३२ असार २०८३, बिहीबार
स्थानीय तह उपनिर्वाचन

मनोनयनको दिन नजिकिँदा पनि कांग्रेस र रास्वपालाई उम्मेदवार टुंग्याउन सकस

कात्तिक ३०, २०८१
काठमाडौं
मनोनयनको दिन नजिकिँदा पनि कांग्रेस र रास्वपालाई उम्मेदवार टुंग्याउन सकस

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन नजिकिए पनि नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई उम्मेदवार चयन गर्न सकस परेको छ ।

४४ रिक्त स्थानमा हुने उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । तर, एमालेबाहेक कांग्रेस र पहिलोपटक स्थानीय तह निर्वाचनमा भाग लिन लागेको रास्वपालाई उम्मेदवार तय गर्न सकस देखिएको हो ।

उम्मेदवारी मनोनयन आउन अब २ दिनमात्रै बाँकी छ ।

एमालेले केही वडाबाहेक लगभग सबैतिरका उम्मेदवार टुंग्याएको छ । तर, कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिका, कीर्तिपुर नगरपालिकाका १ र ४ नम्बर वडा तथा काठमाडौं महानगर पालिका वडा नम्बर १६ मा उम्मेदवार टुंग्याउन सकेको छैन ।

मंसिर १६ गते कीर्तिपुर नगरपालिका प्रमुख र जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा निर्वाचन हुन लागेको हो । गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष ३४ गरी ४४ पदमा निर्वाचन हुन लागेको छ ।

कैलाली र ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखको पनि निर्वाचन हुँदैछ ।

कात्तिक २८ गते बसेको रास्वपाको स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समिति बैठकले ४४ मध्ये १७ उम्मेदवार टुंगो लगाएको थियो, जसमा महाबु गाउँपालिका अध्यक्षमा प्रकाश बुढा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सुजाता फडेरा, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा गोमा श्रेष्ठलाई उम्मेदवार बनाएको छ । 

तर, कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित अझै २७ उम्मेदवार चयन गर्न बाँकी देखिएको छ । 

स्थानीय नेतृत्वको सिफारिसपश्चात प्रारम्भिक निर्वाचनमा निर्वाचित भएकालाई उम्मेदवार बनाइएको रास्वपाले जनाएको छ । उपनिर्वाचन केन्द्रीय संयोजन समितिका संयोजक गणेश पराजुलीका अनुसार अन्य उम्मेदवार पनि टुंग्याउने तयारी भइरहेको छ । 

‘उम्मेदवारी दिने समय मंसिर २ गते हो । यो नजिक आइसकेको छ,’ पराजुलीले लोकान्तरसँग भने, ‘केही ठाउँमा उम्मेदवार चयन गर्न बाँकी छ । हामी सल्लाह गर्दैछौं ।’ 

नयाँ पार्टी भएकाले सबैतिर संरचना नबन्दा उम्मेदवारी दिन समस्या भएको संकेत उनले गरे  ।

‘रास्वपा नयाँ पार्टी हो । देशका सबैतिर हाम्रो संयन्त्र समेत बनिसकेको छैन,’ पराजुलीले लोकान्तरसँग भने, ‘अहिले नै कहाँ उम्मेदवारी दिने वा नदिने भनेर भन्न सकिने स्थिति छैन । हामी सम्भव भएका ठाउँमा उम्मेदवार दिन्छौं ।’ 

पार्टीको लोकप्रियता अघिल्लो निर्वाचनमा जस्तो नभएपछि सबैतिर उम्मेदवारी दिनेमा रास्वपाभित्र एकमत बन्न नसकेको बताइन्छ । रास्वपाका नेताहरूले २०८४ मा एकल बहुमत ल्याउने दाबी गर्न छाडेका छैनन् । तर, पटक–पटक सरकारमा जाने, बाहिरिने गतिविधि तथा पछिल्लो सहकारी प्रकरणले पार्टी लोकप्रियतामा ह्रास आएकाले सबैतिर उम्मेदवारी दिन नहुने मत पार्टीभित्र भएको बुझिएको छ ।

मुख्यसहित सबैतिर उम्मेदवारी दिएर जाँदा शक्ति परीक्षण हुने भएकाले उम्मेदवारी दिन नहुने मत कतिपय नेताले राखेको स्रोतको दाबी छ ।

धेरैको चासो भएको काठमाडौं महागनरपालिका– १६ मा रास्वपाले रोजिना श्रेष्ठलाई उम्मेदवार उठाएको छ ।

रास्वपाबाट सिफारिश भएकी श्रेष्ठ पार्टीकी क्षेत्र नम्बर ७ कमिटी सभापति हुन् । बालाजु निवासी श्रेष्ठ सामाजिक कार्यमा सक्रिय रहेको रास्वपाले जनाएको छ । 

एमालेले काठमाडौं– १६ बाट लक्ष्मीरत्न मानन्धरलाई उम्मेदवार बनाउँदा कांग्रेस अझै अनिर्णित छ । एकीकृत समाजवादीले मीनबहादुर मानन्धरलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट जितेका मुकुन्द रिजालको मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।  

कांग्रेसलाई पनि कीर्तिपुरको सकस

कांग्रेसबाटै मेयरमा जितेका राजकुमार नकर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । तर, कांग्रेसलाई कीर्तिपुरमा मेयरको उम्मेदवार तय गर्न सकस देखिएको छ ।

माओवादीले कीर्तिपुरको मेयरमा प्रा.डा. शिवशरण महर्जन, एमालेले डा. सुरेन्द्र मानन्धर र राप्रपाले ध्रुव महर्जनलाई उम्मेदवारमा सिफारिस गरेका छन् । तर, ११ जना आकांक्षी रहेको कांग्रेसलाई उम्मेदवार सिफारिश गर्न सकस देखिएको छ । 

११ जनामा नगर समिति सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । यीबाहेक बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, समीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जन उम्मेदवारका लागि सिफारिस भएका छन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबारसम्ममा कांग्रेसका सबै उम्मेदवार टुंगिने जानकारी दिए । 

‘४४ मध्ये चारदेखि ५ ठाउँको उम्मेदवार टुंगिन बाँकी छ,’ पौडेलले भने, ‘टाढाको लगभग टुंग्याएका छौं । काठमाडौंको कीर्तिपुर नगरपालिका, त्यसका दुईवटा वडा र काठमाडौंको १६ नम्बर वडाका उम्मेदवार शनिबार टुंगो लाग्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्