
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नागरिकलाई दुःख दिएर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्ने बताएका छन् ।
सहकारीमा भएको रकम अपचलनको विषयमा अनुसन्धान गर्न सभापति रवि लामिछाने पक्राउ परेपछि भएको विरोध प्रदर्शनलाई लक्षित गर्दै कार्कीले सामाजिक संजालमा यस्तो लेखेका छन् ।
यसरी अराजक आन्दोलन गर्ने लामिछानेका समर्थन नहुने उनको भनाइ छ ।
‘विरोधको यो तरिकालाई रास्वपाले कहिले पनि समर्थन गर्दैन । नागरिकलाई दुःख दिएर, सार्वजनिक तथा सरकारी सम्पति तोडफोड गरेर गरिने आन्दोलनलाई रास्वपाले विरोध गर्दछ । यस्ता किसिमका आन्दोलन गर्ने रास्वपाका या रवि लामिछानेका समर्थक हुनै सक्दैनन्,’ रवि पक्राउ भएको विरोधमा गरिएको आन्दोलनका फोटो हाल्दै कार्कीले लेखेका छन्, ‘यसैले, नागरिकका मुद्दा अझ बढी उठाउने, विधिलाई हुबहु लागू गर्ने र गराउनेमा उपस्थित हुँदा रचनात्मक र शान्तिपूर्णरूपमा भइदिनु हुन आग्रह छ । तथा, समर्थकका रूपमा घुसपैठ गरेर रास्वपाका नाममा खराब गर्ने सम्भावना रहेको हुँदा सचेत भएर त्यस्तो भेटिएमा प्रहरीलाई जिम्मा लगाइदिन हुन अनुरोध छ ।’
सवारी आवागमन नै रोकेर प्रदर्शन भएपछि कार्कीले यस्तो लेखेका हुन् ।
रविलाई पक्राउ गरेर पोखरा लगिएपछि राजनीतिक प्रतिशोध साध्दै फसाइएको भन्दै देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ ।
रवि पक्राउको विरोधमा पोखरा र काठमाडौंमा रास्वपाले औपचारिक विरोधको कार्यक्रम राखेको छ ।
शनिबार यी दुवै ठाउँमा विरोधका कार्यक्रम पनि गर्यो । तर रास्वपाका कार्यकर्ताले देशका अन्य ठाउँमा पनि विरोध र प्रदर्शन गरेका छन् ।
रवि पक्राउ परेको विरोधमा नुवाकोटको नुवाकोट गनगटे सडकमा रास्वपाकै कार्यकर्ताले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि कार्कीले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।