
राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको आरोपमा विकल पौडेल र उनकी श्रीमती एलिना बस्नेतविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
२०७६ सालदेखि पौडेलले नेपाल राष्ट्र बैंकको अनुमति नलिई गैरकानूनी तरिकाले विदेशी बैंकमा खाता खोली ठूलो रकम जम्मा गरेको पुष्टि भएपछि उनीविरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
विकलले विदेशी बैंक खातामा श्रीमती लगायतका नाममा अवैध रूपमा रकम जम्मा गरेको र विभिन्न व्यक्तिबाट रकम जम्मा गराएर विदेशी विनिमय अपचलन गरेको विभागको दाबी छ ।
विभागले विकल पौडेलले विदेशी विनिमय ऐन, २०१९ को विभिन्न धाराहरू उल्लङ्घन गरी नेपाल राष्ट्र बैंकको नियमविपरीत विदेशी बैंकमा रकम जम्मा गरेको जनाएको छ ।
पौडेलले अपचलन गरेको रकम अमेरिकी डलर र सिंगापुर डलरमा रहेको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जसको नेपाली रुपैयाँमा ६१ करोड १३ लाख २१ हजार १५३ रुपैयाँ २० पैसा रहेको छ ।
विभागले सोमबार १ अर्ब ८३ करोड ३९ लाख ६३ हजार ४५९ रुपैयाँ बागो कायम गरी तीन गुणा सजाय माग गर्दै अभियोग दायर गरेको हो ।
साथै, पौडेलकी श्रीमती एलिना बस्नेतले पनि अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको आरोप लागेपछि उनीविरुद्ध पनि अभियोग दायर गरिएको छ ।
एलिना बस्नेतले अमेरिकी डलर १ लाख २९ हजारको अपचलन गरेको आरोपमा नेपाली रुपैयाँ १ करोड ५२ लाख ७० हजार ७४० बिगो कायम गरिएको छ । उनलाई फरार अभियुक्त ठहर गर्दै चार करोड ५८ लाख १२ हजार २२० रुपैयाँ बिगोको तीन गुणन सजाय माग गरिएको छ ।
विभागले सोमबार काठमाडौं जिल्ला अदालतमा दुवै प्रतिवादीविरुद्ध विदेशी विनिमय अपचलन मुद्दामा अभियोग दायर गरेको हो ।