०५ साउन २०८३, मंगलबार

सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा

मंसिर १५, २०८१
काठमाडौं
सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा

सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोही समूहले नियन्त्रणमा लिएका छन् । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।

दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।

बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले भनेको छ, 'विद्रोहीले शहरको अधिकांश भूभाग, सरकारी कार्यालय र कारागारलाई नियन्त्रणमा लिएको छ ।'

अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ । आक्रमणमा टर्कीसमर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ ।   

यसैबीच, सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रूसले आफ्ना लडाकू विमानले सन् २०१६ पछि पहिलो पटक अलेप्पो शहर क्षेत्रमा आक्रमण गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ । 

एएफपी टिभीको तस्बिरमा हवाई आक्रमणपछि शहरको केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् र एएफपीले लिएको तस्बिरमा सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीहरूले खुशियाली मनाइरहेको देख्न सकिन्छ ।   

केही विद्रोहीहरूले शहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए र पछि मध्य अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए।     
     
सिरियाली सेनाले ‘सशस्त्र आतङ्कवादी सङ्गठनहरू’ले ‘अलेप्पो र इदलिब मोर्चामा विभिन्न कोणबाट व्यापक आक्रमण’ गरेको र ‘१०० किलोमिटर (६० माइल) भन्दा बढी दूरीमा भीषण युद्ध भएको’ बताएको छ।   

सिरियाली युद्ध अनुगमनकारी संस्थाका अनुसार रातभर गरिएको हवाई आक्रमण उक्त क्षेत्रमा ठूलो (विद्रोही) सैन्य बलको आगमनसँग मिल्दोजुल्दो थियो । युद्ध अनुगमनकर्ताले विद्रोहीहरूले उत्तरका दर्जनौं शहर र गाउँहरू कब्जामा लिएको पनि जनाएको छ।     

केही दिनयता भएको झडपमा मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ३११ पुगेको छ । जसमा एचटीएस र सम्बद्ध समूहका १८३ एचटीएस लडाकू र १०० सरकार समर्थित सेनाका साथै २८ सर्वसाधारण रहेका छन् ।  

सिरियामा सन् २०११ मा राष्ट्रपति बशर अल असदको सेनाले प्रजातन्त्र पक्षधर प्रदर्शनमा कडाइ गरेपछि गृहयुद्ध शुरू भएको थियो ।     
     
त्यसयता सिरियामा पाँच लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ, लाखौँ मानिस विस्थापित भएका छन् र देशको पूर्वाधार र उद्योगधन्दामा व्यापक क्षति पुगेको छ । 

पछिल्ला वर्षहरूमा यो द्वन्द्व जिहादी र असदका सहयोगी रूस, इरान र हिजबुल्लाहलगायत विदेशी शक्तिहरूबीच जटिल युद्धमा परिणत भएको छ।     
     
सेनाले युद्धमा गुमेको अधिकांश भूभागमा पुनः नियन्त्रण कायम गरे पनि जिहादी र उनीहरूका सहयोगीहरू रहेको क्षेत्रमा सन् २०२० देखि युद्धविराम शुरू भएको थियो ।

सिरियासँगको छिमेकी र असद विरोधी विद्रोहलाई समर्थन गर्ने टर्की समर्थित जिहादी र अन्य समूहले यसै साता सरकारी सेनाविरुद्ध ठूलो आक्रमण शुरू गरेका थिए ।     

salt training

कमेन्ट गर्नुहोस्