
कुनै बेला भारतीय र चिनियाँ स्याउको बिगबिगी हुने नेपालका प्रमुख शहरमा अहिले स्वदेशी उत्पादनले बजार लिएको छ । विगतका वर्षहरूमा नेपालमा उत्पादित स्याउ बोटमा कुहिएर खेर जाने गरेका समाचार आइरहेको बेला यो वर्ष नेपाली उत्पादनले बजार ढाकेको हो । अहिले जुम्ला, मनाङ र मुस्ताङका स्याउले लुम्बिनी प्रदेशका विभिन्न शहरमा राम्रो कारोबार गरिरहेको छ । तर, स्याउले सोचजस्तो राम्रो मूल्य पाउन भने नसकेको किसान र बिक्रेताको गुनासो छ ।
स्वदेशी स्याउको बिक्री लुम्बिनीका शहरमा प्रतिकिलो फुटकरमा १८० देखि २०० रुपैयाँसम्ममा हुँदै आएको छ । विदेशी स्याउ भने यसको दोब्बर महँगो मूल्यमा बिक्री हुँदै आएको थियो । अर्गानिकसँगै स्वादिलो पनि भएकाले जुम्लाको स्याउ प्रख्यात मानिन्छ । सडक सञ्जाल पुगेसँगै अहिले जुम्लाको स्याउ देशका धेरै शहरमा आइपुगेको छ ।

यस वर्ष दशैँको छेको पारेर लुम्बिनी प्रदेशका सबैजसो जिल्लाका उपभोक्ताले स्वदेशी स्याउ किनेका छन् । दशैँमा कोशेली लानका लागि आफूले १५ किलो नेपाली स्याउ किनेको गुल्मीका शिव पौडेलले बताए । ‘स्वदेशी स्याउका बारेका सुनेको थिएँ । एउटा थोक पसलमा पुगेर जुम्ला र मुस्ताङका स्याउ एक–एक दाना काटेर चाखेँ । मन परेपछि दुवै ठाउँका एक–एक पेटी स्याउ किनेर लगेँ । दशैँमा कोशेलीस्वरुप ती स्याउ लैजाने निधो गरेँ,’ उनले भने ।

नेपाली बजारमा अहिले विदेशी स्याउलाई विस्थापित गर्दै स्वदेशी स्याउ भरिएको प्रष्ट देख्न सकिन्छ । यही भदाैको दोस्रो सातादेखि नेपाली स्याउ बुटवलका प्रत्येक पसलमा पुग्नेगरी आएको छ । उक्त स्याउ बुटवल, घोराही, नेपालगञ्ज, परासीजस्ता लुम्बिनी प्रदेशका प्रमुख शहरहुँदै अन्यत्रका बजारसम्म थोकमा बिक्री–वितरण भइरहेको छ । असोजको तेस्रो सातासम्मको एक महिनाको अवधिमा मात्रै बुटवल १७ करोड रुपैयाँभन्दा बढी स्वदेशी स्याउको कारोबार भइसकेको पाइएको छ ।
दशैँ नजिकिएदेखि नै स्वदेशी स्याउको कारोबार बढेको व्यापारीहरू बताउँछन् । बुटवल कृषि उपज तथा थोक बजार केन्द्रका थोक व्यापारी कलाधर पन्थीले नेपाली स्याउको स्वाद उपभोक्ताले खुबै रुचाएको बताए । ‘स्वदेशी उत्पादनले मात्र चाडपर्वमा पूरा थेग्न गाह्रो हुन्छ । यसर्थ विदेशी विदेश स्याउ पनि आयात गर्नुपर्ने हुन्छ,’ पन्थी भन्छन्, ‘यो स्वदेशी स्याउले कात्तिक मसान्तसम्म बुटवलदेखि पश्चिम भेगलाई लगभग पुग्छ र त्यसपछि त बोटमै निथ्रिन्छ ।’ बुटवलदेखि पश्चिमको भेगमा आउँदो कात्तिकसम्म स्वदेशी स्याउको मात्रै कारोबार हुने पन्थीको भनाइ छ । थोक बिक्रेता पन्थीले मात्रै यो सिजनमा ५५ लाख रुपैयाँ बराबरको स्वदेशी स्याउ बिक्री गरेका छन् ।
अन्य वर्षहरूमा अहिलेको अनुपातमा विदेशी स्याउको कारोबार बढी हुने गथ्र्यो । अहिले भने स्वदेशी स्याउले बजार भरिभराउ भएको बुटवलका अर्का थोक फलफूल बिक्रेता कृष्णप्रसाद पोखरेल बताउँछन् । पोखरेलले मात्रै अहिले पछिल्लो एक महिनाको अवधिमा करिब ४० लाख रुपैयाँ बराबरको जुम्लाको स्याउ बिक्री गरिसकेका छन् । केहीदिन अघिदेखि उनको पसलमा मुस्ताङको पनि स्याउ आइसकेको छ ।

बुटवल र आसपासमा स्याउको थोक बिक्री गर्ने ४० जना ठूला थोक व्यापारी छन् । ती सबैले यही अनुपातमा र केहीले अझ योभन्दा दोब्बर परिणाममा स्वदेशी स्याउको कारोबार गरेका छन् । नेपाली स्याउ भारत र चीनबाट आयात भएका स्याउको तुलनामा गुणस्तरीय भए पनि कम मूल्यमा बिक्री भइरहेको पाइएको छ । गुल्मीको तम्घास, पाल्पाको तानसेन र अर्घाखाँचीको सन्धीखर्कमा यो वर्ष पहिलो पटक जुम्लाको स्याउ भित्रिएको छ ।
सरकारले उच्च हिमाली आठ जिल्लालाई स्याउको पकेट जिल्ला घोषणा गरेको थियो । कर्णालीका डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोटसहित रुकुम, मनाङ र मुस्ताङमा स्याउखेती बिस्तारका लागि विशेष कार्यक्रम शुरू गरिएको हो । यो कार्यक्रमले त्यहाँका केही भेगमा स्याउको उत्पादन बढाएको छ ।

जुम्लाका हरेक जसो किसानले स्याउका बिरुवा रोपेका छन् र सबै भेगमा स्याउ फल्छ । केही वर्षअघिदेखि यहाँ व्यावसायिक रुपमा स्याउको उत्पादन हुने गरेको छ । एउटा बोटमा एक सिजनमा २५ देखि ३० किलोसम्म स्याउ फल्ने र बोटले थेग्नेगरी उत्पादन बढाउन सकिने अवस्था छ । स्याउका थोक बिक्रेता विष्णुकमार श्रेष्ठले जुम्लाको बुठीचौर गाउँपालिका–५, बुठीचौरमा ५०० रोपनी जग्गामा ४० हजार बोटबाट स्याउ खेती शुरू गरेका छन् । श्रेष्ठले अहिले बल्ल स्याउको सिजन शुरू भएको बताए । ‘अब हरेक वर्ष उत्पादन बढ्दै जान्छ, केही वर्षमा उत्पादन कयौं गुणा बढ्नेछ । सरकारले सहज ढुवानी र किसानलक्षित राहतका केही योजना ल्याउने हो भने स्वदेशी उत्पादनले आत्मनिर्भर हुन्छौं,’ उनले भने । उनले ढुवानीका लागि सहज सडक र जुम्लामा विद्युतको सहज उपलब्धता पर्याप्त भएमा उत्पादनलाई लक्ष्यभन्दा पनि धेरै बनाउन सकिने दाबी गरे । जुम्लाबाट विभिन्न माध्यमबाट स्याउलाई सुर्खेतमा झार्ने र त्यहाँबाट विभिन्न ठाउँमा वितरण हुँदै आएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालमा वार्षिक करिब सात अर्ब रुपैयाँको स्याउ आयात हुने गरेको छ । गत आर्थिक वर्ष २०८०–८१ मा मात्रै करिब नौ अर्ब रुपैयाँ बराबरको स्याउ अन्य मुलुकबाट नेपाल भित्रिएको छ । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी मुक्तिप्रसाद श्रेष्ठले नेपालमा भारत र चीन, इन्डोनेसिया, टर्की, अमेरिकाबाट ठूलो मात्रामा स्याउको आयात हुँदै आएको बताए । यीमध्ये सबैभन्दा बढी भारतबाट स्याउ आयात हुने श्रेष्ठको भनाइ छ । भारतले आफ्नै उत्पादनलाई कोल्ड स्टोर गरेर १२ महिना बिक्री–वितरण गर्नेगरी प्रबन्ध मिलाएको छ । यसकारण नेपालमा भारतीय र चिनियाँ स्याउ जुनसुकै सिजनमा पर्याप्त मात्रामा पाइने गर्छन् ।