
पर्याप्त पूर्वाधार र आवश्यक तयारी बिना उद्घाटन गरिएको मुस्ताङको लोमन्थाङ गाउँपालिका नेचुङस्थित कोरला अध्यागमन कार्यालय बन्द भएको छ । उद्घाटन गरिएको अध्यागमन कार्यालय एकजना पनि विदेशी पर्यटक नेपाल प्रवेश नगरी बन्द भएको हो ।
प्रचारका लागि उद्घाटन गरिएको अध्यागमन कार्यालय बन्द भएपछि सो नाकाबाट नेपाल आउन चाहने विदेशीका लागि बाटो बन्द भएको छ । उच्च हिमाली भेग (समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाई)मा रहेको कार्यालय वैशाख भन्दा अगाडि खुल्ने सम्भावना नरहेको मुस्ताङका अधिकारीहरू बताउँछन् ।
चिसो बढेको भन्दै अध्यागमन कार्यालयका कर्मचारी हिँडेपछि कार्यालय बन्द रहेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए । ‘गण्डकी प्रदेश सरकारले बीओपी स्थापनाका लागि बनाएको चार कोठे भवनमा हतार हतार अध्यागमन कार्यालय उद्घाटन भयो, तर भोलि पल्टदेखि नै बन्द छ’ अध्यक्ष गुरूङले लोकान्तरसँग भने, ‘कार्यालय खोल्न कर्मचारी आउने भनेर भनिएको छ, तर चैत्र–वैशाख अगाडि आउने सम्भावना देखिएको छैन ।’
गृहमन्त्री रमेश लेखकले गत कात्तिक १४ गते हेलिकप्टरमा मुस्ताङ पुगेर अध्यागमन कार्यालयको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल लगायत अधिकारीहरू सहभागी भएका थिए । अध्यागमन कार्यालय खुलेपनि कर्मचारी बस्नको लागि भवनको अभाव छ । यस्तै खानेपानी, शौचालय जस्ता अत्यावस्यक पूर्वाधार पनि तयार भएका छैनन् ।
यो नाकाबाट नेपाल भित्रिने पर्यटकको लागि पर्यटन शुल्क बापत ५ सय डलर लिने सरकारको तयारी छ । नेपाल प्रवेश गर्दा ५ सय डलर र प्रतिदिन ५० डलर लिनेबारे छलफल भएपनि अहिलेसम्म निर्णय नभएको अध्यक्ष गुरूङले बताए ।
लामो समय हिउँ पर्ने भएकोले उत्तरी नाका कामकाजी बन्न नसकेको उनले बताए । उत्तरी नाका खुलेपनि सीमित सामान मात्र चीन तर्फबाट आएका छन् । ‘चाउँचाउ, विस्कुट र लत्ता कपडा चीनतर्फबाट आएपनि धेरै सामान तलबाटै आइरहेका छन्’ गुरूङले भने ।
अध्यागमन कार्यालयमा १ जना अध्यागमन अधिकृत, २ वरिष्ठ अध्यागमन सहायक, १ सहायक लेखापाल, २ सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीसहित ८ जनाको दरबन्दी कायम गरेको छ ।
मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउने परिचय पत्रका आधारमा तिब्बत तर्फ ३० किलोमिटर परसम्मका बजारमा आउजाउ गर्न पाउँछन् ।
उत्तरी सीमा चीनतर्फ अहिले ३ वटा नाका सञ्चालनमा रहेका छन् । तर, उत्तरी नाका भरपर्दो नभएपछि व्यापारीले चीनबाट सामान आयात गर्दा समेत दक्षिणी नाका प्रयोग गर्ने गरेका छन् । समयमै भन्सार पास नभएपछि रसुवाको केरूङ नाकामा दशैं र तिहारका लागि आएका फलफूल बिग्रिएका थिए ।
२०८० सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको समयमा हुम्लाको यारी नाका खोल्ने सहमति भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि गर्ने चीन भ्रमणको बेला ताप्लेजुङ र गोरखाको नाकालाई व्यवसायीक बनाउनेबारे छलफल हुँदैछ ।