०५ साउन २०८३, मंगलबार
बुटवल-नारायणगढको सास्तीबाट सिकेको पाठ

सडक स्तरोन्नतिको नयाँ मोडालिटीः बुटवल–चन्द्रौटा सडक शुरूमा पूरै नभत्काइने

मंसिर २६, २०८१
काठमाडौं
सडक स्तरोन्नतिको नयाँ मोडालिटीः बुटवल–चन्द्रौटा सडक शुरूमा पूरै नभत्काइने

तिनाउ पश्चिम पर्ने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक चार लेनमा विस्तार गर्दा अन्य सडक निर्माणमा जस्तो जथाभावी खनेर नभत्काई दुवैतर्फको छेउबाट विस्तार गरिने भएको छ । 

एकैपटक सबै सडक भत्काएर काम शुरू गर्दा धूलो, हिलो र सवारी आवागमनमै असहजता उत्पन्न हुँदा चौतर्फी आलोचनापछि कालोपत्रे रहेको भागलाई नभत्काई पहिले दुवै छेउबाट विस्तारको काम गरिने भएको हो । पहिलो चरणमा ५० किलोमिटर बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियाको थालनी आउँदो महिनाबाट हुँदैछ । 

सडक आयोजना कार्यालयकी प्रमुख इन्जिनीयर कुशलता न्यौपानेले छेउको सडक बनाएपछि बल्ल मध्यभागको कालोपत्रे फेर्नेगरी निर्माणको मोडालिटी बनाएर काम शुरू गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको जानकारी दिइन् ।

‘निर्माण कम्पनीलाई बीचको पिच पहिल्यै नभत्काउने गरी काम गर्न निर्देशन दिइएको छ,’ न्यौपानेले भनिन्, ‘निर्माणाधीन बुटवल–नारायणगढ सडक खण्डमा जस्तो सवारी साधन र यात्रुहरूलाई सास्ती नहोस् भनेर अहिलेको पिच नभत्काई दायाँ–बायाँको काम गरेर मात्र बीचको सडक पछि बनाउने तयारी छ ।’ 

null

तत्कालीन राजा महेन्द्रको पालामा वि.सं. २०१९ सालमा निर्माण गरिएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड ६ दशकपछि नयाँ निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले ठेक्का लिएको छ ।

१३ अर्ब ५५ करोड ९५ लाखमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का लगाइएको थियो । ठेक्का लागेको मितिले ३ वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ । सडक खण्ड विस्तारका लागि निर्माण कम्पनीले अहिले नापजाँच शुरू गरेको छ । निर्माण सामग्रीहरू ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरू हटाउने, कटान गर्ने रूखको अन्तिम गणना गर्ने र पुल बनाउने ठाउँको पुनः माटो परीक्षण गर्नेलगायतका काम भइरहेका छन् ।

null

बुटवल, सैनामैना, वाणगंगा र बुद्धभूमिलगायतका जनप्रतिनिधिहरूले संघीय मन्त्री, सचिवहरू, आयोजना कार्यालय प्रमुख, निर्माण कम्पनीका प्रतिनिधिलाई समेत विभिन्न समयमा भेटेर अस्तव्यस्त हुने गरी एकैपटक सडक नजोती नयाँ तरिकाले बनाउन अनुरोध गरेको सैनामैना नगरपालिकाका प्रमुख फणिन्द्रप्रसाद शर्माले बताए ।

बुटवल–नारायणघाट खण्ड, बुटवलकै चौराहा–गोलपार्क खण्ड तथा भैरहवा–बेलहिया खण्डमा एकैपटक सबै बाटो उदारेर काम गर्दा न समयमै काम सम्पन्न भयो, न सडक प्रयोग गर्नेलाई नै सहज भयो । बुटवलको मुख्य खण्डको ३ किमी सडक त ८ वर्षदेखि अलपत्र पारेर अहिले बल्ल बनाइँदैछ ।

null

धूलो, हिलो, धुवाँ मात्रै होइन, सवारी साधन दुर्घटना पर्ने र मानवीय क्षतिसमेत भइरहेको अवस्था छ । यस्तै, लथालिंगको अवस्थाबाट पाठ सिकेर संघीय मन्त्रालयले नै नयाँ मोडालिटीमा सडक बनाउन निर्देशन दिएको हो । 

यो राजमार्ग निर्माण भएको करिब ६२ वर्षपछि अहिले विस्तार हुन लागेको छ । विस्तार गर्दै यसलाई पश्चिम महेन्द्रनगरसम्मै पुर्‍याउने लक्ष्य छ । अहिलेको चरणमा गोरुसिंगेसम्मको करिब ५० किलोमिटरमा काम सुरु भएको छ भने लगत्तै चन्द्रौटासम्मको सडक विस्तारको प्रक्रिया अगाडि बढाउने संघीय सरकारको तयारी छ । अहिले गोरुसिंगे–चन्द्रौटा सडकखण्ड १९ किलोमिटरका लागि डिजाइनको काम भइरहेको छ ।

अहिले विस्तार भइरहेको सडक खण्डमा ६ ठाउँमा ‘भेहिकल अन्डरपास’ बनाइने भएको छ । बाक्लो बस्ती भएका शहरी क्षेत्रका चोकहरूमा सडकलाई ५० मिटरमा फराकिलो बनाइने र रणनीतिक सडकहरू जोडिने क्षेत्रमा अध्ययनपश्चात गाडी नै वारपार गर्न मिल्ने गरी ‘भेहिकल अन्डरपास’ निर्माण गरिने आयोजनाका कार्यालय प्रमुख इन्जिनियर न्यौपानेले बताइन् ।

null

जीतगढी–बेलबास चोक, नयाँगाउँ चोक, तामनगर चोक, सैनामैनाका मुर्गिया बजार र बुद्धनगर चोक तथा कपिलवस्तुको चार नम्बर जीतपुर चोकमा यस्ता ‘भेहिकल अन्डरपास’ बनाउने गरी काम शुरू भएको छ । त्यसका लागि माटो परीक्षणको काम भइरहेको र यस्तो पुल अहिले ललितपुरको ग्वार्कोमा बनिरहेको छ । यस्तै, सडक खण्डमा करिब १९ वटा अन्डर र ओभर पासका पुल पैदल यात्रुका लागि बनाइने छ । अहिले निर्माण कम्पनीले पुल बनाउने तिनै चोकहरूमा माटो परीक्षण गरिरहेको छ । 

सडक खण्डमा वनक्षेत्र पनि पर्ने भएकाले वन्यजन्तुमैत्री बनाउने गरी डिजाइनका काम भइरहेका छन् । यो सडकअन्तर्गत सालझन्डी–पिपरा खण्डमा जंगल क्षेत्र छ । बनगाई–गोरुसिंगे सडक खण्डमा पनि जंगल क्षेत्र पर्छ । विस्तारपछि सडक फराकिलो हुने र सवारीसाधनको गति पनि बढी हुने हुँदा वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो । 

जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ मध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइने छ । कोइलीघेरुवा–बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डरपास बनाइनेछ । जंगल रहेको क्षेत्रमा सडकलाई २४ मिटरको बनाउने र ठाउँ ठाउँमा वन्यजन्तु वारपार गर्न अग्ला पुल बनाइनेछ । वन क्षेत्रका अतिरिक्त बस्ती भएका ठाउँमा भने सडक त्यसको दोब्बर फराकिलो हुनेछ । 
 

कमेन्ट गर्नुहोस्