०८ साउन २०८३, शुक्रबार
सहकारी ठगी प्रकरण

छविलाई काठमाडौं ल्याएपछि मात्रै रविलाई बयानका लागि झिकाइने

मंसिर ४, २०८१
काठमाडौं
छविलाई काठमाडौं ल्याएपछि मात्रै रविलाई बयानका लागि झिकाइने

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले एक/दुई दिनमै पूर्वडीआईजी छविलाल जोशी बञ्जाडेलाई बयानका लागि काठमाडौं ल्याउने तयारी थालेको छ ।

यसअघि कास्कीबाट ल्याइएका स्वर्णलक्ष्मीका कोषाध्यक्ष रहेका कुमार रम्तेलसँग प्रहरीले बयान लिइसकेको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा भएको बयानमा रम्तेलले इन्कारी बयान दिएका छन् । उनले गितेन्द्रबाबु (जीबी) राईले आफ्नो स्वीकृति बिना नै स्वर्णलक्ष्मीमा उपाध्यक्ष बनाएको बयान दिएका छन् । 

काठमाडौंमा बयान सकिएपछि उनलाई कास्की फिर्ता पठाएको छ । कास्कीमा प्रहरीले सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धान गरिरहेको छ । जसमा जोशी र रम्तेलसहित रास्वपा सभापति रवि लामिछाने पनि जोडिएका छन् । अनुसन्धानका लागि लामिछाने पनि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान लिन काठमाडौं झिकाउने प्रक्रिया भइरहेको छ । छविको बयान सकिएपछि मात्रै रवि लामिछानेलाई काठमाडौं ल्याउने तयारी प्रहरीको छ । 

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलालगायतका सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा गैरकानूनी रूपमा ६५ करोड ५४ लाख रूपैयाँ गएको अनुसन्धानबाट खुलेको छ। 

काठमाडौं जिल्ला अदालतबाट आइतबार मात्रै रवि र छविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।  ‘पहिला छविलाई बयानका लागि झिकाउँछौं, उनको बयान सकिएपछि मात्रै रविलाई ल्याउँछौं,’ परिसरका एक अधिकृतले लोकान्तरसँग भने,‘गाडी खरिदका लागि स्वर्णलक्ष्मीबाट रविले ऋण लिएको देखिन्छ ।’ 

रवि र उनका व्यापारिक साझेदार जीबीराई को संयुक्त नाममा गाडी खरिद गरिएको थियो । जीबी र रविका नाममा २०७८ पुस १ मा ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै सहकारीबाट ४६ लाख ८८ हजार लगेको खुलेको छ। 

भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रूपैयाँ तिर्न बाँकी देखिएको छ। २०७८ साउन ४ मा पनि सोही सहकारीबाट गोर्खा मिडियाका अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ। 

गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रूपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ।

कात्तिक २ गते पक्राउ परेका रवि ३४ दिनदेखि प्रहरी हिरासतमा छन् । उनलाई यसअघि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रुपन्देही लगिएको थियो । रुपन्देहीमा बयान सकेर उनलाई कास्की नै फिर्ता पठाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्