०२ साउन २०८३, शनिबार
सहकारी ठगी प्रकरण

काठमाडौंमा रविको ३ दिन– गाडी खरिदबारे इन्कारी बयान, जीबीतिरै पन्छाए अभियोग

दिनको ३/४ पटक पिउँछन् चिनीविनाको कालो चिया, सादा खाना र रोटीमा जोड
मंसिर १६, २०८१
काठमाडौं
काठमाडौंमा रविको ३ दिन– गाडी खरिदबारे इन्कारी बयान, जीबीतिरै पन्छाए अभियोग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने गत बिहीबारदेखि काठमाडौं प्रहरीको हिरासतमा छन् । 

बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिन आइतबार दोस्रोपटक लगिएको छ । दिनभरजसो सरकारी वकिल कार्यालयमा बयान लिएर साँझ मात्रै परिसरमा ल्याइन्छ । 

रवि बिहान चिनीविनाको कालो चिया दैनिक तीनदेखि चारपटक पिउँछन् । आफूलाई सात्विक भोजन मन पर्ने भन्दै उनले हिरासतमा बस्दा सादा खाना र गहुँको रोटी खान्छन् ।

हिरासतमा उनलाई एक्लै राखिएको छ । प्रहरीले रविको पार्टीका सांसद र परिवारका सदस्यबाहेक अरूलाई भेट्न रोक लगाएको छ । 

रविलाई अहिलेसम्म सांसदहरू विराजभक्त श्रेष्ठ, डीपी अर्याल, हरि ढकाल र तोसिमा कार्कीले एक्लाएक्लै भेटेका छन् । पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले भने भेट्न पुगेका छैनन् ।

भेट्न पुगेका सांसदहरूलाई ७ देखि १० मिनेट समय दिइएको जानकारी एक प्रहरी अधिकृतले दिए ।

‘हिरासतमा एक्लै भएर पनि होला धेरै बोल्दैनन्, भेट्न आउनेसँग उनले आफूलाई अदालतले न्याय गर्ने बताउँदै आएका छन्,’ रविको भनाई उद्धृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘आफू हिरासतमा रहेपनि पार्टीको गतिविधि नरोक्न उनले सुझाउँदै आएका छन् ।’ 

रविविरुद्ध काठमाडौं प्रहरीले संगठित अपराध र सहकारी ठगीमा अनुसन्धान गरिरहेको छ ।

रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेश्कीबापत गएको देखिन्छ । 

स्वर्णलक्ष्मीबाटै गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिएको देखिन्छ । 

उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । 

त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । 

त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको देखिन्छ । 

प्रमाणलाई नजरअन्दाज गर्दै इन्कारी बयान

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रविविरुद्ध फेलापरेका प्रमाणलाई रविले नजरअन्दाज गर्दै इन्कारी बयान दिएका छन् ।

रविले आफू गोरखा मिडियामा प्रबन्ध निर्देशक भएपनि कामदारकै रूपमा रहेकाले सहकारीबाट पैसा आए/नआएको बारेमा थाहा नभएको बयान दिएका छन् । स्वर्णलक्ष्मीबाट आफू र जीबीको नाममा संयुक्त ऋण निकालेर गाडी खरिद गरेको सम्बन्धमा रबिले संस्थालाई चाहिने भएकाले सञ्चालक समितिबाट निर्णय गरेरै खरिद गरेको उल्लेख गरेका छन् । 

‘गाडी खरिद गरेको कुरा धेरै निस्कियो, गोरखा मिडिया नेटवर्कलाई गाडी चाहिने भएपछि संयुक्त नाममा खरिद गरिएको हो, संस्थाले खरिद गरेको गाडी म व्यक्तिले किन तिर्ने,’ रविको बयान उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले भने, ‘मेरो ड्रयरमा हस्ताक्षर गरेका खाली चेक हुन्थे, कसले भरेर बुझायो थाहा भएन ।’

रविले संस्थाको अध्यक्ष जीबी राई भएकाले सहकारीको रकमका सम्बन्धमा उसैबाट असुल्नुपर्ने बयान दिएका छन् । 

उता रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा रवि आफैंले हस्ताक्षर गरेर बुझाएको ४० लाख ४२ हजारको चेक भेटिएको छ । 

सुप्रिमबाट गोरखा मिडियामा साढे ६ करोड रुपैयाँ ऋण प्रवाह भएको थियो । रवि आफैंका नाममा समेत २ करोड ऋण प्रवाह भएको देखिन्छ । 

सुप्रिमलाई तिरेको रकम रविले आफैंले लिएको ऋण हो वा गोरखा मिडियाका ऋण हो, यसबारे तथ्य बाहिर आएको छैन । कास्की प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्दा रविको खातामा ३५ करोड र उनकी पत्नी निकिताको बैंक खातामा १५ करोड बढी कारोबारको विवरण फेलापरेको छ । 

काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार रविको बयान अझै एक/दुई दिन चल्ने छ । उनले भने, ‘बयान सकिएको छैन, अझै एक/दुई दिन लाग्ने देखिन्छ ।’ 

रविविरुद्ध कास्की, रुपन्देही, काठमाडौं र चितवनमा मुद्दा चल्ने भएपनि कास्कीमै चलेको मुद्दाको म्याद सबै जिल्लामा लागू हुने जानकारी राजौरेले दिए । 

salt training

कमेन्ट गर्नुहोस्