
मंसिर १६ गते हुने उपनिर्वाचनको प्रचार प्रसार अन्तिमतिर पुगेको छ । आज (बिहीबार) राति १२ बजेदेखि निषेधित (मौन) अवधि शुरू हुँदैछ । मौन अवधि शुरू हुनुअघि उम्मेदवारहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रचार प्रसारका क्रममा मतदाता आकर्षित गर्न उम्मेदवारहरूले नयाँ नयाँ शैली अपनाएका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदको लागि हुने उपचुनावमा १५ दल र एक जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् । उनीहरूले मतदाता समक्ष विभिन्न बाचा र प्रतिबद्धता गरिरहेका छन् । दलका तथा स्वतन्त्र उम्मेदवारले चुनाव प्रचार प्रसारमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको नाम लिएर पनि मतदाता आकर्षित गर्न खोजिरहेका छन् ।
ग्रामथानमा स्वतन्त्रबाट उम्मेदवारी दिएका नमनारायण चौधरीले बालेन शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको फोटा राखेर चुनाव प्रचार गरिरहेका छन् । भोट माग्न अपिल गरिएका पम्लेटमासमेत उनले दुई मेयरको फोटो राखेका छन् । उनले पम्पलेटको बीचमा आफ्नो र दायाँबायाँ बालेन र हर्कको फोटो राखेका हुन् ।
नेकपा (एमाले)ले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । २०७४ र २०७९ को निर्वाचनमा पनि उनी उम्मेदवारका दाबेदार थिए । तर, यसपटक पनि पार्टीले टिकट नदिएपछि विद्रोह गरेको उनले बताए । उनले बालेन र हर्क दुवैको समर्थन पाएको दाबी गरेका छन् । ‘मैले स्वतन्त्र उम्मेदवारी दिँदा नै दुवै मेयरसँग सल्लाह गरेर दिएको हुँ,’ उनले भने, ‘बालेनजीले त समर्थन गर्नुभन्दा अगाडि परीक्षा नै लिनुभएको थियो । उहाँले समर्थन गर्न ५ वटा प्रश्न सोध्नुभएको थियो । त्यसको जवाफ दिएपछि मात्रै उहाँले फोटो राख्न अनुमति दिनुभएको हो ।’
बालेनलाई चुनावी सभामै ल्याउने कुरा भए पनि समय नभएपछि ल्याउन नसकिएको उनले बताए । उनलाई समर्थन गरे/नगरेकोबारे बालेन र हर्कले भने कुनै प्रतिक्रिया दिएका छैनन् । हर्कले काठमाडौंको कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेका छन् । तर, बालेन भने आधिकारिकरूपमा कुनै उम्मेदवारका पक्षमा खुलेका छैनन् ।

उनी मात्रै होइन केही दलका उम्मेदवारले पनि बालेनको नाम लिएर चुनावी प्रचार प्रसार गरिरहेका छन् । नेकपा (एकीकृत समाजवादी)ले दिलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । विश्वकर्माले आफू ग्रामथानका लागि बालेन भएको भन्दै भोट मागिरहेका छन् । ‘ग्रामथानमा भ्रष्टाचार र बेथिति छ । त्यो अन्त्य गर्न मेरो उम्मेदवारी हो । भ्रष्टाचार बेथिति अन्त्य गर्न ग्रामथानका लागि म दोस्रो बालेन हुँ,’ चुनावी सभामा उनले भन्ने गरेका छन् । विश्वकर्माले चुनाव जिते सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद र कृषिलाई प्राथमिकता दिने बताएका छन् ।
पहिलो पटक स्थानीय तहको चुनावमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने सहकारी प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेको विषयलाई मूल मुद्दा बनाएको छ ।
रास्वपाबाट नवीनकुमार विश्वास खवास उम्मेदवार छन् । आफूले जिते शिक्षामा सुधार ल्याउने उनले बताए । ठूला दलका उम्मेदवारका चुनावी एजेन्डा भने मिल्दाजुल्दा नै छन् । पालिकामा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाएको छ । उनी निवर्तमान अध्यक्ष जयप्रकाश गच्छदार थारूले थालेका अधुरा योजना बनाउने बताउँछन्् । ‘जय प्रकाशजीले थाल्नुभएका अधुरा योजनालाई सफल बनाउने मेरो योजना छ,’ उनले भने ‘ग्रामथानवासीलाई स्वास्थ्यमा पहुँच पुर्याउन अस्पताल बनाउने पनि योजना छ ।’
एमालेले तुलसीराम विश्वासलाई उम्मेदवार बनाएको छ । उनले एमालेको सङ्गठन बलियो भएकै कारण आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् । वृद्धवृद्धाका अपेक्षादेखि युवाहरूलाई रोजगारी दिनेसम्मका योजना रहेको उनले बताए । केन्द्र र प्रदेशमा एमालेको सरकार रहेकाले ग्रामथानमा पनि एमालेकै नेतृत्वको सरकार रहने उनले बताए ।
माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझी पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)प्रति आकर्षण बढेकाले चुनाव जित्ने दाबी गर्छन् । माओवादीको सङ्गठन कमजोर छ नि भन्ने प्रश्नमा उनले ‘धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेन शाहको सङ्गठन हेर्न’ पनि सुझाव दिने गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिनेशकुमार थन्दारको चुनावी एजेन्डा भने प्रदेश खारेजीको रहेको छ । तर, कोशी प्रदेशको सभामुख नै राप्रपाका अम्बरबहादुर विष्ट रहेका छन् ।
ग्रामथानमा २६ हजार ४४ जना मतदाता छन् । २०७९ को निर्वाचनमा २५ हजार ९ सय ४२ थिए । १०२ जना नयाँ मतदाता थपिएका छन् ।
ग्रामथानमा १२ मतदान स्थलमा २९ मतदान केन्द्र तोकिएको छ २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेका शिवनारायण माझी अध्यक्ष निर्वाचित भएका थिए । त्योबेला विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले अध्यक्षबाहेक उपाध्यक्ष र अधिकांश वडाध्यक्ष पद जितेको थियो । कांग्रेस तेस्रो स्थानमा रहेको थियो भने माओवादी केन्द्र १८ सय मतसहित चौथो स्थानमा थियो ।

माओवादीले हाल उम्मेदवार बनाएका नमोनारायण पनि त्यतिबेला मधेशी जनअधिकार फोरम मै थिए । गच्छदारले पार्टी एकीकरण गरेपछि उनी कांग्रेसमै बसेका थिए ।
२०७९ निर्वाचनमा ग्रामथानमा कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गच्छदारले ७ हजार ६०५ मत प्राप्त गरेका थिए । उनका निकटतम् प्रतिस्पर्धी एमालेका शिवनारायण माझी थारूले ६ हजार ९३ मत प्राप्त गरेका थिए ।
माओवादी केन्द्रका उम्मेदवार विजयकुमार सरदारले २ हजार ७२७ मत प्राप्त गरेका थिए भने राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९, जनमत पार्टीका पञ्चनारायण चौधरी थारूले ९४ र नेपाल मजदुर किसान पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए । गत असारमा जयप्रकाश गच्छदारको निधन भएपछि ग्रामथानमा उपचुनाव हुन लागेको हो ।