०६ साउन २०८३, बुधबार

रुपन्देहीमा सकियो रविको बयान : साढे २३ घण्टा बयानमा सोधियो ७४ प्रश्न

कात्तिक २९, २०८१
बुटवल
रुपन्देहीमा सकियो रविको बयान : साढे २३ घण्टा बयानमा सोधियो ७४ प्रश्न

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँग तीन दिनमा २३ घण्टा बयान लिइएको छ । जसमा उनीसँग ७४ प्रश्नमा सवाल-जवाफ भएको छ । गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई मंगलबार पोखराबाट भैरहवा ल्याइएर त्यही दिनै बयान शुरू गरिएको थियो ।

रविसँग जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बिहीबारसम्म बयान चल्यो । तीन दिनमा ७४ प्रश्न सोधिएको र लामिछानेले लगभग सबै प्रश्नमा इन्कारी बयान दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक अधिकृतले जानकारी दिए । ती अधिकृतका अनुसार मंगलबार मौखिक र बुधबारदेखि लिखित बयान लिइएको थियो । 

बिहीबार ढिलासम्म बयान चलेकाले लामिछानेलाई भोलि शुक्रबार पहिलो उडानमार्फत पोखरा पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी खनालले बताइन् । 

गत आइतबार कास्की जिल्ला अदालतले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई चौथोपटक म्याद थप दिएको थियो । पोखरामा उनका विषयमा अनुसन्धान जारी छ । त्यसैले उनलाई पोखरा नै पठाइने भएको हो। 

रुपन्देहीमा भएको बयानमा जिल्ला न्यायधिवक्ता प्रेमराज पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, डीएसपी विजयराज पण्डित र अन्य प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता थियो । रविसँगको लिखित बयानका आधारमा पुरक प्रतिवेदन बनाउने तयारी रहेको प्रहरीले जनाएको छ  । 

पोखरा हिरासतबाट रविलाई बयानका लागि भैरहवा लगिएपछि रास्वपा कार्यकर्ताहरूले भैरहवामा पनि प्रदर्शन गरेका थिए । उनीहरूले तीनै दिन प्रदर्शन गरे । उनीहरूले बिहीबार बुटवलदेखि भैरहवासम्म मोटरसाइकल र्‍याली समेत गरेका थिए । 

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रूपैयाँ (सेवा शुल्क कटाएर)गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । 

प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, रविको नाम भने उल्लेख गरिएको थिएन । 

उक्त प्रकरणमा सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा छन् भने सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना धरौटीमा रिहा भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्