्रकाशले नारायणगढ पुगेको जानकारी दाजुलाई गराए । त्यसपछि उनीहरूको सम्पर्क मात्रै टुटेन, कुँवर परिवारका तीन जना नै उनको परिवारबाट कहिल्यै नभेटिने गरी छुटे ।

अन्ततः कुँवर परिवारका तीन जना धादिङको झ्याप्ले खोलामा बिलाए । माथिबाट आएको पहिरोले प्रकाश, अनु र सृजनालाई सधैंको लागि धर्तीमा विलीन बनाइदियो । दाजुसँग शुक्रबार सम्पर्क गरेका प्रकाशसहितका तीन जना काठमाडौं उक्लिन केही दुरी बाँकी हुँदा झ्याप्ले खोलामै गाडीमा परे ।  

भाइ बुहारी र बहिनीको शव बुझ्न काठमाडौं एयरपोर्ट झरेका गोविन्दले फोनमा कुराकानी गर्दै लोकान्तरसँग भने, ‘नारायणगढ पुगेपछि अन्तिम कुराकानी भयो । त्यसपछि फोन सम्पर्क हुन सकेन भन्यो । अन्ततः स्विच अफ भन्यो ।’

झ्याप्ले खोला पहिरोमा पुरिएको लु १ ज ४५७८ नम्बरको बसमा पुरिएर उनीहरूको प्राणपखेरु उड्यो । भाषा कक्षाको परीक्षा दिनुपर्ने भएकाले काठमाडौंबाटै दिने गरी बहिनी पनि दाजु भाउजूसँगै गएको दाजु गोविन्द कुँवरले बताए ।

शुक्रबार बिहान घरबाट हिँडेका उनीहरू चढेको गाडी पुरिएको भन्ने खबर परिवारले शनिबार साँझ मात्र थाहा पाएका थिए ।

खबरलगत्तै कुँवर परिवार, अनुको माइती, आफन्तजन र छरछिमेक शोकमा छन् । पहिरोले यस क्षेत्रका १४ जनाको ज्यान गएपछि रुपन्देही शोकमा डुबेको छ ।

salt training

कमेन्ट गर्नुहोस्