
काठमाडौं, १९ कात्तिक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व तथा बहालवाल उच्चपदस्थ कर्मचारीमाथि आँखा लगाएको छ । आयोगले विगत दुई महिनादेखि झण्डै दुई सय जना बरिष्ठ अधिकारीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
सोही क्रममा आज पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री, पूर्व आइजीपी उपेन्द्रकान्त अर्याल, तत्कालिन उर्जा सचिव अर्जुनकुमार कार्की, बहालवाला सचिव गजेन्द्र ठाकुर काठमाडौं महानगरपालिकाका डिएसपीहरु धनपति सापकोटा र राजुनाथ पाण्डे लगायतसँग बयान लिएको छ ।
अख्यितयार स्रोतका अनुसार पूर्व मुख्यसचिव क्षेत्री र कार्कीले तत्कालिन उर्जा सचिवको रुपमा अख्तियारमा बयान दिएका हुन् । उनीहरुसँगै बहालवाला सचिव ठाकुरले पनि बयान दिएका छन् ।
विद्युत प्राधिकरणको ट्रान्सफर्मर खरिद प्रकरणमा दोषि देखिएको शंकामा अख्तियारले उनीहरुसँग बयान लिएको हो । प्राधिकरणमा भएको घोटलाको मुद्दा विशेष अदालतमा चलिरहेकै बेला उक्त मुद्दालाई प्रभावित गर्नेगरी कन्सलटेन्ट नियुक्त गरेको आरोप पनि उनीहरु माथि लागेको छ ।
विद्युत प्राधिकरणमा मध्यस्तताको भूमिकामा रहने भएकाले पूर्व मुख्य सचिव क्षेत्रीले पनि बयान दिएका हुन् ।
यस्तै अख्तियारले अकुत सम्पत्ति कमाएको अाशंकामा पूर्व आइजीपी अर्याल र काठमाडौं महानगरपालिकाका दुई जना डिएसपीसँग बयान लिएको छ । केही दिन अघि आइजीपी अर्यालले अख्तियारमा पुगेर १३ पन्ने सम्पत्ति विवरण समेत भरेका थिए ।
‘अख्तियारले २ सय जना विशिष्टहरुमाथि अनुसन्धान गरेको साँचो हो, सोही क्रममा आज उनीहरुले अख्तियारमा बयान दिएका हुन्,’ अख्तियार स्रोतले लोकान्तरलाई भन्यो, ‘बाँकी अनुसन्धानकै क्रममा छ ।’ सबैले आज अख्तियार पुगेर बयान दिएका हुन् ।