०९ साउन २०८३, शनिबार

संकटकै बेला चलेन 'कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल'

असोज १४, २०८१
विराटनगर
संकटकै बेला चलेन 'कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल'

कोशी प्रदेश सरकारले विपद्का बेला सूचना दिन भनेर बनाएको पोर्टल नै प्रयोगविहीन बनेको छ । बिहीबारदेखि तीन परेको अविरल वर्षाले ठूलो जनधनको क्षति गर्दासमेत पोर्टलमा प्रदेश सरकारले कुनै सूचना सार्वजनिक गरेन । 

गत असार २४ गते मुख्यमन्त्री हिक्मत कार्कीले विपदमा प्रदेशलाई सूचना दिने भन्दै पोर्टलको उद्घाटन गरेका थिए । पोर्टलको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्न र जनताको जिउधनको सुरक्षा गर्न प्रदेशलाई प्रविधिमैत्री बनाउन सरकार तत्पर रहेको बताएका थिए ।

‘सरकारले यस्ता एपहरू बनाउने र केही समयपछि निस्प्रभावी हुने हो भने बनाउनुको कुनै अर्थ हुँदैन,’ उद्घाटनका क्रममा उनले भनेका थिए, ‘त्यसैले यस्ता पोर्टलहरूको प्रभावकारिताबारे अध्ययन गर्ने र यसको प्रभावबारे बेलाबेलामा अपडेट गर्नुपर्छ ।’ 

तर, तीन दिनसम्म परेको वर्षासँगैको बाढी पहिरोले ठूलो क्षति हुँदासमेत प्रदेश सरकारले कुनै सूचना तथा जानकारी गराउन सकेन । 

मुख्यमन्त्री कार्कीले भनेजस्तै प्रदेश सरकारले जनतालाई पूर्वतयारी तथा विपद्पछि राहत तथा उद्धारलगायत विषयमा पोर्टलले कुनै जानकारी दिन सकेन । 
मुख्यमन्त्री कार्कीकै दबाबमा पोर्टल बनेको प्रदेश सरकारका कर्मचारी बताउँछन् । ‘मुख्यमन्त्री र मन्त्रीज्यूको दबाबमा पोर्टलको उद्घाटन भएको हो,’ आन्तरिक मामिला तथा कानून मन्त्रालयका एक कर्मचारीले भने, ‘यो पोर्टल बनाउन १० लाख बजेट छुटाइएको थियो । पोर्टल प्रभावकारी नहुने देखेपछि हामीले रोक्न खोज्यौं । दबाब थेग्न नसकेपछि पैसा घटाएर सम्झौता गरेका हौं ।’ 

आगलागी, बाढी, पहिरो, जंगली जनावरको आक्रमणको जोखिम क्षेत्रलगायत सबै प्रकारका विपद्को उच्च जोखिममा रहेका स्थानहरूको पहिचान गरेर त्यस्ता क्षेत्रका बारेमा पूर्वजानकारी गराउने गरी मन्त्रालयले यो पोर्टल बनाएका थियो । पोर्टलमा वाढीपहिरो आउने स्थानका नागरिकहरूलाई  पूर्वसूचनाको जानकारी दिनुका साथै प्रहरी, एम्बुलेन्सलगायत आकस्मिक सेवाका लागि फोन गर्न सकिने  सुविधासमेत उपलब्ध हुने जनाएको थियो । 

मन्त्रालयका प्रवक्ता विश्वदीप बेस्राले भने केही समयपछि उक्त पोर्टल चल्ने दाबी गरेको छन् । डाटा इन्ट्री गर्ने काम भइरहेकाले अब केही समयपछि पोर्टल चल्ने उनको दाबी छ । 

बाढीपहिरोले कोशीमा ठूलो मात्रा जनधनको क्षति गरेको छ । बाढीपहिरोमा परेर प्रदेशमा १७ जनाको मृत्यु भएको भने १३ जना घाइते भएका छन् । ८ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्