
इँटा भट्टाको चिम्नीबाट निस्कने धुलोको मात्रा (सस्पेन्डेड पार्टीकुलर म्याटर–एसपिएम)को अधिकतम सीमा घटाउन लागिएको छ । वायु प्रदूषणसम्बन्धी मापदण्डको संशोधनमार्फत् इँटा भट्टाको चिम्नीबाट निस्कने धुलोको मात्राको अधिकतम सीमा घटाउन लागिएको हो ।
वन तथा मन्त्रालयले वायु गुणस्तरसम्बन्धी मापदण्ड संशोधनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय सुझाव प्राप्त गरिसकेको जनाएको छ । मन्त्रालयमा चार/पाँच पटकसम्मको छलफलपछि मापदण्डको मस्यौदा अर्को सातासम्म कानुन मन्त्रालय पठाउने तयारी छ ।
‘धेरै पटक मन्त्रालयमा सरोकारवाला तथा विज्ञहरूसँगको छलफलपछि वायु गुणस्तरसम्बन्धी मापदण्डको संशोधन अन्तिम चरणमा पुगिसकेको छ’, मन्त्रालयका एक कर्मचारीले भने, ‘उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट राय सुझाव पाइसक्यौं । थप राय सुझावको लागि अन्तिम पटक कानुन मन्त्रालयमा पठाउँदै छौं ।’ मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ बमोजिम संशोधन गर्न लागेको हो ।
नेपालमा वायु प्रदूषणसम्बन्धी ‘नेपाल सवारी प्रदूषण मापदण्ड’ २०५६ सालमा ल्याइएको थियो । ‘वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड’ २०५९ सालमा छुट्टै ल्याएको थियो । इँटा उद्योगबाट निस्किने धुवाँ र चिम्नीको उचाइसम्बन्धी मापदण्ड २०६४ सालमा ल्याएको थियो । यसलाई खारेज गरेर २०७४ सालमा नयाँ मापदण्ड बनाइएको थियो । अब नयाँ मापदण्डले यसलाई खारेज गर्नेछ ।
नयाँ मापदण्डमा इँटा भट्टाको चिम्नीबाट बाहिर निस्कने धुलोको मात्रा (सस्पेन्डेड पार्टीकुलर म्याटर–एसपीएम)को अधिकतम सीमा घटाइएको छ । जसअनुसार बुल्स ट्रेन्च किल्न, फोर्स ड्राफ्ट प्रविधिको फिक्स्ड चिम्नीमा एसपीएम अधिकतम २५० मिलिग्राम प्रतिघनमिटर हुनुपर्ने प्रस्ताव गरिएको छ ।
हाल बुल्स ट्रेन्चकै नेचुरल ड्राफ्ट प्रविधिको फिक्स्ड चिम्नीमा एसपीएमको अधिकतम सीमा पाँच सय मिलिग्राम प्रतिघनमिटर बनाउनुपर्ने मापदण्डमा छ । भर्टिकल शफ्ट ब्रिक किल्न (भीएसबीके) प्रविधिको चिम्नीमा दुई सय ५० मिलिग्राम प्रतिघनमिटर रहेको छ । संशोधनले सबैको अधिकतम सीमालाई २५० मिलिग्राम प्रतिघनमिटरमा सीमित गरिदिएको छ ।
स्वास्थ्यका लागि प्रतिकूल मानिने वायुमण्डलमा रहेका अति सूक्ष्म कण मापनसम्बन्धी मापदण्डलाई करिब ७ वर्षपछि संशोधन गर्न लागिएको हो । यसअघि पनि १५ वर्षपछि २०७८ सालमा मन्त्रालयले वायु गुणस्तर सम्बन्धी मापदण्डको पुनरावलोकन गरेको थियो ।
त्यस्तै, क्रसर र सिमेन्ट उद्योगहरूको उत्सर्जन सीमालाई भने घटबढ गरिएको छैन । वायु गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले पीएम २.५ मापन गर्दा प्रतिघनमिटर वायुमा वार्षिक औसत ४० माइक्रोग्रामसम्म सूक्ष्म कण भएमा गुणस्तरीय वायु भनेर तोकेको छ । पीएम १० को हकमा नेपालको मापदण्डले प्रतिघनमिटर वायुमा १२० माइक्रोग्रामसम्मका सूक्ष्म कणलाई गुणस्तरीय वायु भनेर तोकेको छ ।
अब अन्तराष्ट्रिय स्तरबाट वायु प्रदुषण मापनका पीएम २.५ र पिएम १० लाई पनि अपग्रेड गर्ने तयारीमा मन्त्रालय रहेको छ ।