
स्थानीय तह उपनिर्वाचनअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ । मंसिर १६ गते हुने निर्वाचनका लागि ६ दलका ६ जनाले उम्मेदवारी दिएका हुन् ।
नलगाडको उपप्रमुखका लागि नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, एमालेबाट सुनिता बोहरा, नेकपा (माओवादी केन्द्र)बाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन रावलको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अघिल्लो वर्ष कात्तिक १७ गते रातिको भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि नलगाडमा उपनिर्वाचन हुन लागेको हो ।
जाजरकोटमा कुशे गाउँपालिका-७ को वडाध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । तर, दलहरूले आफ्नो सम्पूर्ण शक्ति नलगाडमा लगाएका छन् । दलहरूले गरिरहेको घरदैलो र भेटघाटले संसदीय निर्वाचनकै झल्को दिइरहेको स्थानीय मतदाता बताउँछन् ।
उपनिर्वाचन घोषणा भएदेखि नै नलगाड केन्द्रित भएका क्रियाशील दलहरूले पछिल्लो समय भेटघाट र घरदैलोलाई आक्रामक बनाएका छन् । केन्द्रीयस्तरका नेतासमेत चुनाव प्रचारका लागि नलगाड पुगेका छन् ।
नलगाडको उपचुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । नलगाडमा मुख्यगरी कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
नलगाडमा अघिल्ला दुई निर्वाचनको मतपरिणाम केलाउने हो भने कांग्रेस-एमालेभन्दा माओवादी नै बलियो देखिन्छ । यद्यपि, दुई पटक पालिकाको नेतृत्व गर्दा पनि जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै कांग्रेस-एमालेले त्यसलाई एजेन्डाका रूपमा अघि सारेका छन् । जातामा देखिएको निराशालाई 'क्यास' गर्ने कांग्रेस-एमालेको तयारी छ।
माओवादीलाई बिरासत जोगाउने चुनौती
२०७४ र २०७९ को निर्वाचनमा पालिका नेतृत्वमा पुगेको माओवादीलाई आफ्नो साख जोगाउने चिन्ता छ । ०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै जितेको माओवादीले २०७९ मा कांग्रेससँग गठबन्धन गरेको थियो । जसका कारण माओवादीले उपप्रमुखमा उम्मेदवारी दिन पाएन ।
गत निर्वाचनमा नगलाडको उप्रमुखमा कांग्रेसकी सरिता सिंह ५४०६ मतसहित निर्वाचित भएकी थिइन् । पालिका प्रमुखमा माओवादी केन्द्रका डम्मरबहादुर राउत ५५९९ मतसहित निर्वाचित भएका थिए ।
एमालेका उम्मेदवारहरू दोस्रो स्थानमा रहे । प्रमुखमा एमालेका धर्मबहादुर शाहीले ३६२६ मत ल्याएका थिए भने उपप्रमुखमा सुनिता बोहराले ३३९३ मत ल्याएकी थिइन् ।
२०७४ को स्थानीय निर्वाचनमा भने सबै दलहरू एक्लाएक्लै लडेका थिए । जतिबेला माओवादीले पालिका प्रमुख र उपप्रमुख मात्र होइन अधिकांश वडासमेत जितेको थियो ।

निर्वाचन आयोगको तथ्यांकअनुसार २०७४ को निर्वाचनमा नलगाड नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका टेकबहादुर रावल ३४१८ मतसहित निर्वाचित हुँदा उपप्रमुखमा माओवादी केन्द्रकै बालकुमारी बस्नेत ३२४१ मतसहित निर्वाचित भएकी थिइन् ।
प्रमुखमा कांग्रेसका छबि पन्तले २८९८, एमालेका नवेन्द्र नेपालीले २६७४ मत ल्याएका थिए भने उपप्रमुखमा कांग्रेसकी धनमाया शाहीले २९१२ र एमालेकी सुनिता बोहोराले २६२३ मत ल्याएकी थिइन् ।
१३ वडा रहेको नलगाडमा ०७४ को निर्वाचनमा माओवादीले ७, एमालेले ४ र कांग्रेसले २ वटा वडा जितेका थिए ।
२०७९ को निर्वाचनमा भने माओवादीले ५, कांग्रेसले ४ र एमालेले ३ वडामा जीत निकाले । एक वडामा स्वतन्त्र उम्मेदवार निर्वाचित भए पनि पछि उनले कांग्रेस प्रवेश गरेका थिए ।
चुनावी अभियानका क्रममा नलगाडमा रहेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामदीप आचार्यले उपनिर्वाचन आफूहरूका लागि अवसर भएको बताए । २०७४ को निर्वाचनमा प्रमुख, उपप्रमुख दुवै जिते पनि ०७९ मा गठबन्धनका कारण उपप्रमुख गुमेको भन्दै उपनिर्वाचनले त्यसलाई पुर्ताल गर्ने उनले बताए ।
'नलगाडमा हामी नै पहिलो पार्टी हौं । केन्द्रमा दुई ठूला दलको गठबन्धन बन्दा पनि हामी त्यसलाई स्वीकार गरेर अघि बढेका छौं', आचार्यले भने, '०७९ मा गठबन्धनका कारण गुमेको उपप्रमुख पुर्ति गर्ने अवसरका रूपमा हामीले निर्वाचनलाई लिएका छौं ।'
उनले संघीय लोतान्त्रिक गठबन्धनको एकल हकदार माओवादी नै भएको र संघीयतासँग नलगाडको साइनो रहेको बताए । २०५७ पुस ५ गते हाल नलगाड नगरपालिकाअन्तर्गत पर्ने खान्टाकुराबाट माओवादीले जनसरकार घोषणा गरेको र उक्त जनसरकार संघीयताको जग रहेको उनले बताए ।
साथै, उनले प्राविधिक रूपले पहिलो शहीदका रूपमा दर्ज गर्न नसकिए पनि माओवादी युद्धका पहिलो शहीद जाजरकोट नलगाडकै रहेको बताए ।
नलगाडका मानबहादुर ओली र मानबहादुर रावललाई २०५२ फागुन १४ गते बिहान प्रहरीले हत्या गरेको थियो । भलै, माओवादीले जनयुद्धका पहिलो शहीदका रूपमा गोरखाका दिलबहादुर रम्तेलालाई मान्दै आएको छ ।
'हामीले खास स्थापित गर्न सकेनौं । फेरि शहीदमा पनि किन झगडा गर्ने कुरा भएन । नत्र जनयुद्धका पहिलो शहीद जाजरकोट नलगाडकै मानबहादुर ओली र मानबहादुर रावल नै हुनुहुन्छ । यसकारण नलगाडसँग माओवादीको विरासत जोडिएको छ । त्यो विरासत उपनिर्वाचनले जोगाउँछ भन्नेमा हामी विश्वस्त छौं', आचार्यले भने।
जीत दोहोर्याउने कांग्रेसको दाउ
कांग्रेस यसपालि पनि उपप्रमुखमा जीत दोहोर्याउन चाहन्छ । अघिल्ला निर्वाचनहरूमा पार्टीको आन्तरिक समस्याले कमजोरजस्तो देखिए पनि यसपटक उपप्रमुखमा जीत दोहोर्याउने कांग्रेस जिल्ला उपसभापति खड्कबहादुर बिसी बताउँछन् । उनी नगलाडमा कांग्रेस कमजोर नरहेको दाबी गर्छन् ।
'हामी कमजोर होइनौं । पार्टीभित्रको आन्तरिक समस्याले त्यस्तो देखिएको हो । उपनिर्वाचनमा पार्टी एकढिक्का भएर अघि बढेको छ । हामी कमजोर थियौं भने ०७४ मा २ वडा जितेकोमा ०७९ मा ४ वडामा जीत निकाल्दैन थियौं । स्वतन्त्र उम्मेदवार पनि हाम्रै पार्टीबाट विद्रोह गरेर जित्नुभएको थियो । पछि उहाँ पार्टीमै फर्किनुभयो । यो उपनिर्वाचन हामी जित्नेमा विश्वस्त छौं', बीसीले भने ।
कांग्रेसले उपप्रमुखमा जसरी पनि जीत दोहोर्याउने रणनीतिका साथ परिचालन भएको छ । १३ वटै वडामा जिल्ला कार्यसमितिका एक/एक जना सदस्यलाई चुनाव परिचालनका लागि खटाएको छ भने साविकका गाविसहरूमा पदाधिकारी नै खटिएका छन् ।

साविकको डाँडागाउँमा उपसभापति बीसी, लहँमा सहसचिव छवि पन्त, खगेनकोटमा महासमिति सदस्य महेन्द्रबहादुर शाह, रग्दामा महासमिति सदस्य मुक्ति आचार्य र भगवतीमा सहसचिव खड्ग बीसीले चुनावी मोर्चा सम्हालेका छन् । मूल निर्वाचन परिचालन समितको नेतृत्व जिल्ला सभापति बेदराज सिंहले गरिरहेका छन् ।
कांग्रेसले आफूहरूलाई सहानुभूतिको मत पनि आउने अपेक्षा गरेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएकी इन्द्रा दिवंगत सरिताकी भाइ बुहारी हुन् । त्यतिमात्र होइन एमाले र माओवादीका उम्मेदवार नलगाड खोलावारिका छन्, कांग्रेस उम्देवार खोलापारिकी हुन् । कांग्रेसले यसलाई रणनीतिका रूपमा अघि बढाएको छ । किनकी अधिकांश वडा खोलापारि नै छन् ।
पहिलो जीतको खोजीमा एमाले
एमालेले नलगाडमा पहिलो जीत खोजिरहेको छ । जसका लागि उसले पनि पार्टीको सम्पूर्ण शक्तिलाई नलगाड केन्द्रित गरेको छ । रोचक पक्ष यो छ कि एमालेले २०७४ र २०७९ कै निर्वाचनमा उम्मेदवार भएर पराजित भइसकेकी सुनिता बोहरालाई उपनिर्वाचनमा उम्मेदवार बनाएको छ ।
उनी एमालेको जिल्ला कमिटी उपसचिव र अनेमसंघको जिल्ला अध्यक्ष हुन् । लगातार दुई निर्वाचन हारे पनि उनलाई एमालेले रणनीतिक रूपमा उम्मेदवार बनाएको छ । यसमा एमालेले सहानुभूतिको मत बटुल्न खोजेको देखिन्छ ।

'मतदाताहरूबाट राम्रै प्रतिक्रिया पाएका छौं । यसपटक त जसरी पनि जिताउँछौं भनिरहनुभएको छ । उहाँलाई एकप्रकारले भन्ने हो भने सहानुभूतिको मत पनि आउँछ भन्ने हाम्रो विश्लेषण छ', चुनावी अभियानका लागि नलगाडमै रहेका एमाले जिल्ला कमिटी अध्यक्ष नरेन्द्रकुमार शाहीले भने, 'दुईपटक माओवादीले पालिकाको नेतृत्व गर्दा जनताले सुशासनको अनुभूति गर्न पाएनन् । त्यसलाई ब्यालेन्स गर्न पनि हामीलाई जिताउनेमा विश्वास लिएका छौं ।'
दुवै दलको निसानामा माओवादी
कांग्रेस र एमालेले माओवादी नेतृत्वमा नलगाडमा भएका अनियमिततालाई चुनावी एजेन्डा बनाएका छन् । दुईपटक पालिका सत्ताको नेतृत्व माओवादीले गर्दा भ्रष्टाचार बढेको, सुशासन कायम नभएको, कर्मचारीहरूलाई दु:ख दिएको, माओवादीको ज्यादती र दादागिरी बढेको कांग्रेस-एमालेको बुझाइ छ।
'माओवादीको नेतृत्वमा पालिकामा भ्रष्टाचार बढ्यो । सुशासन कायम हुन सकेन । हामी त्यसलाई तोड्न चाहन्छौं', कांग्रेस उपसभापति बीसी र एमाले अध्यक्ष शाहीको एकस्वर छ ।
माओवादी पोलिटब्युरो सदस्य आचार्य भने शुरूआत गरिएका कामलाई पूर्णता दिन र निर्णय प्रकियालाई सहज बनाउन पनि माओवादीको जीत आवश्यक रहेको बताउँछन् ।
'परिवर्तनको शुरूआतका लागि भएका कामलाई निरन्तरता दिन पनि नलगाडमा माओवादीले जित्न जरूरी छ । पालिका अध्यक्ष हाम्रै हुनुहुन्छ । राम्रै काम गर्नुभएको छ । उहाँलाई साथ दिने उपप्रमुख पनि हाम्रै भएपछि जनताका काम गर्न हामीलाई सहज हुनेछ', आचार्यले भने ।
माओवादीलाई हराउनुपर्छ भन्नेमा कांग्रेस-एमाले एकमत भए पनि तालमेलका विषयमा भने कुनै निर्णय गरेका छैनन् । तालमेलका विषयमा सामान्य छलफल भए पनि केन्द्रबाटै निर्णय आए सजिलो हुने उनीहरूको बुझाइ ।
'धेरै मतदाताहरूले कांग्रेस र एमालेको एउटै उम्मेदवार भए हुन्थ्यो । कांग्रेस-एमालेमध्ये जसलाई पनि भोट दिन्छौं । माओवादीलाई योपटक दिँदैनौं भन्नुभएको छ', एमाले अध्यक्ष शाहीले भने, 'केन्द्रमा सत्ता गठबन्धन भए पनि हामीले यहाँ तालमेलबारे ठोस छलफल गरेका छैनौं । माथिबाटै निर्णय आए सजिलो हुन्थ्यो ।'
कांग्रेस उपसभापति बीसीले पनि कांग्रेस प्रवक्ता प्रकाशशरण महत र एमाले जिल्ला ईन्चार्ज भैरवसुन्दर श्रेष्ठबीच चुनावी तालमेलका विषयमा आइतबार सामान्य छलफल भएको बताए । दुवै नेताले आ-आफ्नो पार्टीको माथिल्लो निकायमा 'रिपोर्टिङ गर्ने' बताएका छन् ।
संसदीय निर्वाचनको झल्को
नलगाडको निर्वाचनलाई दलहरूले कति महत्त्व दिएका छन् भन्ने उनीहरूको खटनपटन हेर्दा पनि अनुमान गर्न सकिन्छ । दलहरूले पालिका उपप्रमुखको उपनिर्वाचनलाई संसदीय निर्वाचनकै झल्को दिनेगरी गतिविधि गरिरहेका छन् ।
उम्मेदवारी दर्ताको दिन कांग्रेस प्रवक्ता प्रकाशशरण महत नलगाड पुगे । सभालाई सम्बोधन गरे । ईन्द्राका पक्षमा मत मागे ।
केही दिनदेखि जाजरकोटमै रहेका माओवादी केन्द्रका उपमहासचिव एवं जाजरकोटका प्रतिनिधिसभा सदस्य निर्वाचित शक्तिबहादुर बस्नेत पनि उम्मेदवारी दर्ताका बेला नलगाड पुगेका थिए । महत र बस्नेत जाजरकोटबाट हिजै फर्किसकेका छन् ।
एमालेका पोलिटब्युरो सदस्य एवं जाजरकोट ईन्चार्ज भैरवसुन्दर श्रेष्ठ पनि उपनिर्वाचन घोषणा भएदेखि नै जिल्ला केन्द्रित छन् । एमालेका पूर्वजिल्ला अध्यक्ष डम्बर सिंह, केन्द्रीय सदस्य एवं भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसिहतका नेताहरू नलगाड केन्द्रित भएका छन् ।
माओवादीका पोलिब्युरो सदस्य आचार्य, मायाप्रसाद शर्मा, कर्णाली प्रदेश ईन्चार्ज कालीबहादुर मल्ल र कर्णाली प्रदेशका पूर्वमन्त्री गणेशप्रसाद सिंह नलगाड केन्द्रित भएका छन् ।