
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई ज्यान मुद्दामा ५ वर्ष कैद सजाय तोक्ने उच्च अदालत पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उच्च अदालतको फैसलालाई सदर गरिदिएको हो ।
यसअघि जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्ष कैद सजाय तोकेको थियो । मनाङेले उक्त सजाय भुक्तान गरिसकेका छन् ।
त्यसपछि उच्च अदालतले थप ३ वर्ष कैद सजाय तोकेपछि त्यसविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
सर्वोच्चको यो फैसलापछि उनले अब थप ३ वर्ष कैद सजाय भुक्तान गर्नुपर्नेछ ।
मनाङेले अर्का गुन्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङमाथि २०६१ सालमा तरबार आक्रमण गरेका थिए । उक्त आक्रमणमा मिलन गुरुङको हात काटिएको थियो ।
उक्त घटनामा संलग्न मनाङे समूहविरुद्ध प्रहरीले काठमाडौं जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।
तर, काठमाडौं जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दा नभई कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएको थियो ।