२२ असार २०८३, सोमबार

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

मंसिर २९, २०८१
काठमाडौं
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप समावेश

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपीभी खोप’ समावेश गरिएको छ । एचपीभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपीभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । 

सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । 

एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप तालिकामा एचपीभी खोप समावेश गर्न राष्ट्रिय खोप सल्लाहकार समितिले सिफारिस गरिसकेको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले यस वर्षदेखि एचपीभी खोप अभियान चल्ने भएकाले खोप तालिकामा समावेश गरिएको बताए । नेपालबाट पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान २०८१/८२ सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।  

पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गरेको अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यसाथ करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यही माघ २२ गतेदेखि एचपीभी खोप अभियानमार्फत कक्षा ६ देखि १० मा अध्ययनरत किशोरी तथा विद्यालय बाहिर रहेका १०–१४ वर्षकी किशोरीलाई खोप लगाइने भएको छ ।     

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलाहरूलाई यस्तो क्यान्सर हुन्छ भन्ने अनुमान छ ।

हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाहरूको पाठेघरको मुखबाट मृत्यु हुने अनुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्