०६ साउन २०८३, बुधबार
सहकारी ठगी प्रकरण

रविलाई भोलि रूपन्देही पुर्‍याइने, कसरी भए सुप्रिमको ऋणी ?

कात्तिक २६, २०८१
काठमाडौं
रविलाई भोलि रूपन्देही पुर्‍याइने, कसरी भए सुप्रिमको ऋणी ?

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम अपचलन प्रकरणमा बयानका लागि गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई मंगलबार रूपन्देही पुर्‍याइने भएको छ । 

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रञ्जितसिंह राठौरले बयानका लागि रविलाई मंगलबार जहाजबाट रूपन्देही झिकाउन लागिएको जानकारी दिए ।

‘भोलि मंगलबार पोखराबाट भैरहवा हुने बुद्ध एयरलाइन्सको उडानबाट भैरहवा ल्याउने तयारी छ’, एसपी राठौरले लोकान्तरसँग भने, ‘यहाँ बयान लिएर कास्की नै पठाउँछौं । बयानका लागि कति दिन लाग्छ त्यो अहिले नै भन्न सकिदैन ।’

सुप्रिमबाट २०७७ चैत १८ मा रविका नाममा मात्रै दुई करोड रूपैयाँ गएको देखिन्छ । जसमा सहकारीले सेवा शुल्क चार लाख कटाइएको छ । रविले आफ्नो नाममा त्यसरी रकम आएको कुरालाई इन्कार गर्दै आएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री समेत रहेका रवि सुर्यदर्शन सहकारी ठगीसँगै, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्ते मुद्दामा कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । आइतबार अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

रविकै साझेदार एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी बञ्जाडेलाई यसअघि नै रूपन्देही लगिएको थियो । रूपन्देहीमा बयान लिने काम सकिएपछि छविलाललाई कास्कीमै ल्याइएको थियो । 

सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रूपन्देही प्रहरीले रवि, छवि, जीबी राईसहित १२ जनाविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जिल्ला अदालत अनुमति लिइसकेको छ । 

सहकारी ठगीको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले समेत सुप्रिम सहकारी ठगी प्रकरणमा उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको थियो । 

छविलालको नाममा पनि दुई करोड ५० लाख रूपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रूपैयाँ ऋण लिएको देखिएको छ। रवि र छवि दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीले शुरूमै २८ जनालाई प्रतिवादी बनाए पनि गृहमन्त्री भएका बेला रविले प्रहरीलाई दबाब दिएर आफ्नो नाम हटाएका थिए । अदालतमा मुद्दा दर्ता गर्दा रवि गृहमन्त्री नै थिए । 
गुल्मीको मालिका गाउँपालिका–८ घर भएका ३० वर्षीय सागर केसीले भौचर सदर गरेर रोशनी गुरुङले गोर्खा मिडिया नेटवर्कको नाममा रहेको बैंक खातामा रकम जम्मा गरेकी थिइन् । रोशनी यसअघि नै अदालतबाट धरौटीमा रिहा भइसकेकी छिन् । केसी भने फरार छन् ।

रूपन्देहीका प्रहरी प्रमुख राठौरका अनुसार सहकारीका १८ सय ३१ जनाले आफूहरूको ८६ करोड बढी बचत अपचलन गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ८६ करोड १८ लाख २३ हजार अपचलन भएको देखिएपछि अनुसन्धान अघि बढाइएको थियो ।

राठौरका अनुसार मुद्दा दायर भएका २८ जना मध्ये ८ जना पक्राउ परेका छन् । जीबी राईसहित अन्य व्यक्तिहरू भने फरार छन् । 

salt training

कमेन्ट गर्नुहोस्