२६ असार २०८३, शुक्रबार
त्रिभुवन विमानस्थलको स्तरोन्नति

नेपालका सबै ढिलासुस्ती बिर्साउने काम– राति खनेको ठाउँमा बिहान भइसक्छ पिच

मंसिर १८, २०८१
काठमाडौं
नेपालका सबै ढिलासुस्ती बिर्साउने काम– राति खनेको ठाउँमा बिहान भइसक्छ पिच

नयाँ विकास र पुराना पूर्वाधार स्तरोन्नति गर्न त्यसलाई खनेर महिनौंसम्म अलपत्र पारिनु नेपालको आम समस्या नै हो । स्तरोन्नतिको नाममा खनिएका सडक वर्षौंसम्म धुलाम्मे हुँदा पनि कसैको ध्यान पुगेको हुँदैन ।

तर, यहीँ यस्तो काम पनि भइरहेको छ, जहाँ साँझ खनेको ठाउँमा भोलिपल्ट बिहान पिच भइसक्छ । हजुर, हामी कुरा गर्दैछौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि भइरहेको कामको ।

दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल स्तरोन्नतिको काम धमाधम भइरहेको छ । राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरेर दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फ ‘इन्टरनेसनल एप्रोन’ र पूर्वतर्फ ‘ह्यांगर एप्रोन’ विस्तारको काम भइरहेको हो । 

null

विमानस्थल बन्द भएलगत्तै निर्माण सामग्रीसहित प्राविधिक टोलीहरू काममा खटिन्छन् । रातभर काम गरेर बिहान विमान उडाउने समयसम्म पुनः जस्ताको त्यस्तै बनाइसक्नुपर्छ । 

अर्थात्, निर्माणको काम गर्दा रनवेमा एउटा सानो ढुंगा पनि देखिनु हुँदैन । 

रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशील भएकाले सुरक्षा संवेदनशीलतालाई विचार गरी सो क्षेत्रभित्र काम गरिरहेको विमानस्थल स्तरोन्नति आयोजना प्रमुख दीपक श्रेष्ठले बताए ।

null

रनवेको ७५ मिटर क्षेत्रमा खटाइएका निर्माण उपकरण बिहान ८ बजेसम्म खालि भइसक्ने उनले जानकारी दिए ।

‘अहिले तीन ठाउँमा काम गर्नका लागि विमानस्थल पूर्णरूपमा बन्द गर्नुपरिरहेको छ । ७५ मिटरभित्र अर्थात् ट्याक्सी वे, इन्टरनेसनल एप्रोन र ह्यांगर एप्रोनको काम निकै संवेदनशील र सुरक्षाका दृष्टिकोणले पनि चुनौतीपूर्ण रहेको छ’, उनले भने, ‘यहाँ काम गर्दा जमिनभित्र रहेका वायरहरू र बाहिरका संरचनाहरूमा कुनै पनि परिवर्तन अथवा क्षति पुग्नु हुँदैन । यदि एउटा केबल मात्रै काटिएमा बिहान पूरै विमानस्थल चल्न नसक्ने अवस्था हुन्छ । त्यसैले तीव्र गतिमा पनि काम गरिरहेका छौं र सुरक्षामा त्यत्तिकै ध्यान दिइरहेका छौं ।’

null

रनवेको ७५ मिटरभित्र पर्ने संवेदनशील क्षेत्रमा काम गर्न २०० जना जनशक्ति खटाइएको छ । यसबाहेकका क्षेत्रमा भने दिनरात काम हुँदैछ ।

सोमबार मध्यरातमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे स्तरोन्नतिको काम अवलोकनका लागि विमानस्थलमा पुगे । राति ११ बजेदेखि १ बजेसम्म मन्त्री पाण्डेले विमानस्थल स्तरोन्नतिका लागि भइरहेको काम अवलोकन गरे ।

null

ट्याक्सी वे, इन्टरनेसनल एप्रोन र ह्यांगर एप्रोन विस्तारको काम अवलोकन गरेपछि मन्त्री पाण्डेले तोकिएको समयभित्रै काम सम्पन्न हुने देखिएको बताए । विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको र तोकिएको समयमा नै सम्पन्न हुने उनको भनाइ छ । 

‘विमानस्थल स्तरोन्नतिको काम तोकिएको समयभित्रै सम्पन्न हुने देखिएको छ । प्राविधिक टोलीहरूले निकै प्रशंसाजनक काम गरिरहनुभएको छ । समयमै काम सम्पन्न भएमा यसको लागत पनि नबढ्ने देखिएको छ’, मन्त्री पाण्डेले भने, ‘निर्माण व्यवसायी र प्राविधिक टोलीले स्तरोन्नतिको काम गरिरहेका छन् । ठूलो जनशक्ति जसरी परिचालित भएर काम गरिरहेका छन्, त्यो प्रशंसा गर्न योग्य छ । विमानस्थल १० घण्टा बन्द हुँदा आलोचना खेप्नुपरेको छ । त्यस अनुसारको काम पनि भएको देखियो ।’

null

ट्याक्सी वे, इन्टरनेसनल एप्रोन र ह्यांगर एप्रोनको काम ७५ मिटरभित्र भइरहेको छ । त्यसैले विमानस्थल बन्द गर्नुपरेको हो । ७५ मिटरभन्दा बाहिरको कामका लागि दिनरात नै काम भइरहेको जनाइएको छ । 

यसका साथै आठ स्थानमा नयाँ एक्जिट ट्याक्सी वे बनाउने काम भइरहेको छ । अन्तर्राष्ट्रियतर्फ जहाज पार्किङ क्षमता बढाएर १८ वटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्ने क्षमता बनाउन लागिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्