
सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू छटपटीमा छन् ।
आफ्ना सभापतिमाथि राजनीतिक प्रतिशोध साँधेको भन्दै एकातिर रास्वपा विरोध प्रदर्शनमा उत्रिएको छ भने अर्कातिर प्रधानमन्त्री तथा सत्तारुढ दलका नेताहरूलाई भेटेर हारगुहार पनि गरिरहेको छ ।
कास्कीको सूर्यदर्शन सहकारीको करोडौं रुपैयाँ आफू प्रबन्ध निर्देशक रहेको गोरखा मिडियामा ल्याएर अनधिकृत रूपमा खर्च गरेको कसुरमा २ कात्तिकमा रवि पक्राउ परेका थिए ।
उनी पक्राउ परेलगत्तै रास्वपाको पदाधिकारी, केन्द्रीय समिति र संसदीय दलले पोखरा पुगेर निषेधित क्षेत्रभित्रै प्रदर्शन गर्यो । कास्की जिल्ला अदालतको गेटसम्मै पुगेर रास्वपाले विरोध प्रदर्शन गर्यो ।
यस्ता विरोधमा रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गर्दै आएको छ । विरोधका क्रममा उनीहरूले प्रधानमन्त्रीको शवयात्रा समेत निकालेका छन् ।
पोखरापछि रास्वपा काठमाडौंकेन्द्रित आन्दोलनमा छ । एकातिर प्रधानमन्त्री, मन्त्री र दलका नेताले राजनीतिक प्रतिशोध साँधेको भनेर आरोप लगाइरहेका छन् । अर्कातिर न्यायिक प्रक्रियामा अगाडि बढिसकेको विषयमा प्रधानमन्त्रीलाई अनुनयविनय गर्न रास्वपाकै केही नेता लागेका छन् ।
सोमबार रास्वपाका उपसभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्रीसँग भेट गरी रविको मुद्दा फिर्ता लिने वातावरण बनाइदिन आग्रह गरेको स्रोतको दाबी छ ।
‘रास्वपाका नेताहरू डोलप्रसाद अर्याल र सन्तोष परियार सोमबार साँझ बालुवाटार आउनुभएको थियो । हाम्रो सभापतिमाथि राज्य पूर्वाग्रही भयो । केही न केही उपाय लगाएर मुद्दा फिर्ता लिने वातावरण बनाइदिनुपर्यो भन्ने आशय उहाँहरूको थियो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर प्रधानमन्त्रीले संसदीय समितिले भनेअनुसार सरकारले न्यायिक प्रक्रियालाई मात्रै अगाडि बढाएको हो । सरकारले त्यसलाई कार्यान्वयन नगरे संसद्को अनादर हुन्छ । तपाईंहरूकै सदस्य समेत रहेको समितिले सर्वसम्मत पारित गरेको विषय अगाडि बढाएको मात्रै हो भनेर पठाउनुभयो ।’
प्रधानमन्त्री ओलीले कुनै व्यक्ति विशेषमाथि छानबिन गर्ने गरी संसदीय समिति बनाउन आफूले इच्छा व्यक्त नगरे पनि माओवादी र रास्वपाले नै स्वीकारेपछि समिति बनेको उल्लेख गरे । समितिको प्रतिवेदनपछि रवि स्वयंले गोरखा मिडियामा गैरकानूनी रूपले आएको रकम अपचलनको कानूनी, आर्थिक र नैतिक जिम्मेवारी आफूले लिने बताएका थिए ।
‘तपाईंहरूकै सभापतिले आर्थिक, नैतिक र कानूनी सबै जिम्मेवारी लिन्छु भनेर सामाजिक सञ्जालबाटै बोल्नुभएको छ । तपाईंकै पार्टीका सदस्यले प्रतिवेदनमा हस्ताक्षर गर्नुभएको छ,’ प्रधानमन्त्रीले रास्वपाका नेताहरूलाई भनेको उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘यो कुनै पूर्वाग्रह होइन । छानबिनमा देखिएअनुसर गर्ने हो । प्रक्रियालाई रोक्ने कुरा भएन । संसदलाई नटेर्न पनि मिलेन ।’

भेटघाट र दबाबले छानबिन नरोकिने उक्त स्रोतले बतायो । ‘प्रामाणिक अभियोगमा छानबिन भइरहेको छ । यसैले भेटघाट र दबाबले मिल्ने कुरा होइन,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘न्यायिक प्रक्रियामा अगाडि बढेको विषय कसैको दबाबले रोकिने स्थिति छैन ।’
प्रधानमन्त्रीविरुद्ध मुख छाडेर हिँड्ने, जिउँदोलाई मरेको घोषणा गर्ने र दाहसंस्कार गर्नेजस्तो निकृष्ट व्यवहार देखाएपछि रास्वपा आलोचनाको केन्द्रमा छ । एमाले नेता विष्णु रिजालले प्रधानमन्त्रीको दाहसंस्कारजस्तो अशोभनीय काम गर्नेहरू कुन मुख लिएर बालुवाटार पुगेको भन्दै प्रश्न उठाएका छन् । रविलाई बचाइदिनुपर्यो भनेर हारगुहार गरे पनि मुद्दा फिर्ता लिन सम्भव नहुने उनको भनाइ छ ।
‘दिनभरि प्रधानमन्त्रीका विरुद्ध व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शव बनाएर दाहसंस्कार गर्नेजस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राति–राति कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ?,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यति हेक्का राखे हुन्छ– राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानूनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरेजस्तो मुद्दा फिर्ता सम्भव हुन्न ।’
प्रधानमन्त्री मात्रै होइन, रास्वपाको अर्याल खेमाले गृहमन्त्री रमेश लेखकसँग समेत भेटेर यस्तै हारगुहार गरेको दाबी स्रोतको छ । अर्यालले सोमबार गृहमन्त्रालयमै पुगेर लेखकसँग भेट गरेका हुन् ।
मंगलबार बालुवाटारमा शान्तिपूर्ण प्रदर्शन गर्नेबारेमा कुराकानी गर्न भेट गरेको दाबी अर्यालले गरेका छन् । तर, स्रोतका अनुसार पोखराको विरोध प्रदर्शनमा संयमित हुन नसकेपछि अर्यालले काठमाडौंमा व्यवस्थित विरोधका कार्यक्रम गर्ने बताएका थिए ।
‘न्यायिक प्रक्रियामा अगाडि बढेको विषयमा पोखरामा गरेको विरोध प्रदर्शन मर्यादित भएन भन्नेमा उनीहरू नै पुगेको रास्वपाका नेताहरूको दौडाहाले देखाउँछ,’ गृह मन्त्रालय स्रोतले लोकान्तरसँग भन्यो, ‘गृहमन्त्रीसँग सरकार अनुदार भयो भनेर उहाँहरूले कुरा उठाउनुभयो भन्ने बुझेका छौं । तर, गृहमन्त्रीले सरकारले सबै काम कानूनसम्मत गरेकाले पक्षधरता देखाएको आरोप सही नभएको बताउनुभएको छ ।’
अर्यालले गृहमन्त्री लेखकसँग २० मिनेटजति भेट गरेका थिए ।
अहिलेमात्रै होइन, अप्ठ्यारोमा परेपछि रवि स्वयंले आफ्नो मुद्दालाई कमजोर बनाइदिए निःशर्त प्रधानमन्त्री बनाउन सहयोग गर्ने सन्देश कांग्रेस सभापति शेरबहादुर देउवालाई पुर्याएको बताइन्छ ।
कारबाही सिफारिस गरेपछि सहकारी प्रकरणमा थप अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको ११ दिन बितेको छ । कास्की जिल्ला अदालतमा २ पटक गरी १३ दिन म्याद लिएर अनुसन्धान चलिरहेको छ ।
रविमाथि सहकारी ठगी, संगठित अपराध र कीर्तेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । कास्कीको सूर्यदर्शन सहकारीको पैसा अनधिकृतरूपमा गोरखा मिडियामा आएपछि अपचलन गरेको भन्दै रविमाथि पोखरामा अनुसन्धान भइरहेको हो । पोखरापछि बुटवलको सुप्रिम सहकारीबाट पनि गोरखा मिडियामा गैरकानूनी रूपले पैसा गएकोमा रविको नाममा पक्राउ पुर्जी जारी भइसकेको छ । गोरखा मिडियाका अर्का सञ्चालक छविलाल जोशी रविभन्दा पनि अगाडि पक्राउ परेका थिए । उनीसँग कास्की हुँदै बुटवलमा पनि बयान भइसकेको छ ।
यी दुई ठाउँमात्रै होइन, वीरगञ्जको सानो पाइला, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मीबाट अनधिकृतरूपमा गोर्खा मिडियामा रकम आएको ठहर छानबिन समितिले गरेको छ । यस्तोमा रविले कास्कीमा मात्रै मुद्दा लडेर सुख पाउने स्थिति छैन । अर्थात्, उनीमाथिको अनुसन्धान तत्काल सकिने स्थिति छैन । यसैले रास्वपाका संस्थापक नेताहरूमा बेचैनी बढेको बताइन्छ । तर, यस्तो दौडधूप रास्वपाकै उपसभापति डा. स्वर्णिम वाग्ले पक्षले भने गरेको छैन ।
रास्वपामा वाग्ले मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठसहितका नेता सरकारविरुद्धको प्रदर्शन आक्रामक बनाउनुपर्ने पक्षमा छन् । तर, अर्याल, परियार र विपिन आचार्यहरू अर्को खेमाको प्रतिनिधित्व गर्छन् । आन्दोलन र विरोध प्रदर्शन कडा बनाउनुभन्दा राजनीतिक संवाद गरी केही माहोल बनाएर जानुपर्ने पक्षमा उनीहरू छन् । पछिल्लो समय पार्टीमा प्रस्टै २ खेमा देखिएपछि रविले आफू हिरासतमा भए पनि कुनै पनि नेतालाई कार्यवाहक तोकेका छैनन् ।