०६ साउन २०८३, बुधबार

कोशीमा पहिचानवादीको आन्दोलन : कर्मचारीलाई स्पष्टीकरणदेखि आम हडतालसम्म

मंसिर ३, २०८१
विराटनगर
कोशीमा पहिचानवादीको आन्दोलन : कर्मचारीलाई स्पष्टीकरणदेखि आम हडतालसम्म

कोशी प्रदेशमा पहिचानवादीहरूले तेस्रो चरणको आन्दोलन शुरू गरेका छन् । प्रदेशको नाम कोशीको पक्षमा हस्ताक्षर गर्ने सांसदहरूको परिवारलाई दबाब दिनेदेखि कर्मचारीलाई स्पष्टीकरण सोध्नेसम्मका कार्यक्रमहरू उनीहरूले अगाडि सारेका छन् ।

पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएका कार्यक्रममा १० वर्षे शस्त्र युद्धको झल्को दिन प्रकारका कार्यक्रम पनि छन् ।

पत्रकार सम्मेलनमा किराँत याकथुम चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले अहिलेको एजेन्डा प्रदेशको नाम कोशी खारेज मात्रै भएको बताए ।  ‘सांसदहरूले यो कुरा गलत भयो । यसलाई पुन: नामकरणका लागि प्रदेशसभामा पेश गर्छौं भनेपछि प्रक्रिया अगाडि बढाएका हौं,' उनले भने ।

विभिन्न १२ वटा पहिचानवादी संघसंस्थाले कोशी नाम खारेजको माग गर्दै विज्ञप्तिसमेत जारी गरेका छन् ।​ 'पहिचानवादीको  आन्दोलनलाई नयाँ चरणमा उठाउन ८२ सांसद एवं नेताहरूविरुद्धको कारबाहीलाई प्रभावकारी बनाउने र दबाब दिनको लागि प्रदेश सभा सदस्यहरूको परिवार तथा नाता गोताहरूलाई कोशी नाममा दिएको हस्ताक्षर फिर्ता लिएर आत्माआलोचना गर्न अनुरोध गर्ने,' विज्ञप्तिमा भनिएको छ ।

यसअघि उनीहरूले सांसदलाई मात्रै केन्द्रित गरेर आन्दोलन गरेका थिए । उनीहरूले सांसदहरूलाई गाउँ जानबाट रोक लगाएका थिए ।

प्रदेशको नाम कोशी लेखिएको भए मेटाउन तथा हटाउन अनुरोध गर्ने र अस्वीकार गरे हटाउने कार्यक्रम तीव्र बनाइने उनीहरूको तयारी छ ।

कोशी नामको लेटरप्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरूलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइने उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तेस्रो चरणको आन्दोलनमा उनीहरूले कर्मचारीलाई समेत दबाब दिनेगरी कार्यक्रम ल्याएका छन् ।

कर्मचारीलाई स्पष्टीकरण सोध्ने अधिकार भने उनीहरूमा नरहेको एक कर्मचारी नेताले बताए । ‘आफैंले सरकारले चलाए जसरी उनीहरूले स्पष्टीकरण सोध्ने गरी कार्यक्रम घोषणा गरेको सुनेका छौं,’ ति कर्मचारीका नेताले भने, 'यसले डर उत्पन्न गर्छ ।’

उनीहरूले प्रदेशसभादेखि मुख्यमन्त्री कार्यालय घेराउसम्मका कार्यक्रम घोषणा  गरेका छन् ।

अभियन्ता डकेन्द्रसिंग थेगिमले अनिश्चितकालीन आम हडतालसम्म गर्ने बताए । 

'२०८१ चैत १० गतेसम्ममा राज्य पक्ष, ८२ सांसद र दलहरूबाट अगाडि नबढे राष्ट्रिय शहीद लाजेहाङको स्मृति दिवसको सोही दिनबाट प्रदेश नम्बर १ संसद् घेराउ, मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हडतालजस्ता कडा आन्दोलन हुनेछन्,' उनले भने ।

२०७९ फागुन १७ गते ८२ सांसदको समर्थनमा प्रदेशको नाम कोशी राखिएको थियो । त्यसपछि उनीहरू चरणबद्ध आन्दोलनमा छन्।

गत वैशाखमा इलाम उपनिर्वाचनमा पहिचान पक्षधरका डकेन्द्रसिंह थेगिम उम्मेदवार बनेका थिए । त्यसपछि उनीहरूले आन्दोलन स्थगित गरेका थिए । आइतबारदेखि उनीहरूले पुन: आन्दोलन शुरू गरेका हुन् ।​

salt training

कमेन्ट गर्नुहोस्