२९ असार २०८३, सोमबार

लेखा समितिका सभापति पत्नी जोडिएको उमागौरी सहकारीमा प्रहरीको छापा, ताला फुटाएर कागजात लगियो

कात्तिक २१, २०८१
काठमाडौं
लेखा समितिका सभापति पत्नी जोडिएको उमागौरी सहकारीमा प्रहरीको छापा, ताला फुटाएर कागजात लगियो

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला जोडिएको सहकारीमा प्रहरीले छापा मारेको छ ।  मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सियाको उमागौरी कृषि सहकारी संस्थाको कार्यालयमा छापा मारेर प्रहरीले कागजात नियन्त्रणमा लिएको हो । उमागौरी सहकारीको रकम अपचलनमा अञ्जलाको समेत नाम जोडिएको छ ।

कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले उमागौरी कृषि सहकारीको विषयमा इलाका प्रहरी कार्यालय रंगेलीलाई पत्राचारगरी अनुसन्धान गर्न भनेको थियो । अनुसन्धानका लागि कात्तिक १४ गते कार्यालयको ताला फुटाएर कागजात नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

सहकारकिा कागजात नियन्त्रण लिएको सहकारी  रजिस्टार कार्यालय कोशी प्रदेशका  सहकारी रजिस्ट्रार हरि खत्रीले पुष्टि गरेका छन् । रजिस्टार कार्यालयको रोहवरमा प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको कागजातबारे भने खुलाइएको छैन । 

यता, बन्द अस्थामा रहेको सहकारीले भने ताला फुटाएर कागजात नियन्त्रणमा लिएको बारे विरोध जनाएको छ । संस्थाको तालातोडी आक्रामक शैलीमा कागजात लुटिएको अध्यक्ष सम्भुप्रसाद रौनियारले बताए ।

null

रजिस्टार कार्यालयले प्रतिवेदनमा अञ्जलाको नाम हटाएर प्रहरीमा प्रतिवेदन पठाएको थियो भने कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय पनि उनको नाम हटाएर पठाएको थियो । रजिस्टार खत्रीले भने अनुसन्धानका लागि बहालवाला समितिको मात्रै पठाउने गरेको बताए । ‘यस अगाडि अनुसन्धानका लागि लेखिएको पत्रमा पनि हामीले बहालवाला समितिको मात्रै नाम पठाएका थियौं,’ खत्रीले भने ‘प्रहरीले अनुसन्धानमा सबै कुरा पत्ता लगाउला नि ।’ 

उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् । कोइरालाले २०७८/१०/०५ गतेदेखि सहकारीबाट राजीनामा दिएको बताएकी छन् ।  

सहकारीमा १२ करोड रुपैयाँ हिनामिना भएको जनाइएको छ । सहकारीको नाममा विभिन्न बैंकबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण देखिएको छ भने सो सहकारीले फिर्ता गर्नुपर्ने बचत २ करोड ३ लाख ५४ हजार १५६ रुपैयाँ छ । बचतकर्ताले बचत फिर्ता मागेपछि अहिले सहकारीको कार्यालय नै बन्द छ । १८ करोड ४९ लाख कुल पुँजी रहेको वासलातमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ । 

सहकारीका सञ्चालकलाई रुपन्देहीको बुटवलस्थित आरएसडीसी लघुवित्तले कालो सूचीमा समेत राखेको थियो । आफू कालोसूचीमा परेको विषयमा सफाइ माग गर्दै अञ्जलाले उच्च अदालत विराटनगरमा सफाइ माग गर्दै रिट दायर गरेकी छिन् । उक्त मुद्दा विचाराधीन छ । 

कोइराला सञ्चालक भएको समयमा सहकारीले लघुवित्तबाट लिएको ऋण चुक्ता नगरेपछि लघुवित्तले सहकारीका अध्यक्ष श्याम रौनियार र पोखरेल पत्नी कोइरालासहित सबै सञ्चालकलाई कालो सूचीमा राखेको हो । 

आरएसडीसीले उमागौरी कृषि सहकारीले २०८१ असोज १० गतेसम्ममा साँवा तथा ब्याज र हर्जाना बापत ३ करोड ४३ लाख ७२ हजार ८८३ रुपैयाँ ५४ पैसा भुक्तानी गर्न बाँकी रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्