
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन् ।
यस वर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे ।
बोर्ड अध्यक्ष बन्नुभन्दा अगाडि आफूले पनि स्वायत्तता चाहिन्छ भनेर धेरै पटक बोलेको उनले स्मरण गरे । 'तर, यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायत्तता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु', उनले भने।
अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको जानकारी दिए ।
'चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ', अध्यक्ष डीसीले भने, 'यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री (ह्वीलचेयर पुग्ने) बनाउँछौं ।'