०४ साउन २०८३, सोमबार
दुई प्रहरीबीच असमानता

सशस्त्र र नेपाल प्रहरीबीच रासनमा विभेद– १५ प्रतिशत बढाउँदा पनि प्रहरी अझै पछाडि​ !

कात्तिक २, २०८१
काठमाडौं
सशस्त्र र नेपाल प्रहरीबीच रासनमा विभेद– १५ प्रतिशत बढाउँदा पनि प्रहरी अझै पछाडि​ !

ड्यूटी र कार्यक्षेत्रका हिसाबले नेपाल प्रहरीको जिम्मेवारी धेरै छ । तर, सेवासुविधाअन्तर्गत पाउने रासनमा प्रहरीलाई अझै विभेद गरिएको छ । 

सशस्त्र प्रहरीले स्थापनाकालदेखि नै प्रहरीको भन्दा धेरै रासन पाउँदै आएको छ । दुवै सुरक्षा निकायले अहिले रासनको सट्टा रकम नै पाउँदै आएका छन् । 

रासन रकम जिल्ला दररेटको आधारमा वितरण हुँदै आएको छ । धेरै खटिने प्रहरीलाई अझै रासन कम भएको बुझाई उनीहरूको छ । 

प्राप्त तथ्यांकअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको दैनिक रासन भत्ता ४३ जिल्लामा फरक छ ।

कोशी प्रदेशका झापा, इलाम, ताप्लेजुङ, पाँचथर, मोरङ, सुनसरी, भोजपुर, तेह्रथुम, धनकुटा, खोटाङ, मधेश प्रदेशका जिल्लाहरू सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहटमा प्रहरीको रासन सशस्त्रको भन्दा कम छ । 

त्यस्तै, बागमती प्रदेशका जिल्लाहरू चितवन, रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, कर्णाली प्रदेशका जिल्लाहरू हुम्ला, सुर्खेत, गण्डकी प्रदेशका जिल्लाहरू मुस्ताङ, पर्वत, गोरखा, कास्की, तनहुँ र लुम्बिनी प्रदेशका जिल्लाहरू पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, दाङ, बाँके र बर्दियामा पनि सशस्त्रकै धेरै छ । 

उता सुदूरपश्चिम प्रदेशका जिल्लाहरू कैलाली, डोटी, अछाम, कञ्चनपुर र दार्चुला पनि सशस्त्रकै रासन रकम बढी छ ।

उपत्यकाको हकमा सशस्त्र प्रहरीले नेपाल प्रहरीको भन्दा २ रुपैयाँ बढी पाउँछन् । उपत्यकामा सशस्त्र प्रहरीका लागि २ सय ३ रुपैयाँ दैनिक भत्ता तोकिएको छ भने नेपाल प्रहरीले २ सय १ रुपैयाँ पाउँछन् ।

कास्कीमा सशस्त्र प्रहरीले २ सय २३ रुपैयाँ १० पैसा रासन बराबरको रकम पाउँछ । नेपाल प्रहरीले २३ रुपैयाँ कम गरेर २ सय रुपैयाँ १० पैसा पाउँछ । 

अछाममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनमा ८५.१० रुपैयाँ फरक पर्छ । अछाममा नेपाल प्रहरीको एक दिनको रासन रेट २५८.७५ रुपैयाँ छ । सशस्त्र प्रहरीले ३४३.८५ रुपैयाँ पाउँछन् । 

अछाम पोस्टिङ भएका नेपाल प्रहरीले रासनबापत वर्षमा सशस्त्र प्रहरीले भन्दा ३१ हजार ६१ रुपैयाँ कम रकम प्राप्त गर्छन् । उता सर्लाहीमा काम गर्ने नेपाल प्रहरीले रासनबापत दैनिक १९२.०५ रुपैयाँ बुझ्दा सशस्त्र प्रहरीले २७१.४० बुझ्छन् । 

हिमाली जिल्ला संखुवासभा र ताप्लेजुङमा काम गर्ने नेपाल प्रहरीले दैनिक २६७.९५ रुपैयाँ पाउँछन् । त्यहाँ सशस्त्र प्रहरीले ३४७.३० प्राप्त गर्छन् ।

सर्लाही, संखुवासभा र ताप्लेजुङमा काम गर्ने सशस्त्र प्रहरीले नेपाल प्रहरीले भन्दा दैनिक ७९.३५ बढी रुपैयाँ प्राप्त गर्छन् । 

नेपाल प्रहरीको रासनमा यसअघि २०७८ साउन १ गतेबाट लागू हुने गरी १५ प्रतिशत वृद्धि भएको थियो । त्यसपछि रासन बढेको छैन । 

एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘१८ घण्टासम्म खटिने प्रहरीलाई पेटभरी खान नपाउने रासन बराबरको रकम दिएर के हुन्छ ? शरीरलाई चाहिने आवश्यक क्यालोरीका लागि अहिले आएको रकमले फुलफिल हुँदैन ।’

सशस्त्र प्रहरीको रासन प्रहरीको भन्दा धेरै भएपनि अझै जिल्लाको दररेटअनुसार वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त हुँदै आएको छ । 

काभ्रेमा सशस्त्र प्रहरीको रासन जिल्लाको स्वीकृत दररेटअनुसार ३ सय रुपैयाँ ६६ पैसा हो । तर, सरकारले स्वीकृत गर्दा २ सय २१ रुपैयाँ ९५ पैसा कायम गरेको छ । 

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले समयानुकूल ढंगले हेर्ने हो भने प्रहरीले पाउँदै आएको रासन बराबरको रकम कम भएको बताए । 

उनले भने, ‘जिल्लाको दररेटअनुसार मात्रै पनि रासन रकम दिन सकियो भने समयानुकूल हुन्थ्यो, तीन वर्षअघिको बजार भाउ र अहिलेको बजार भाउ तुलना गर्दा रासन रकम कम हो भनेर सोझै अनुमान गर्न सकिन्छ ।’ 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव ऋषिराम तिवारीले प्रहरीको रासन बढाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताए ।

उनले भने, ‘अरू सुरक्षा निकायको भन्दा हाम्रो रासन कम भयो भनेर प्रहरीले गुनासो गर्दै आएका छन्, स्वाभाविक पनि हो, अब कसरी सम्बोधन गर्ने भनेर हामी छलफलमै छौं ।’

सशस्त्र प्रहरीको रासन दररेट :

null

null

null

नेपाल प्रहरीको रासन दररेट :

salt training

कमेन्ट गर्नुहोस्